+

गर्भपतन : सुरक्षित भनिएको देशमा किन भइरहेका छन् असुरक्षित मृत्यु ?

२०८३ वैशाख  १० गते १२:५० २०८३ वैशाख १० गते १२:५०

हामीले गर्भपतनलाई अधिकार त भन्यौँ । तर यसलाई अझै पनि ‘पाप’ वा ’गोप्य’ राख्नुपर्ने विषयको रूपमा व्याख्या गर्न छाडेनौँ ।

Shares
गर्भपतन : सुरक्षित भनिएको देशमा किन भइरहेका छन् असुरक्षित मृत्यु ?

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गीता पाण्डेको मृत्यु योजनाबद्ध श्रृंखला र संरचनागत असफलताको परिणाम हो, जसले सुरक्षित गर्भपतन सेवामा गम्भीर खाडल देखाउँछ।

बुटवलको एउटा चिसो कोठामा एउटा जीवन सदाका लागि शान्त भयो । तर, यो मृत्यु अचानक आएको तुफान होइन, यो त एउटा योजनाबद्ध श्रृंखला र संरचनागत असफलताको परिणाम हो । एउटा ढोकाबाट अर्को ढोका, एउटा गल्लीबाट अर्को गल्ली धाउँदा धाउँदै जब अस्पतालको इमर्जेन्सी कक्षमा पुगिन्, उनको प्राणपखेरु उडिसकेको थियो ।

आज प्रश्न यो मात्र होइन कि उनी किन मरिन् ?

उनलाई यसरी मर्न बाध्य पार्ने ‘अदृश्य हत्यारा’ को हुन् ? भन्ने प्रश्न मुख्य हो ।

नेपालमा सुरक्षित गर्भपतनले कानुनी मान्यता पाएको दुई दशक नाघिसक्यो । सरकारी स्वास्थ्य संस्थामा यो सेवा निःशुल्क छ । कागजमा हेर्दा हामी दक्षिण एसियाकै प्रगतिशील देखिन्छौँ । तर, जब यो कानुन जमिनमा ओर्लिन्छ, तब एउटा भयावह खाडल देखिन्छ । जसले महिलालाई सुरक्षित भनिएको अस्पतालको उज्यालोबाट खेदेर असुरक्षित गल्लीका अँध्यारा कोठाहरूमा हुत्याइदिन्छ ।

गीता पाण्डे अनपढ थिइनन् । उनी त स्वास्थ्यकै सिपाही थिइन्, जसले रगतको महत्त्व र जीवनको मूल्य बुझ्थिन् । तर, मानिसको निर्णय सधैँ मस्तिष्कले मात्र लिँदैन । कहिलेकाहीँ यसलाई डरले चलाउँछ, त कहिले सामाजिक ‘लाज’ ले घेर्छ ।

‘कसैले थाहा नपाओस्’ भन्ने एउटा लघुताभासले कहिलेकाहीँ सही बाटोलाई निकै टाढा पारिदिन्छ । विज्ञान बुझेकी उनले पनि सायद त्यही गोपनीयताको मृगतृष्णामा गलत ढोका ढकढक्याइन् । र विडम्बना, त्यो ढोका उनको जीवनकै लागि अन्तिम बन्यो ।

यहाँ सबैभन्दा गम्भीर प्रश्न हाम्रो स्वास्थ्य प्रणाली र व्यावसायिक नैतिकता माथि उब्जिएको छ । किन एउटा नर्सिङ होमले बिरामीलाई ‘लोकेसन म्याप’ दिएर फार्मेसीमा पठाउँछ ? किन एउटा फार्मेसीले प्रिस्क्रिप्सन तथा परामर्श बिना नै मृत्युको प्याकेट जस्तो औषधि थमाइदिन्छ ? किन बिरामीलाई अस्पतालको मुख्य द्वारबाट होइन, ‘पछाडिको बाटो’ हुँदै लुकाएर क्लिनिक पुर्‍याइन्छ ?

चिकित्सा विज्ञानले सिकाएको मर्यादा– जाँच, परामर्श, सहमति र निगरानीहरू कहाँ हराए ? किन लेनदेनको तराजुमा जोखिएर हराएको छ ? बिरामीको ज्यान भन्दा ‘व्यवस्थापन’ र ‘आर्थिक लाभ’ हाबी हुनु चिकित्सा पेसाकै कलंक होइन र ?

चिकित्सकीय दृष्टिले १२ हप्तासम्मको गर्भपतन सही पद्धतिबाट गर्दा अत्यन्तै सुरक्षित मानिन्छ । ‘मिफेप्रिस्टोन’ र ‘मिसोप्रोस्टोल’ जस्ता औषधिहरू जीवन बचाउन बनेका हुन् । तर, जब यी औषधिहरू दक्ष हात र सुरक्षित संस्था भन्दा बाहिर पुग्छन् । तब यिनले जीवन रक्षा होइन, जीवन हरण गर्छन् ।

दोष विज्ञानको होइन, दोष त त्यसलाई व्यापार बनाउने विकृत मानसिकताको हो । यहाँ उस्तै भएको अनुमान गर्न सकिन्छ ।

अब कुरा गरौँ जिम्मेवारीको । के केवल त्यो औषधि दिने हातहरू मात्र दोषी होइनन् । कानुनी रूपमा, प्रोटोकल मिच्ने र ज्यान जोखिममा पार्ने स्वास्थ्यकर्मीहरू कठघरामा उभिनै पर्छ । तर यतिमै रोकिनु सत्यको सतही विश्लेषण मात्र हुनेछ । यस्तो मृत्यु पहिलो होइन् । यस्ता मृत्युहरुको नेपथ्यमा हाम्रो सामाजिक संरचना पनि उस्तै जिम्मेवार छ ।

हामीले गर्भपतनलाई अधिकार त भन्यौँ । तर यसलाई अझै पनि ‘पाप’ वा ’गोप्य’ राख्नुपर्ने विषयको रूपमा व्याख्या गर्न छाडेनौँ । अझै पनि महिलाको प्रजनन निर्णयमाथि परिवार र समाजले प्रश्न ठड्याउँछ । यही सामाजिक मौनता र तिरस्कारको डरले महिलालाई सुरक्षित अस्पताल जानबाट रोक्छ । जब समाजले सही विकल्पहरूलाई साँघुरो र लज्जास्पद बनाउँछ । तब मानिसले गलत विकल्पलाई नै एक मात्र सहारा ठान्न पुग्छ । यो यर्थाथ हो ।

गीता पाण्डेको मृत्यु एउटा घटना मात्र होइन, यो त हाम्रा चारवटा असफलताको संगम हो । पहिलो: कानुन । जुन मौलिक अधिकार र सुरक्षित मातृत्व तथा प्रजनन् अधिकारले कागजमा उल्लेख गरेको छ । तर पीडितको पहुँचसम्म अझै पुग्न सकेको छैन ।

दोस्रो: सुरक्षित गर्भपतन सेवा र हाम्रो प्रणली । जसले शहरका गल्लीमा चलिरहेका ‘अवैध व्यापार’ लाई नियमन गर्न सकेन । तेस्रो: नैतिकता । जहाँ सेवा भन्दा मुनाफा ठूलो भयो । र चोथौ समाज: जसको मौन दबाबले एउटा सचेत महिलालाई समेत असुरक्षित बाटो रोज्न विवश पार्यो ।

गीता पाण्डेको अवसान एउटा समाचार मात्र होइन । यो त हामीले हेर्न नचाहेको हाम्रो आफ्नै कुरूप अनुहार देखाउने ऐना हो । जबसम्म हामी यो ऐनामा आफूलाई नियालेर सुधार्न तयार हुँदैनौँ । तबसम्म यस्ता मृत्युहरू केवल तथ्याङ्कमा सीमित भइरहनेछन् ।

अन्ततः, सुरक्षित भनिएको देशमा असुरक्षित मृत्युहरू किन भइरहेका छन् ? यसको उत्तर सायद अस्पतालका फाइलहरूमा हुँदैन । हाम्रो व्यवहार र सामाजिक सोचको अँध्यारो कुनामा लुकेका छन् । र, जबसम्म हामी त्यो अन्धकार हटाउन तयार हुँदैनौँ । तबसम्म कुनै न कुनै गीता, कुनै न कुनै ‘पछाडिको बाटो’ हुँदै मृत्युको काखमा चुपचाप हराई रहने छिन् ।

गर्भपनत महिला
डा. बालकृष्ण साह
लेखक
डा. बालकृष्ण साह
प्रसूति तथा स्त्रीरोग विशेषज्ञ

मेडिकल काउन्सिल दर्ता नम्बर : ७३१३ एमबीबीएस, डीजीओ र एमपीएच । मोरङ सहकारी अस्पताल विराटनगरमा कार्यरत डा. साह प्रसूति तथा स्त्रीरोग विशेषज्ञ हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

एक वर्षदेखि सञ्चालनमा एनआईपीटी सेवा, अब नेपालमै परीक्षण सम्भव

एक वर्षदेखि सञ्चालनमा एनआईपीटी सेवा, अब नेपालमै परीक्षण सम्भव

गर्दन दुख्ने समस्या किन बढ्दै छ यति धेरै ?(भिडियो)

गर्दन दुख्ने समस्या किन बढ्दै छ यति धेरै ?(भिडियो)

गर्भपतन : सुरक्षित भनिएको देशमा किन भइरहेका छन् असुरक्षित मृत्यु ?

गर्भपतन : सुरक्षित भनिएको देशमा किन भइरहेका छन् असुरक्षित मृत्यु ?

९–५ ड्युटी : सेवा बिस्तार कि श्रम शोषण ?

९–५ ड्युटी : सेवा बिस्तार कि श्रम शोषण ?

भुइँमा बसेर खाना खानु किन राम्रो ? पाचनदेखि जोर्नी समेतलाई फाइदा

भुइँमा बसेर खाना खानु किन राम्रो ? पाचनदेखि जोर्नी समेतलाई फाइदा

पटक–पटक जाँघ चिलाउँछ, किन ?

पटक–पटक जाँघ चिलाउँछ, किन ?