+
म्याच प्रिभ्यू :

फेरिएको मैदान, ऐतिहासिक खेल : साढे दुई वर्षपछि कीर्तिपुरमा भिड्दै नेपाल र यूएई

२०८३ वैशाख  ६ गते ११:१२ २०८३ वैशाख ६ गते ११:१२

लामो समयको पर्खाइपछि नेपाली क्रिकेट टोलीले अन्तत: घरेलु मैदानमा अन्तर्राष्ट्रिय खेल खेल्दै छ, जहाँ घरेलु दर्शकको हुटिङले पुनः कीर्तिपुर गुञ्जायमान हुनेछ ।

फेरिएको मैदान, ऐतिहासिक खेल : साढे दुई वर्षपछि कीर्तिपुरमा भिड्दै नेपाल र यूएई

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालले दुई वर्षपछि ७ वैशाखमा कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा यूएईसँग टी-२० अन्तर्राष्ट्रिय खेल खेल्दै छ, जहाँ पहिलोपटक रातको समयमा फ्लडलाइटमा खेल हुनेछ।
  • नेपाली टोलीमा कप्तान दीपेन्द्रसिंह ऐरी रहेका छन् भने रोहित पौडेल, सोमपाल कामी, करण केसी र आसिफ शेख जस्ता नियमित खेलाडी टोलीमा छैनन्।
  • नेपाल र यूएईबीच हालसम्म ११ पटक टी-२०आई खेल भइसकेका छन्, जसमा नेपालले ६ र यूएईले ५ खेल जितेका छन्, कीर्तिपुरमा भएको एकमात्र खेल यूएईले जितेको थियो।

६ वैशाख, काठमाडौं । दुई वर्षअघि, ५ मार्च २०२४ को दिन त्रिवि क्रिकेट मैदानमा नेपाल, नेदरल्यान्ड्स र नामिबियाबीचको लिग २ शृंखलापछि भएको टी-२०आई शृंखलाको फाइनल खेल थियो ।

अन्तिम ओभरसम्म पुगेको उक्त खेलमा नेपालले नेदरल्यान्ड्सलाई १८५ रनको लक्ष्य दिएको थियो । करण केसीको बलमा डिप ब्याकवार्ड स्क्वायर लेगमा टिम भान डेर गुग्टेनले चौका प्रहार गर्दै नेदरल्यान्ड्सलाई खेल जिताएका थिए ।

नेपाली समर्थक निराश पक्कै थिए, तर उनीहरूलाई थाहा थिएन कि यो प्रतिक्षा यति लामो हुनेछ । त्यसयता पृथ्वीले सूर्यलाई दुईपटक परिक्रमा गरिसक्यो, त्रिवि क्रिकेट मैदानको स्वरुप नै परिवर्तन भइसकेको छ ।

दुई वर्षपछि, भोलि (सोमबार) नेपाली क्रिकेट टोलीले अन्तत: घरेलु मैदानमा फेरि पाइला टेक्दै छ, जहाँ घरेलु दर्शकको हुटिङले पुनः कीर्तिपुर गुञ्जायमान हुनेछ ।

यसबीचमा नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणदेखि दोस्रो संस्करणसम्म, अनि महिला टी-२० विश्वकप ग्लोबल छनोट पनि यो मैदानमा आयोजना भइसकेको छ । यही बीचमा त्रिवि क्रिकेट मैदानको स्वरुप पनि फेरियो तर नेपाली पुरुष क्रिकेट टोलीलाई यहाँ कुनै खेलको अवसर जुरेको थिएन ।

दुई वर्षपछि घरेलु मैदानमा अन्तर्राष्ट्रिय खेल खेल्न लागेको नेपालका लागि यो ऐतिहासिक क्षण समेत हुनेछ । यसअघि दिनको समयमा मात्र खेल हुने गरेकोमा नेपाली क्रिकेट इतिहासमा पहिलोपटक रातको समयमा फ्लडलाइटमा अन्तर्राष्ट्रिय खेल हुँदैछ ।

अर्कोतर्फ चिरपरिचित प्रतिद्वन्द्वी नेपाल र यूएई साढे दुई वर्षपछि कीर्तिपुरमा खेल्दै छन् । पछिल्लोपटक सन् २०२४ को अक्टोबरमा भएको नेपाल, हङकङ र यूएईबीचको शृंखलाको फाइनलमा भिडेका थिए ।

हालसम्म ११ पटक अन्तर्राष्ट्रिय टी-२० मा भिडेका नेपाल र यूएईबीच कीर्तिपुरमा एकमात्र खेल भएको छ जहाँ यूएई विजयी भएको थियो ।

यस्तै यही शृंखलाअघि नेपालको दुई फरक फर्म्याटमा फरक कप्तान र टिमको अवधारणा सुरु भएको छ । यो शृंखलामा यसअघिका नियमित अनि सिनियर खेलाडीहरू देखिने छैनन् । कप्तान पनि फेरिएका छन् ।

दीपेन्द्रसिंह ऐरीको कप्तानीसहित परिवर्तित नेपाली टोलीले टी-२०आई क्रिकेटमा नयाँ सुरुवात गर्नेछ । त्यो सुरुवात एउटा ऐतिहासिक खेलबाटै हुनेछ ।

स्तरोन्नतिपछि पहिलो खेल

नेपाल र यूएई यसअघि सन् २०२३ को टी-२० विश्वकप छनोटअघि भएको शृंखलाको फाइनलमा कीर्तिपुरमा पछिपल्लोपटक भिडेका थिए । त्यतिबेला मैदानबाहिर घाँसे पाखा थियो ।

त्यसपछिको साढे दुई वर्षमा त्यस पाखोमा प्यारापिट बन्यो, त्यति मात्र नभएर अन्तर्राष्ट्रिय स्तरको फ्लडलाइट समेत जडान गरिएको छ । त्यही फेरिएको मैदानमा एनपीएलको दोस्रो संस्करण सम्पन्न भइसकेको छ ।

अब फ्लडलाइटमा अन्तर्राष्ट्रिय खेलको पनि डेब्यू हुनेवाला छ । रातको समयमा नेपालमा खेल हुन सम्भव हुनु नेपाली क्रिकेटकै लागि गर्वको विषय भएको क्यानका प्रवक्ता छुम्बी लामा बताउँछन् ।

‘यो ऐतिहासिक खेल जुन समयमा सम्भव भएको छ, पहिलोपटक हामी हाम्रै घरेलु मैदानमा फ्लडलाइटमा अन्तर्राष्ट्रिय खेल खेल्दै छौं । यो समग्र नेपाली क्रिकेटका लागि गर्वको विषय हो’ प्रवक्ता लामाले भने ।

नेपाल र यूएईबीच कीर्तिपुरमा भएको त्यही मात्र टी-२०आई हो । बाँकी खेल मुलपानी वा नेपालबाहिर भएका छन् । उक्त खेलमा नेपाल यूएईसँग पराजित भएको थियो ।

पछिल्लो लय अनि हेड टु हेड

दुवै टोली गत महिना भारत र श्रीलंकामा सम्पन्न आईसीसी टी-२० विश्वकप खेलेर आएका छन् । नेपाल र यूएई दुवै टोली एसिया-ईएपी छनोट पार गरेर विश्वकपमा पुगेका थिए ।

यूएई र नेपाल दुवै टी-२० विश्वकपमा समूह चरणबाट अगाडि बढ्न सकेनन् । दुवैले आफ्नो समूहमा समान एक-एक खेल जिते ।

यूएईले क्यानडालाई पराजित गर्दा न्युजिल्यान्ड, अफगानिस्तान र दक्षिण अफ्रिकासँग पराजित भएको थियो । नेपालले इंग्ल्यान्ड, वेस्ट इन्डिज र इटालीसँग लगातार हार बेहोर्दा अन्तिम खेलमा स्कटल्यान्डलाई हराएको थियो ।

हेड टु हेडको कुरा गर्दा नेपाल र यूएई हालसम्म टी-२०आईमा ११ पटक भिडेका छन् जहाँ नेपाल ६ अनि यूएई ५ पटक विजयी भएका छन् । कीर्तिपुरमा भने एकमात्र खेल भएको छ जुन् यूएईले जितेको थियो ।

पछिल्लोपटक यी दुई टोली आईसीसी टी-२० विश्वकप एसिया-ईएपी छनोटमा भिडेका थिए जहाँ नेपालले १ रनको रोमाञ्चक जित निकालेको थियो ।

टिम कम्बिनेशन र सम्भावित ११

यस शृंखलाअघि नेपाली टोलीमा उल्लेख्य परिवर्तन भएको । कप्तानसहित केही अनुभवी र नियमित खेलाडी पनि टी-२०आई टोलीबाट हटाइएका छन् ।

कप्तान रोहित पौडेल १५ सदस्यीय टोलीमै छैनन् भने सिनियर खेलाडी सोमपाल कामी र करण केसी अनि नियमित सदस्य आसिफ शेख पनि टोलीमा छैनन् । कप्तानको जिम्मेवारी यसअघिका उपकप्तान दीपेन्द्रसिंह ऐरीले पाएका छन् ।

नेपालको टी-२०आई टोली पहिलेझैं अलराउन्डरले भरिएको छ । १५ सदस्यीय टोलीमा दुई विकेटकिपर ब्याटर समावेश छन् भने प्रपर ब्याटरका रूपमा सन्दीप जोरा मात्र छन् ।

बाँकी १२ जनामध्ये कप्तान दीपेन्द्रसहित ८ जना अलराउन्डर छन् भने ४ जना बलर छन् । बलरमध्ये २ जना स्पीनर छन् भने २ जना पेसर छन् । नेपालको बलिङ विकल्प भने प्रशस्त देखिन्छ ।

पेस बलिङमा भने दुई सिनियर खेलाडी नहुँदा अनुभवको कमी देखिएको छ । सोमपाल र करण नहुँदा हेमन्त धामी र नन्दन यादव मुख्य पेसरका रूपमा छन् ।

स्पीन विकल्प धेरै भएको हुँदा प्लेइङ ११ मा कुन अलराउन्डरले मौका पाउने छन् भन्ने कुरा भने हेर्न बाँकी छ । सन्दीप लामिछाने मुख्य स्पीनरका रूपमा छन् ।

यता यूएईले भने खेल हुने अघिल्लो दिन विहानसम्म पनि आफ्नो टोली सार्वजनिक गरिसकेको छैन । यद्यपी केही खेलाडीहरूले नेपालमा आइसकेको संकेत सामाजिक सञ्जालमा दिइसकेका छन् ।

कप्तान मुहम्मद वासीमसहित अनुभवी खेलाडी अलिशान सराफू र जुनेद सिद्दिकी नेपाल आएका छन् । यूएईको टोलीमा केही नयाँ अनुहार देखिन सक्ने समेत चर्चा छ ।

नेपालको सम्भावित ११ : कुशल भुर्तेल, लोकेश बम/अर्जुन साउद, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल/बसिर अहमद, सन्तोष यादव, गुल्शन झा, नन्दन यादव, शेर मल्ल/शाहब आलम, सन्दीप लामिछाने, हेमन्त धामी

प्लेयर्स टु वाच

नेपालका लागि सदाझैं ओपनिङ ब्याटर कुशल भुर्तेलको ब्याटिङमाथि नजर रहनेछ । अपेक्षा अनुसारको प्रदर्शन हुन नसकेपनि उनी ब्याटिङको ‘एक्स फ्याक्टर’ रूपमा हुनेछन् ।

यस्तै कप्तान दीपेन्द्रसिंह ऐरीबाट अलराउन्ड प्रदर्शनको अपेक्षा गर्न सकिन्छ । बलिङमा सन्दीप लामिछानेमाथि नजर रहनेछ । पेस बलर हेमन्त धामी शानदार लयमा रहेको हुँदा चम्किन सक्छन् ।

यूएईका लागि कप्तान मुहम्मद वासीम सबैभन्दा प्रमुख खेलाडी हुनेछन् । उनी विश्वका धेरै फ्रेन्चाइज लिगमा लगातारजसो खेलिरहेका छन् भने अहिले पनि पाकिस्तान सुपर लिग खेलेर आएका छन् । उनको ओपनिङले यूएईको इनिङको आधार तय गर्नेछ ।

यता अलिशान सराफूको अलराउन्ड प्रदर्शन र जुनेद सिद्दिकीको पावरप्ले बलिङ पनि यूएईका लागि महत्त्वपूर्ण हुनेछ ।

खेल : नेपाल भर्सेस् यूएई, अन्डर लाइट्स सिरिज
मिति र समय : ७ वैशाख, साँझ ५ बजेदेखि
स्थान : त्रिवि क्रिकेट मैदान, कीर्तिपुर
मौसम : हल्का बादल

नेपालको टी-२०आई टोली : दीपेन्द्रसिंह ऐरी (कप्तान), कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, गुलशन झा, लोकेस बम, सन्दीप लामिछाने, नन्दन यादव, सन्तोष यादव, अर्जुन साउद, हेमन्त धामी, साहब आलम, शेर मल्ल

यूएईको टोली : घोषणा हुन बाँकी

अन्डर लाइट्स सिरिज नेपाली क्रिकेट टोली यूएई क्रिकेट टोली
लेखक
प्रतिक भट्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय