News Summary
Generated by OK AI. Editorially reviewed.- लुम्बिनी प्रदेशले पीएम कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशलाई ३४ रनले पराजित गरेको छ ।
- लुम्बिनीले ८ खेलमा ९ अंक जोडेर पाँचौं स्थानमा उक्लिएको छ भने बागमती ९ खेलमा ८ अंकसहित आठौं स्थानमा झरेको छ ।
- जय ट्रफीमा त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिम प्रदेशबीच फाइनल खेल पक्का भइसकेको छ ।
१ वैशाख, काठमाडौं । पीएम कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको आफ्नो अन्तिम खेलमा बागमती प्रदेशले लुम्बिनी प्रदेशसँग हार बेहोरेको छ ।
मंगलबार जनकपुरमा भएको खेलमा लुम्बिनी प्रदेशले बागमती प्रदेशलाई ३४ रनले पराजित गर्दै जय ट्रफीको सम्भावना कायमै राखेको छ भने बागमती त्यस होडबाट बाहिरिएको छ ।
लुम्बिनीले दिएको २३४ रनको लक्ष्य पछ्याएको बागमती ४४ ओभरमा १९९ रनमा अलआउट भयो । बिबेक मगरले सर्वाधिक ४५ रन बनाए भने कप्तान सन्दीप लामिछानेले ३२ रन बनाए । उत्तम मगरले २३, इशान पान्डेले १७, रिङ्जिन लामालेे १६ अनि आशुतोष घिरैयाले १५ रन बनाए ।
लुम्बिनीका निर्मल गुरुङले १० ओभरमा २७ रन दिएर ५ विकेट लिए भने बिप्रासन केसी र दिनेश बोहराले २-२ तथा अजय चौहानले १ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले ४५.२ ओभरमा अलआउट हुँदै २३३ रन बनाएको थियो । आकाश त्रिपाठीले सर्वाधिक ७२ रन बनाए । प्रज्वल थापाले ४६, कप्तान देव खनालले ३७ तथा सन्तोष यादवले २५ रन बनाए । दिनेश बोहराले १४ तथा बिप्रासन केसीले १३ रन बनाए ।
बागमतीका कप्तान सन्दीप लामिछानेले १० ओभरमा ४४ रन दिएर ३ विकेट लिए । बिबेक मगरले ७ ओभरमा ३३ रन दिएर ३ विकेट लिए । रिजन ढकालले २ तथा प्रतिस जिसीले १ विकेट लिए ।
यो जितसँगै ८ खेलमा ९ अंक जोडेको लुम्बिनी पाँचौं स्थानमा उक्लिएको छ । लुम्बिनीले अब नेपाल पुलिस क्लबसँग खेल्न बाँकी छ ।
बागमती ९ खेलमा ८ अंक मात्र जोडेर आठौं स्थानमा झरेको छ । पुलिस, लुम्बिनी, मधेश र गण्डकी चारवटै टोली ९ अंकमा छ । यीमध्येबाट तीन टोली मात्र जय ट्रफीमा छनोट हुनेछन् ।
बुधबार हुने लिग चरणका अन्तिम दुई खेलपछि जय ट्रफीमा छनोट हुने टोलीको टुंगो लाग्नेछ । फाइनल खेल भने त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिम प्रदेशबीच हुने पक्का भइसकेको छ ।
गत संस्करणमा शीर्ष ४ टोलीले मात्र जय ट्रफी खेल्ने प्रावधान थियो जतिबेला आर्मी, पुलिस, एपीएफ र बागमतीले खेलेका थिए । यसपटक जय ट्रफीको दायरा बढाइएपनि बागमती शीर्ष ६ भित्र पर्न असफल रह्यो ।
प्रतिक्रिया 4