+
+
Shares

सुकुमवासी भन्छन्– दुई दिनमै हामी कहाँ जानु ?

करिब दुई तिहाइ बहुमतनजिकको बलियो प्रधानमन्त्रीको फर्मान सञ्चारमाध्यमबाट सुनेका उनीहरू बिहीबार साँझको माइकिङपछि झस्किएका छन् । यसपटक उनीहरूको मनोबल निकै कमजोर देखिन्छ ।

दीपक अधिकारी कौशल काफ्ले दीपक अधिकारी, कौशल काफ्ले
२०८३ वैशाख १० गते २२:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंको थापाथलीस्थित सुकुमवासी बस्तीमा बिहीबार राति साढे ९ बजे सुरक्षाकर्मीले बस्ती खाली गर्न माइकिङ गरेका थिए।
  • प्रधानमन्त्री बालेनले नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई सुकुमवासी बस्ती शनिबार र आइतबार खाली गराउन निर्देशन दिएका छन्।
  • सुकुमवासी बस्तीका १४३ परिवारले सरकारको यस्तो निर्णयप्रति आक्रोश व्यक्त गरेका छन् र उनीहरूलाई कोठा नपाइने चिन्ता छ।

१० वैशाख, काठमाडौं । समय : बिहीबार राति साढे ९ बजे ।

स्थान : काठमाडौंको थापाथलीस्थित बागमती किनारमा रहेको सुकुमवासी बस्ती ।

सिंगो बस्ती करिब–करिब अँध्यारोले छोपेको छ । एकाध टहरामा उज्यालो देखिन्छ । केही मानिस प्लाष्टिक र जुटका बोरामा सामान प्याकिङ गरिरहेका छन् ।

अलि पर, अर्को एउटा टहराको अघिल्तिर करिब ७ वर्षकी बालिका आगनतिर टोलाएर हेरिरहेकी छन् । उनलाई थाहा छैन, उनले आफ्नो ठानेको त्यो घर (टहरा) केही घण्टापछि उजाडिनेछ । नागरिकको अभिभावक बन्नुपर्ने सरकार डोजर लिएर उनको घरतर्फ हिँड्ने तरखर गर्दैछ ।

सडक वारिपट्टी पिपलको सानो बोटछेउ करिब ७० वर्षीया वृद्धा उसैगरी टोलाएकी छन् । छेउमा दुई पुरुष र एक अर्की महिला कुराकानी गरिरहेका छन् । तर, उनीहरूका कुराले ती वृद्धालाई तानेको छैन ।

केहीबेर उभिएपछि हामीले सोध्यौं– अब कहाँ जानुहुन्छ ? मुजा परेका भावसून्य अनुहारले कुनै जवाफ दिएनन् ।

बुढ्यौलीले गलेको शरीरमा न राज्यविरुद्ध लड्ने तागत छ, न सरकार अभिभावक बन्ने आशा । रातसँगै उनको मनको बेचैनी पनि बढ्दै होला ।

‘कहाँ जानु र ? आफ्नो सर्वस्व यहीँ छ । त्यसमा पनि दुई दिनमा कसले कोठा दिन्छ ?,’ उनीसँगै रहेका एक पुरुषले जवाफ दिए, ‘आफैंले भोट हालेको सरकारले यस्तो गर्ला भन्ने कल्पनासम्म थिएन ।’

उनीहरूसँग कुरा गर्नुअघि हामीले सिंगो बस्तीलाई पैदलै दुई फन्को लगाएका थियौं । हामी पुग्नुअघि बस्ती खाली गर्न भन्दै सुरक्षाकर्मीले माइकिङ गरेका रहेछन् ।

‘अगाडि पुलिस (नेपाल प्रहरी) थिए । बीचमा महानगरका पुसिल (काठमाडौं महानगरपालिकाका प्रहरी) र पछाडि सशस्त्रको गाडी थियो । महानगरको गाडीबाटै माइकिङ गरेर भोलि (शुक्रबार)बेलुकासम्ममा सामान हटाउन र बस्ती खाली गर्न भनेका छन्,’ अर्का पुरुषले भने, ‘उनीहरू भनेर गए, हामी जाने ठाउँ छैन ।’

हामी पुगेको बस्तीमा १४३ परिवार बस्छन् । उनीहरू यसअघि पनि पटकपटक सरकारसँग लडेका छन् । अहिलेका प्रधानमन्त्री बालेन काठमाडौं महानगरपालिकाको मेयर रहेका बेला पनि बस्ती हटाउने प्रयास भएको थियो । तर, बलियो प्रतिकारपछि बालेन पछि हटे ।

उनै बालेन यतिबेला प्रधानमन्त्री छन् । महानगरको प्रमुख हुँदा उनीसँग महानगर प्रहरीको बल मात्र थियो । यसपटक उनीसँग देशको सबै सुरक्षा अंग  परिचालनको अधिकार छ । त्यसैले विगतको आफ्नो अधुरो चाहना पूरा गर्न यसपटक उनले नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई फरमान जारी गरेका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखलाई बोलाएर बुधबार उनले निर्देशन दिएका थिए, ‘शनिबार र आइतबार काठमाडौंका सुकुमवासी बस्ती खाली गराउनू’

करिब दुई तिहाइ बहुमतनजिकको बलियो प्रधानमन्त्रीको फर्मान सञ्चारमाध्यमबाट सुनेका उनीहरू बिहीबार साँझको माइकिङपछि झस्किएका छन् । यसपटक उनीहरूको मनोबल निकै कमजोर देखिन्छ ।

आफैंले भोट हालेको सरकारले आफैंलाई बिल्लीबाट बनाउन लाग्यो भन्ने पश्चातापले पनि उनीहरूलाई चोट पुर्‍याएको रहेछ ।

‘बालेनले त पहिले पनि हामीलाई लखेट्न खोजेकै थिए । तर, रविको अनुहार सम्झिएर घण्टीमा भोट हालियो । झापामा चुनाव लड्न जाँदा बालेनले सुकुमवासीलाई मिठामिठा कुरा गरेका थिए । हामी पनि लोभियौं,’ उनीहरू भन्दै थिए, ‘सुरुमा ६० दिनमा कार्ययोजना ल्याउने र तीन वर्षभित्र सक्कली र नक्कली छुट्याएर व्यवस्थापन गर्ने भनेका थिए । हामी त्यही विश्वासमा थियौं । तर, बालेनले हामी सुमुमवासीलाई प्रतिष्ठाको विषय बनाएका रहेछन् । हातमा सत्ता आएपछि जसरी पनि लखेट्ने निधो गरे ।’

हामी उनीहरूसँग अरु थप कुरा गर्न चाहिरहेका थियौं । जीवनका कयौं अमूल्य वर्ष बिताएको बस्तीबाट जबरजस्त हटाउन सिंगो राज्य प्रयोग हुन लाग्दा उनीहरूको मनमा सरकारप्रति कस्तो धारणा होला ? हामी जान्ने प्रयासमा थियौं । तर, माहोल त्यस्तो देखिएन ।

‘बस्तीका बाँकी मानिस कहाँ छन् ?,’ हाम्रो प्रश्नमा उनीहरूमध्ये एकले जवाफ दिए, ‘अधिकांश स्तब्ध छन् । पीडासँगै आक्रोश छ । वृद्ध आमाबुवालाई कहाँ राख्ने, कलिला बालबच्चाको व्यवस्थापन कसरी गर्ने भन्ने कुराले तनावमा छन् । कोही कोठा पाइन्छ कि भनेर साथीभाइ र चिनेजानेकाहरू गुहार्दैछन् । कोही जे पर्छपर्छ लडौंला भनेर बसेका छन् । तपाईंहरू पनि अलि तलसम्म नजानुहोला, मिडियाले पनि पीडितलाई थप पीडा दिएको छ भनेर रिसाएकाहरू पनि छन् ।’

करिब १० बजेसम्म ती वृद्धा वारिबाट पारितिर रहेको आफ्नो बासतर्फ हेरिरहेकी थिइन् । घरि वर, घरि पर गरिरहेकी उनको मनमा यतिबेला के बितिरहेको होला ? उनले एक शब्द बोलिनन् ।

तर, नबोले पनि मुजा परेको उनको अनुहारबाट पढ्न सकिन्थ्यो– ‘आखिर निमुखाको अभिभावक बनेको सरकार कहिले पो थियो र ?’

लेखक
दीपक अधिकारी

अधिकारी अनलाइनखबर डटकमका डेस्क सम्पादक हुन् ।  

कौशल काफ्ले

काफ्ले अनलाइनखबरमा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?