News Summary
Generated by OK AI. Editorially reviewed.- कणार्ली स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्वास्थ्यकर्मीमाथि अभद्र व्यवहार गर्ने युवाले माफी मागेपछि अस्पतालको सेवा नियमित भएको छ।
- युवा अभियन्ता उपेन्द्र बुढथापा र नरेन्द्र बुढथापाले चिकित्सकलाई असुरक्षित महसुस हुने कुनै पनि कार्य नगर्ने लिखित प्रतिबद्धता जनाएका छन्।
- स्वास्थ्यकर्मीले सुरक्षाको प्रत्याभूति माग गर्दै आकस्मिक बाहेकका सेवा ठप्प पारेपछि वार्ता टोलीले सहजीकरण गरी सेवा पुनः सुरु भएको छ।
१० वैशाख, काठमाडौं । कणार्ली स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्वास्थ्यकर्मीलाई अभद्र व्यवहार गर्ने युवाले माफी मागेपछि अस्पतालको सेवा नियमित भएको छ । युवा अभियन्ताका रूपमा प्रस्तुत भएका उपेन्द्र बुढथापा र नरेन्द्र बुढथापाले आगामी दिनमा चिकित्सकलाई असुरक्षित महसुस हुने कुनै पनि कार्य नगर्ने लिखित प्रतिबद्धता जनाएका छन् ।
बुधबार ड्युटीमा रहेका स्वास्थ्यकर्मीमाथि युवा अभियन्ताले दुर्व्यवहार र धम्की दिएका थिए । त्यसपछि स्वास्थ्यकर्मीहरूले सुरक्षाको प्रत्याभूति माग गर्दै बिहीबार बिहानैदेखि आकस्मिक बाहेकका सेवा ठप्प पारेका थिए ।
प्रतिष्ठानका रजिष्ट्रार एवं प्रवक्ता लक्ष्मीचन्द्र महतका अनुसार अभद्र व्यवहार गर्ने र स्वास्थ्यकर्मीबीच सहमति भएपछि प्रतिष्ठानको सम्पूर्ण सेवा नियमित भएको छ ।
‘युवाहरू आफूले गरेको गल्ती महसुस गर्नुभयो । अबदेखि यस्तो व्यवहार नगर्ने भनेर माफी समेत माग्नुभयो,’ महतले भने, ‘ पीडित (डाक्टर) ले विषयलाई धेरै नचर्काउने भन्दै सम्झदारीमा आउनुभयो । त्यसपछि सेवा नियमित भएको छ ।’
सामाजिक अभियन्ताका नाममा केही युवाहरूले प्रतिष्ठानका विभिन्न विभागमा पुगी स्वास्थ्यकर्मीलाई गालीगलौज र धम्की दिएपछि वातावरण तनावपूर्ण बनेको थियो ।
स्वास्थ्यकर्मीले सेवा ठप्प पारेपछि बिहान १० बजेदेखि वार्ता सुरु भएको थियो । प्रतिष्ठानका उपकुलपति डा. पुजन रोकाया, रजिष्ट्रार महत, डीन डा. प्रेनित पोखरेल र विवेक पुन मगर लगायतको टोलीले सहजीकरण गरेको थियो ।
प्रतिक्रिया 4