News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले घर भत्काएपछि सयौँ परिवार थापाथलीस्थित आश्रममा आश्रय लिएका छन् जहाँ भीडभाड र असुविधा छ।
- सुत्केरी महिला सविना नेपालीले बच्चाको दूध नपुग्ने र चिसो भुइँमा सुत्नुपर्ने समस्या सुनाइन्।
- गर्भवती र सुत्केरी महिलाहरूलाई आवश्यक स्वास्थ्य सेवा नपुगेको र आश्रममा बच्चाको उचित हेरचाह नहुँदा समस्या बढेको छ।
१५ वैशाख, काठमाडौं । हलभित्र उकुसमुकुस छ । उखरमालो गर्मीले सास फेर्नै गाह्रो छ । भीडभाडले भरिएको हलमा मानिसहरूको होहल्ला बढिरहेको छ । कोही ओछ्यान मिलाउँदै छन्, कोही चुपचाप टोलाइरहेका छन् ।
यिनै आवाजको बीचमा अचानक सानी नानी चिच्याउँदै रुन थाल्छिन् ।
नजिकै बसेकी उनकी आमा हतारिँदै उठ्छिन् । नानीलाई उठाएर आफ्नो छातीमा च्याप्छिन्, बिस्तारै ढाड सुमसुमाउँछिन् । केही बेर नानीको रुवाइ अझै बढ्छ । करिब १० मिनेटपछि मात्र विस्तारै शान्त हुन्छ ।
‘यहाँ आएदेखि राम्रोसँग खाएकी छैन । जे खुवाएपनि बान्ता मात्रै गर्छे,’ सुत्केरी आमाले भनिन्, ‘सिमेन्टको चिसो भुईंले मेरै शरीर कटकट खाइरहेको छ । खोकी पनि लागिरहेको छ ।
ती आमा हुन् – ३६ वर्षीय सविना नेपाली ।
गैरीगाउँमा बसेको उनको घर सरकारले भत्काएपछि अहिले कीर्तिपुरस्थित राधास्वामी सत्संग ब्यासको हलमा बसिरहेकी छन् । घर गुमेपछि सयौँ परिवारसँगै उनी पनि यहाँ आश्रय लिन आइपुगेकी हुन् ।

सविना सुत्केरी भएको चार महिनामात्रै भएको छ । सानो बच्चा बोकेर भीडभाडको हलमा बस्नु उनको लागि सजिलो छैन । भूईंमा पातलो डस्ना बिछ्याइएको छ । खुल्ला हल भएकाले रातभर लामखुट्टेले टोक्छ ।
‘हिजो र अस्ति राति आँखा झिम्मक पनि गर्न पाइएन,’ छोरीलाई लामखुट्टेले टोकेको रातो डाम देखाउँदै सविनाले बह पोखिन्, ‘अझै यो चिसो भुइँमा कति रात कटाउनुपर्ने हो ।’
आज मात्रै झुल पाएसँगै केही राहत मिलेको छ । तर, बच्चाको हेरचाह भने सजिलो छैन । चार महिनाकी नानीलाई उनी आफ्नै दूध खुवाउन चाहन्छिन् । तर दूध पुग्दैन ।
‘एक महिनादेखि नै मेरो दूधले पुग्न छोडेको थियो,’ उनले गुनासो गरिन्, ‘बजारबाट किनेर ल्याएको सेरेल्याक किनेर खुवाइरहेको छु ।’
गैरीगाँउमा हुँदा लिटो पकाएर खुवाइरहेकी थिइन् । तर यहाँ पकाउने ठाउँ छैन ।
बाहिरबाट गाईबस्तुको दूध ल्याएर खुवाउने सोच पनि उनको मनमा नआएको होइन तर, पैसाको अभाव छ ।
साना बच्चाहरूलाई चिसोले अझ असर गर्छ । सविनालाई त्यही चिन्ताले पिरोलेको छ ।
‘भुइँमै सुत्नुपर्छ । सानो नानी लिएर चिसो भुइँमा सुत्दा आफैं बिरामी परिसकेँ,’ सविनाका आँखा रसाए ।
गौरिगाँउमा हुँदा नानीलाई घाममा तेल लगाउँथिन् । बिहान–बेलुका दाउरा बालेर कोठा न्यानो बनाउने गर्थिन् ।
तर अहिले त्यो सम्भावना छैन । ‘यताउता मानिस छन् । शरीर देखाएर कसरी दूध खुवाउनु,’ सविनाले समस्या पोखिन्, ‘लुगा फेर्ने ठाउँ समेत छैन ।’
गैरीगाउँमा उनको परिवार बस्न थालेको १८ वर्ष भइसक्यो । सविनाको पाँच जना परिवारको छ । उनका दुई छोरा पनि छन् – एक २० वर्षका, अर्को १६ वर्षका । श्रीमान् वनस्थलीतिर काम गर्छन् । घर भत्किएपछि उनीहरू छुट्टाछुट्टै ठाउँमा छन् ।

त्यो घर सजिलै बनेको थिएन । ऋण गरेर बनाइएको थियो ।
‘भर्खरै जस्ता फेरिएको थियो । डेढ–दुई लाख जति खर्च भएको थियो,’ उनी भन्छिन्, ‘मान्छेहरू पैसा माग्न आउँछन् । अहिले तिर्ने अवस्था छैन । काममा जान पनि पाइएको छैन ।’
त्यसैले अहिलेको अवस्था सम्झिँदा उनको आँखामा आँसु भरिन्छ । सरकारप्रति उनको गुनासो पनि छ ।
‘पहिले भोट हाल्यो भने बस्ती उठाउँदैनन् भनेका थिए । अहिले उठाइदिए,’ उनले गुनासो गरिन्, ‘बच्चाको पढाई खुलिसक्यो । कहाँ पढाउने केही ठेगान छैन । अलपत्र परियो ।’
सविनालाई अझै कति दिन बस्नुपर्ने भन्ने कुराले पिरोलिरहेको छ ।
०००
यही हलको एक कुनामा पवित्रा थापा मगर काखमा नौ महिनाकी नातिनी (रोजिना) खेलाइरहेकी छिन् ।
नानी कहिले उनको औँला समात्छिन्, कहिले हाँस्दै मुखतिर हेर्छिन् । भीड र गर्मी बीच उनी भने नातिनीलाई खेलाउँदै बसिरहेकी छन् । मानौँ संसारको सबैभन्दा ठूलो जिम्मेवारी यही सानो काखमा अटाएको छ ।

बच्चा जन्मिएको दुई महिना नबित्दै आमाले छोडिन् । पवित्राका अनुसार छोरा बुहारी नै सुस्त मनस्थितिका छन् । घरमा झगडा भएपछि बुहारी माइत गइन्, केही समयपछि छोरा पनि उतै लागे ।
त्यसपछि सानी नानीको जिम्मेवारी पवित्राको काँधमा आयो । ‘बुहारीले जन्मेको दुई महिनामै छोडेर गइन्,’ उनी भन्छिन्, ‘आमाको दूध खान पाएकी छैन, कमजोर छे, त्यसमाथि यस्तो चिसो भुईंमा सुताउँदा बिरामी नै भइसकी ।’
रोजिना उनको काखमै हुर्किँदैछिन् । आमाको दूध पाउनुपर्ने समयमा उनी लिटो र बजारबाट किनिएको दूधमा हुर्किँदैछिन् । ‘गाईवस्तुको दूध किन्न पैसा छैन । जसोतसो लिटो खुवाएर हुर्काइरहेको छु,’ पवित्राले गुनासो गरिन् ।
उनी थापाथलीमा बस्न थालेको दुई दशकभन्दा बढी भयो । यहीँ उनका छोराछोरी जन्मिए, हुर्किए ।
उनको परिवार सात जनाको छ । अहिले भने परिवार छरपस्ट भएको छ । छोरी र श्रीमान् थापाथलीकै खुल्ला आकासमा रात कटाइरहेका छन् ।
मगर परिवारले थापाथलीमा चार बाख्रा र चार कुकुर पालेका थिए । टहरा भत्किएपछि लैजाने ठाउँ भएन । अहिले छोरी र श्रीमान् त्यही भग्नावशेष बनेको थातथलो कुरेर बसेका छन् ।
‘दिउँसो त्यही वरपर बाख्रा चराउनुहुन्छ । राति बसेकै ठाउँमा बाँधेर राख्नुभएको छ,’ उनले बरबर आँसु झार्दै भनिन्, ‘सानैदेखि पालेको कुकर छोड्न सकिएन । भनेको बेलामा बाख्राले कसले किनिदिन्छ र! सारै बिजोक पो भयो !’
दुःख र कष्ट खेप्दै आश्रममा बस्नुपरेको उनले सुनाइन् । तातो पानी तताउने समेत कुनै भाँडो छैन । घरमा भएका कतिपय समान उतै पुरिए । सँगै ल्याएको कतिपय सामान पनि सग्लो छैन । ‘यहाँ खाट हाल्न दिएका छैनन् । बच्चाहरू बिरामी पर्न थालिसके,’ पवित्राले भकानिँदै भनिन्, ‘चुल्हो छैन । भाँडा छैन । कहिलेकाहीँ अरूसँग तातोपानी मागेर लिटो खुवाइरहेको छु ।’
पवित्राको मनमा चिन्ता छ– कतिदिन चिसो भुइँमा रात कटाउनुपर्ने हो ।
‘हामीलाई कहाँ राख्ने भनेर घर भत्काएका हुन् ? त्यहीँ छिटो पुर्याइदिए हुने नि,’ पवित्राले भनिन्, ‘सरकारले हामीलाई पशुलाई जस्तै व्यवहार गर्यो ।’
त्यसैबीच रोजिना उनको काखमा टाउको राखेर निदाउन खोज्छिन् । हजुरआमा विस्तारै ढाड थमथमाउँछिन् ।
०००
२६ वर्षीया चन्द्रकला विकको ७ महिनाको सानी छोरी छिन, अर्की ५ वर्षकी । मंगलबार दिउँसो उनी आश्रम परिसरमा छोरीलाई खेलाउँदै थिइन् ।
‘भित्र त मान्छेको आवाजले छोरी सुत्नै सकिनँ । गर्मी उस्तै छ,’ विकले गुनासो गरिन्, ‘अस्तिदेखि त छोरी बेला-बेला अत्तालिएर रून्छे ।’

आमा भएर बच्चाको स्याहार गर्नु आफैंमा गाह्रो काम हो । तर अस्थायी आश्रयको भीडभाडमा त्यो झनै कठिन बनेको छ ।
तातो पानी छैन । डाइपर छैन । स्यानिटरी प्याड छैन।
सानी बच्चालाई बारम्बार लुगा फेर्नुपर्छ, सफा गर्नुपर्छ । तर सुविधा नहुँदा उनले धोई–पखाली गरेर चलाउनुपरेको उनले गुनासो गरिन् ।
‘डाइपर पनि किन्ने जाँदा समेत महानगरका कर्मचारीले अनेक सोधीखोजी गर्नुहुन्छ,’ विकले भनिन्, ‘धोएर चलाउनु परेको छ ।’
चन्द्रकला १६ वर्षदेखि काठमाडौंमै बस्दै आएकी हुन्। उनीहरूको पुर्ख्यौली घर ताप्लेजुङमा हो । उनका श्रीमान् ज्यालादारी काम गर्छन् । त्यही कमाइले घर चल्थ्यो । तर घर भत्किएपछि अहिले त्यो काम पनि रोकिएको छ।
‘अहिले त काम पनि बन्द भयो,’ विकले भनिन्, ‘एक हप्ता काम भएन भने घर चलाउनै गाह्रो हुन्छ ।’

आश्रममा बस्नेहरूलाई बिहान चिया–बिस्कुट दिइन्छ । दिउँसो र बेलुका महानगरले ल्याएको पकाएको खाना बाँडिन्छ ।
तर बच्चाहरूका लागि छुट्टै खानपानको व्यवस्था छैन ।
ठूली छोरी थापाथलीमा कक्षा १ मा पढ्दै आएकी थिइन् । अहिले विद्यालय खुलेको छ । तर उनको पढाइ अनिश्चित भएको छ ।
‘अब कहाँ पढाउने, कसरी पढाउने,’ चन्द्रकला भन्छिन्, ‘बस्ने ठाउँ नै टुंगो छैन ।’
आश्रमको हलभित्र सयौं परिवारहरू छन् । कतिपय महिलाहरू गर्भवती छन् । केही सुत्केरी हुने अवस्थामा पनि ।
‘चार दिनदेखि श्रीमतीले पेट दुखिरहेको भनेकी थिई । आज बिहान सहनै नसक्ने भएपछि आमाले थापाथली लैजानु भएको छ,’ प्रवेश परियारले समस्या सुनाए ।
प्रवेशकी श्रीमती (सुस्मिता) ९ महिनाको गर्भवती छिन् । ७ जनाको परिवार छ । स्वास्थ्यजस्तो संवेदनशील विषयमा ध्यान नदिएको उनको गुनासो छ ।
‘सरकारले घर भत्काइदियो । अहिले पशु जस्तै गरी हलमा ल्याएर राखिदिएको छ,’ प्रवेशले गुनासो गरे, ‘गरिबको लागि बोलिदिने पनि कोही भएनन् ।’
प्रतिक्रिया 4