+

स्वास्थ्योपचारमा एआईको प्रयोग : कति उपयोगी, कति खतरापूर्ण ?

२०८३ वैशाख  २ गते १८:४३ २०८३ वैशाख २ गते १८:४३

डाक्टरले एआईलाई आफ्नो ज्ञान, अनुभव र बिरामीको अवस्थासँग जोडेर प्रयोग गर्छ, बिरामीले त्यसैलाई निर्णयको आधार बनाउँदा जोखिम बढ्छ ।

स्वास्थ्योपचारमा एआईको प्रयोग : कति उपयोगी, कति खतरापूर्ण ?

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एआईले चिकित्सकलाई प्रतिस्थापन गर्ने होइन, उसको क्षमता विस्तार गर्ने उपकरण हो\' र स्वास्थ्य क्षेत्रमा यसको जिम्मेवार प्रयोग आवश्यक छ।

केही समयअघि चिकित्सा शिक्षा आयोगले पीजीको नतिजा सार्वजनिक गर्दाको अन्योलपूर्ण घडीमा मैले उपलब्ध डाटा र एआईको प्रयोग गरेर एउटा ‘सिट प्रेडिक्टर’ टुल तयार पारेँ ।

हालै सरकारी सिटको वास्तविक नतिजा आउँदा मेरो यो टुल ‘कन्जरभेटिभ’ रूपमा निकै सुरक्षित देखियो । टुलले वास्तविक र्‍याङ्कलाई केही ‘अन्डरइस्टिमेट’ गरेको थियो, जसले गर्दा चिकित्सकहरूले गलत आशा पालेनन् र सुरक्षित निर्णय लिन सके।

यसको विस्तृत विवरण र प्रयोग गर्ने तरिका मैले मेरो विमर्श आचार्य युट्युब च्यानल को एमडी/एमएस भिडियोको डिस्क्रिप्सनमा समेत राखेको छु । यो सानो प्रयोगले मलाई एउटा ठूलो कुरा प्रस्ट पार्यो, एआई नेपाली स्वास्थ्य क्षेत्रका लागि ‘शत्रु’ होइन, बरू सही प्रयोग गर्न जान्नेका लागि एउटा शक्तिशाली ‘को-पाइलट’ हो ।

यसै सन्दर्भमा, मैले क्लिनिकल रिसर्च प्रशिक्षणका सत्रहरू सञ्चालन गर्दै आएको छु, जसमा एआईको प्रयोग, यसको नैतिक (एथिकल) पक्ष र दैनिक चिकित्सकीय अभ्यासमा यसको जिम्मेवार एकीकरण सम्बन्धी विषयलाई पनि नियमित रूपमा समेट्दै आएको छु ।

यस क्रममा नेपालका ७०० भन्दा बढी चिकित्सक तथा मेडिकल विद्यार्थीहरूलाई प्रशिक्षण प्रदान गरिसकेको छु । यस अनुभवले एआईलाई केवल उपकरणका रूपमा होइन, सही मार्गदर्शनसहित सुरक्षित र जिम्मेवार रूपमा प्रयोग गर्नुपर्ने आवश्यकता अझ प्रस्ट पारेको छ ।

अस्पतालमा दैनिक बिरामी हेर्दा एआई मेरो सहयात्रीजस्तै बनेको छ । औषधिको मात्रा वा सावधानी सम्झन, विभिन्न उपचार विधिहरू तुलना गर्न, अन्तर्राष्ट्रिय निर्देशिकासँग आफ्ना निर्णय मिलाउन र पछिल्ला अनुसन्धान तथा परीक्षणका नतिजा बुझ्न यसको नियमित प्रयोग गर्छु । जटिल केसहरूमा आफ्नो प्रारम्भिक क्लिनिकल सोचलाई प्रमाणमा आधारित जानकारीसँग तुलना गर्दा निर्णय अझ स्पष्ट र आत्मविश्वासी बन्छ । यसरी एआई चिकित्सकलाई प्रतिस्थापन गर्ने होइन, उसको क्षमता विस्तार गर्ने एक शक्तिशाली उपकरण हो ।

डाक्टरका लागि एआई : कुन उपयोगी ?

आज प्रचलित विभिन्न एआई उपकरणहरू जस्तै ग्रोक, जेमनाई, च्याटजीपीटी, पर्प्लेक्सिटी र ओपनएभिडेन्सका आ–आफ्नै भूमिका छन् । तर, तिनीहरूको प्रयोग सन्दर्भअनुसार फरक हुन्छ । सामान्य जानकारी बुझ्न, अवधारणा स्पष्ट गर्न र छिटो सहजीकरणका लागि च्याटजीपीटी, जेमनाई वा ग्रोक उपयोगी हुन सक्छन् । पर्प्लेक्सिटीले स्रोतसहित जानकारी प्रस्तुत गर्ने भएकाले खोज र तुलना गर्न सहज बनाउँछ । तर क्लिनिकल निर्णयका लागि भने प्रमाण–आधारित, सन्दर्भसहित र अद्यावधिक जानकारी अत्यन्त महत्वपूर्ण हुन्छ ।

यस दृष्टिले ओपनएभिडेन्स विशेष रूपमा उपयोगी मानिन्छ । यो प्लेटफर्म अन्तर्राष्ट्रिय जर्नल, क्लिनिकल ट्रायल र स्थापित गाइडलाइनमा आधारित प्रमाणसहित जानकारी प्रदान गर्न केन्द्रित हुन्छ । यसले डाक्टरलाई केवल उत्तर मात्र होइन, त्यसको वैज्ञानिक आधार पनि देखाउँछ, जसले क्लिनिकल निर्णयलाई सुरक्षित, विश्वसनीय र जिम्मेवार बनाउँछ ।

त्यसैले, सामान्य बुझाइका लागि विभिन्न एआई उपकरणहरू प्रयोग गर्न सकिए पनि, क्लिनिकल अभ्यास र निर्णयका लागि प्रमाण–आधारित प्लेटफर्मका रूपमा ओपनएभिडेन्स हालको अवस्थामा सबैभन्दा उपयुक्त विकल्पमध्ये एक मानिन्छ ।

एआईकै सल्लाहमा भर पर्नु खतरा

आजकल धेरै बिरामीहरूले एआईलाई चिकित्सकसरह प्रयोग गर्न थालेका छन् । सामान्य लक्षण देखिएपछि सिधै औषधिको सल्लाह खोज्ने प्रवृत्ति बढ्दो छ, जुन गम्भीर खतरा बन्न सक्छ ।

उदाहरणका लागि, कसैलाई पेट दुख्यो भने एआईले सामान्य पीडा कम गर्ने औषधि सुझाउन सक्छ । तर त्यही लक्षणभित्र एपेन्डिसाइटिसजस्तो गम्भीर समस्या लुकेको हुन सक्छ । औषधिले केही समय राहत दिए पनि रोगको झन् जटिल बन्दै जान सक्छ ।

यही डाक्टर र बिरामीले प्रयोग गरिएको एआईबीचको फरक प्रस्ट हुन्छ । डाक्टरले एआईलाई आफ्नो ज्ञान, अनुभव र बिरामीको अवस्थासँग जोडेर प्रयोग गर्छ, जबकि बिरामीले सिधै त्यसलाई निर्णयको आधार बनाउँदा जोखिम बढ्छ । स्व–औषधोपचारले कहिलेकाहीँ ज्यानसमेत जोखिममा पार्न सक्छ ।

नेपालको स्वास्थ्य क्षेत्रमा एआई

नेपालजस्तो भौगोलिक चुनौती रहेको देशमा एआईले स्वास्थ्य सेवामा ठूलो परिवर्तन ल्याउन सक्छ । दुर्गम क्षेत्रमा विशेषज्ञ चिकित्सकको अभाव हुँदा एआईले प्राथमिक स्तरमै निर्णय लिन सहयोग पुर्‍याउन सक्छ । एक्स–रे, मुटुसम्बन्धी परीक्षण वा आकस्मिक अवस्थाको मूल्यांकनमा यसको प्रयोगले समयमै उपचारको दिशा दिन सक्छ ।

टेलिमेडिसिनसँग एआईको संयोजनले गाउँ र शहरबीचको दूरी घटाउन सक्छ । बिरामीले नजिकैबाट विशेषज्ञ सेवा पाउन सक्छन् भने चिकित्सकले पनि सीमित स्रोतमा राम्रो सेवा दिन सक्छन्।

अनुसन्धान क्षेत्रमा पनि एआईले ठूलो भूमिका खेल्न सक्छ । जटिल अध्ययन, तथ्यांक विश्लेषण र अन्तर्राष्ट्रिय प्रकाशनमा सहभागिता बढाउन यसले सहयोग पुर्‍याउँछ । यसले नेपालको स्वास्थ्य प्रणालीलाई ज्ञान–आधारित र प्रविधिमैत्री बनाउने सम्भावना बोकेको छ।

अबको  हाम्रो दायित्व 

अबको प्रतिस्पर्धा डाक्टर र एआईबीच होइन, एआई प्रयोग गर्न जान्ने र नजान्ने डाक्टरबीच हुनेछ । समयसँगै रूपान्तरण हुन नसक्ने प्रणाली पछाडि पर्छ।

यसैले, सरकार र निजी क्षेत्र दुवैले मिलेर एआईलाई स्वास्थ्य प्रणालीमा समाहित गर्ने स्पष्ट नीति बनाउन आवश्यक छ । चिकित्सकहरूलाई तालिम, स्रोत र प्रोत्साहन उपलब्ध गराउनु अपरिहार्य छ ।

यदि हामीले आजैदेखि यो प्रविधिलाई अंगाल्न सकेनौँ भने, भोलि हामी विश्वस्तरमा प्रतिस्पर्धा गर्न असक्षम हुनेछौँ । तर सही दिशामा अघि बढ्न सके, नेपाली स्वास्थ्य क्षेत्रले अन्तर्राष्ट्रिय स्तरमा आफ्नो पहिचान स्थापित गर्न सक्छ ।

अबको प्रश्न स्पष्ट छ, हामी परिवर्तनको नेतृत्व गर्ने कि त्यसको पछाडि पर्ने ?

(डा. विमर्श आचार्य अल्का अस्पताल, जावलाखेलमा मेडिकल अफिसरका रूपमा कार्यरत छन् ।)

एआई स्वास्थ्योपचार
लेखक
डा. विमर्श आचार्य
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय