+
+
Shares

के युट्युबमा एआई म्युजिक बन्द गर्न सकिन्छ ?

एआई गीतमा गायक जस्तो सास फेर्ने, स्वरमा उतारचढाव हुने वा सानो पनि त्रुटि हुँदैन ।

सापेक्ष सापेक्ष
२०८३ वैशाख १ गते १२:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • युट्युबले एआई म्युजिकलाई पूर्णरूपमा प्रतिबन्ध लगाउन सक्दैन र क्रिएटरहरूलाई एआई टुल प्रयोग गर्न दिने नीति लिएको छ।

आज एआईले हरेक क्षेत्रलाई प्रभावित पारिरहेको छ । त्यसमा संगीत पनि अछुतो रहेन । सुनो, युडियो वा म्युजिकजेन जस्ता एआई टुलहरू प्रयोग गरेर कसैले पनि झणभरमै गीत बनाउन सक्छन् ।

यही कारण अहिले भिडियो प्लेटफर्म युट्युबमा यस्ता एआई म्युजिकको प्रयोग ह्वात्तै बढेको छ । यस प्रकारको गीत आजकल जताततै बज्न थालेको छ । सार्वजनिक यातायात, कफी सप, सैलन सबैतिर । विशेषत पुराना गीतहरूलाई नयाँ शैलीमा बनाउने (नयाँ गायकको भ्रम छरे जस्तो गरेर), नयाँ शब्द/भाकामा गीत निकाल्ने जस्ता प्रवृत्ति देखिन्छ ।

कतिपयलाई यस प्रकारको गीत मन नपर्न सक्छ । किनकि, अधिकांश एआई गीतमा अहिलेसम्म कलाकारको जस्तो भावना भेटिँदैन । र, धेरैलाई एआई स्लप झुर लाग्न सक्छ । एआई स्लप भनेको एआई प्रयोग गरेर कम गुणस्तरको, मास प्रोड्युस्ड कन्टेन्ट हो ।

त्यस्तोमा तपाईंलाई पनि लाग्न सक्छ, के युट्युबले यस प्रकारको एआई म्युजिक पूर्णरूपमा बन्द गर्न सक्छ ? अथवा एआई स्लप बन्द गर्ने कुनै उपाय छ ?

युट्युबको नियम अनुसार अहिलेसम्म एआई म्युजिकलाई पूर्णरूपमा प्रतिबन्ध लगाउन सकिँदैन । यसको अर्थ प्रयोगकर्ताले चाहेर पनि एआई म्युजिक बन्द गर्न सक्दैनन् । बरु उल्टै युट्युबले क्रिएटरहरूलाई ‘एक्सपेरिमेन्ट विथ म्युजिक’का लागि एआई टुल प्रयोग गर्न दिने नीति नै लिएको छ ।

केही समयअघि अनलाइनखबरसँगको कुराकानीमा गर्दै कलाकारहरूका लागि गीत संगीत तथा सामाजिक सञ्जाल व्यवस्थापनमा सहयोग गर्दै आइरहेका राजेन्द्र अर्यालले एआई जेनेरेटेड गीतहरू युट्युबमा हालेर आम्दानी गर्न सकिने बताएका थिए ।

अन्य प्लेटफर्ममा अलि कडाइ गरेता पनि युट्युबबाट भने त्यस्ता च्यानल सञ्चालकहरूले आम्दानी गर्न सक्ने उनको भनाइ थियो । यसैले पनि धेरैले अनुहार लुकाएर एआई स्लप बनाइरहेका हुन् ।

त्यसो भए युट्युबमा एआई गीत नसुन्न के गर्न सकिन्छ त ?

उपायस्वरुप हामीले विभिन्न ब्लग तथा रेडिट/डिस्कर्ड कम्युनिटीमा उपलब्ध प्रतिक्रियाहरूबाट केही तरिकाहरू एकतृत गरेका छौं:

  • युट्युबमा एआई गीत सुन्नबाट बँच्न ‘म्यानुअल’ फिल्टर गर्नुको विकल्प छैन । भन्नुको अर्थ, तपाईं आफैंले ‘यो एआई गीत हो’ भनेर थाहा पाएर नसुन्नु नै उत्तम विकल्प हो ।
  • तपाईंले उक्त गीतमा डिसलाइक, नट इन्ट्रेस्टेड अथवा डु नट रेकमेन्डेड मी भन्ने अप्सनमा क्लिक गर्न सक्नुहुन्छ । यसो गर्दा युट्युबको एल्गोरिदमले ‘तपाईंलाई त्यस प्रकारको कन्टेन्ट मन पर्दैन, अब उसलाई पुन: फिडमा देखाउनु हुन्न’ भन्ने थाहा पाउँछ ।
  • तपाईंले एआई गीत हाल्ने च्यानललाई ब्लक गर्न सक्नुहुन्छ ।
  • तपाईंले कुनै कलाकार मन परेपछि उसको च्यानल सब्सक्राइब गर्ने र पछि ‘सब्सक्रिप्सन’मा गएर मात्र हेर्ने । एआई गीत हालेका च्यानललाई रिपोर्ट गर्न सक्नुहुन्छ ।

अब माथि उल्लेखित काम गर्न तपाईंले एआई गीत चैं कसरी चिन्ने ?

यसको तरिका पनि साधारण छ । तलका सामान्य बुँदाहरूलाई ध्यान दिनु भयो भने तपाईंले सजिलै एआई गीत थाहा पाइहाल्नु हुन्छ ।

  • एआई गीतमा गायक जस्तो सास फेर्ने, स्वरमा उतारचढाव हुने वा सानो पनि त्रुटि हुँदैन । एआईमा प्रायः अति परफेक्ट पिच, कृत्रिम इको वा रोबोटिक (ध्वध्रो) टोन हुन्छ ।
  • भिडियोको तल ‘अलर्ट अर सिन्थेटिक कन्टेन्ट’ वा ‘एआई जेनेरेटेड म्युजिक’ लेखिएको हुन्छ । क्रिएटर/च्यानलको डेस्क्रिप्सन अथवा बायोमा ‘एआई म्युजिक’, ‘सुनो एआई’ जस्ता की वर्ड लेखिएका हुन्छन् ।
  • ग्राफिक्स धेरै नै झिल्के हुन्छ । कलर अलिअलि रेट्रो जस्तो देखिन्छ । एआई गीतमा लिरिक्स अति सरल, संरचना दोहोरिएको हुन्छ ।
लेखक
सापेक्ष

सापेक्ष अनलाइनखबरमा कला, मनोरञ्जन विधामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?