News Summary
Generated by OK AI. Editorially reviewed.- कीर्तिपुरमा पेटमा घाउ भएका पोथी ल्याब्रोडर जातको कुकुर घाइते अवस्थामा फेला परेको थियो।
- स्थानीय बालबालिकाले घाइते कुकुरलाई आक्रमणबाट बचाउँदै विस्कुट र पानी खुवाएर पहरा दिए।
चैत २१ गते कीर्तिपुरमा एउटा कुकुर फेला पर्यो । पोथी कुकुर ल्याब्रोडर जातको थियो । यस्तो उन्नत नश्लको कुकर प्राय ब्रिडिङका लागि प्रयोग गरिन्छ, महंगोमा बच्चा बिक्री गर्नका लागि ।
तर यो कुकुर घाइते अवस्थाका थिए । उनको पेटमा हेर्नै नसकिने घाउ थियो । त्यहाँ प्वालै प्वाल थियो र पिप बगिरहेको थियो ।हिँडडुल समेत गर्न नसक्ने सो कुकुरलाई त्यहाँ कसैले ल्याएर छाडिएको रहेछ ।
घाइते एवं अशक्त कुकुरलाई त्यहाँ अरू कुकुरले झम्टिन र टोक्न खोजिरहेका थिए । स्थानीय जनवारप्रेमी ज्ञानी पुनले सो कुकुरलाई तुरुन्त उद्धार चाहिने भन्दै फेसबुकमा पोस्ट गरिन् ।
पशु कल्याणको पैरवी गर्ने अधिकांश फेसबुक ग्रुपमा उनले कुकुरको अवस्था दयानीय भएको भन्दै गुहार मागिन् । तर, कतैबाट अपेक्षित सहयोग मिलने । उनले एक रातभर कुकुरलाई रुँघेर सहयोगको याचना गरेको र सहयोग नमिलेको भन्दै दुखेसो व्यक्त गरेकी थिइन् ।
कुकुरको अवस्था यति नाजुक थियो कि रातभरि बाँच्ला कि नबाँच्ला भन्ने चिन्ता थियो ।
तर, अर्को दिन सो कुकुरलाई स–सना बालबालिकाले पहरा दिए । साथै उनीहरूले विस्कुट र पानी किनेर खुवाउँदै राखे । बालबालिकाले घाइते कुकुरलाई अन्य कुकुरको आक्रमणबाट बचाउँदै त्यसबेलासम्म पर्खिरहे, जबसम्म उसको उद्धार भएन ।

अन्ततः लामो प्रयासपछि उद्धार टोली आएर कुकुरको उपचार सुरु गरे । कुकुरको उपचार हुने भएपछि पुनले फेसबुकमा लेखेकी छिन्, ‘साना बालबालिकाहरूले घाइते कुकुरको छेउमा उभिएर उसको रक्षा गरे । उनीहरू न डराए, न पछि हटे । अन्य कुकुरहरूबाट आक्रमण हुन नदिन उनीहरूले पहरा दिए । उनीहरूका लागि त्यो कुकुर कुनै ‘समस्या’ वा ‘रोगी जनावर’ थिएन । त्यो एउटा पीडामा रहेको जीवन थियो, जसलाई सहयोग चाहिएको थियो ।’
उनका अनुसार ती बालबालिकाहरूमा कुनै स्वार्थ थिएन, केवल शुद्ध दया र करुणा थियो । उनीहरूले देखाएको साहस र मानवताले जोकोहीलाई भावुक बनाउँछ ।
बिहानपख ‘टिम रेस्क्यू’ टोली घटनास्थलमा पुगेर उक्त कुकुरको सफल उद्धार गर्यो । अहिले कुकुर सुरक्षित हातमा छ र उपचार भइरहेको छ । ‘यदि हामी सबैले बालबालिकाको जस्तो हृदय राख्न सकेको भए, संसार धेरै सुन्दर हुने थियो’ ज्ञानी पुनले कृतज्ञता व्यक्त गर्दै लेखेकी छिन् ।
हाल, उक्त कुकुरका लागि दीर्घकालीन आश्रय र माया गर्ने घरको खोजी भइरहेको छ । उनले अपिल गरेकी छिन् ‘यदि सम्भव छ भने, यस निर्दोष जीवनलाई नयाँ आश्रय दिन सहयोग गरिदिनुहोस् ।’
अक्सर कुनैपनि राम्रो नश्लको कुकुर घाइते, रोगी वा बूढो भएपछि सडकमा छडिएको पाइन्छ । यस्तो कृत्य खासगरी ब्रिडिङ सेन्टरबाट हुने पशुअधिकारकर्मीहरू बताउँछन् ।
प्रतिक्रिया 4