१६ वैशाख, खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका ७७ वर्षीय वृद्ध रामनाथ आचार्य रेबिजविरुद्धको खोप लगाउनका लागि चैत ३० गते जिल्ला अस्पताल दिक्तेल पुगे । तर अस्पतालमा खोप पाएनन् । चैत २९ गते कुकरले टोकेपछि वृद्ध आचार्य लट्ठी टेक्दै ‘एन्टी रेबिज भ्याक्सिन’ लगाउन अस्पताल पुगेका थिए ।
जिल्ला अस्पतालमै ‘एन्टी रेबिज भ्याक्सिन’ नपाएपछि आचार्य हलेसी तुवाचुङ नगरपालिका-५ दुर्छिमस्थित नगर अस्पताल पुगेर एक डोज खोप लगाए । बाँकी दुई डोज खोप दिक्तेलकै क्लिनिकमा किनेर लगाएको आचार्य बताउँछन् ।
यस्तै, दिक्तेलकै ७ वर्षीय बालकले पनि जिल्ला अस्पतालमा ‘एन्टी रेबिज भ्याक्सिन’ पाएनन् । बजारका क्लिनिकबाट भ्याक्सिन किनेर लगाइएको पीडित परिवारको गुनासो छ ।
यी केही उदाहरण हुन् । सरकारले जिल्ला अस्पतालमा ‘एन्टी रेबिज भ्याक्सिन’को व्यवस्थापन गर्न नसक्दा जिल्लाका नागरिक मारमा परिरहेका छन् । कुकुर वा अन्य जनावरले टोकेको अवस्थामा सर्वसाधारण क्लिनिक वा जिल्ला बाहिर गएर उपचार गर्न बाध्य बनेका छन् ।
स्वास्थ्य जस्तो संवेदनशील विषयमा खेलबाड भएको अधिकारकर्मी तारानाथ फुयाँल बताउँछन् । जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अमिताभ ठाकुरका अनुसार प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र कोशी प्रदेश, विराटनगरबाट नियमित ‘एन्टी रेबिज भ्याक्सिन’ नआउँदा समस्या निम्तिएको हो । ‘हामीले भ्याक्सिन माग्ने हो, आपूर्ति व्यवस्थापन केन्द्रले दिने हो,’ ठाकुरले भने, ‘प्रदेशमै भ्याक्सिनको अभाव छ । मागेजति कहिल्यै आउँदैन ।’
विगतका वर्ष पनि जिल्ला अस्पतालमा ‘एन्टी रेबिज भ्याक्सिन’को अभाव हुने गरेको थियो । आपूर्ति व्यवस्थापन केन्द्रमार्फत प्रदेशभरिका जिल्ला अस्पतालहरूमा ‘एन्टी रेबिज भ्याक्सिन’ पठाउने व्यवस्था छ ।
प्राय: संघीय सरकारले प्रदेशमा पठाएको खोप नै जिल्ला–जिल्लामा वितरण हुन्छ । दोस्रो प्रदेश स्वास्थ्य मन्त्रालयले विनियोजन गरेको रकमबाट औषधि व्यवस्थापन गरेर जिल्ला अस्पतालहरूमा पठाइन्छ ।
तर संघीय सरकारले पर्याप्त खोप नपठाएको र प्रदेश स्वास्थ्य मन्त्रालयले खोप व्यवस्थापनका लागि बजेट नछुट्टाएको कारण ‘एन्टी रेबिज भ्याक्सिन’ पठाउन नसकिएको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र कोशी प्रदेश, विराटनगरका निमित्त निर्देशक डा. सुरेश मेहता बताउँछन् । उनका अनुसार यही कारण कोशी प्रदेशका सबै जिल्ला अस्पतालमा ‘एन्टी रेबिज भ्याक्सिन’को अभाव छ ।
‘प्रदेश स्वास्थ्य मन्त्रालयले पैसा दिनुपर्यो वा संघीय सरकारले भ्याक्सिन पठाइदिन पर्यो,’ मेहताले भने, ‘न प्रदेश सरकारले भ्याक्सिन किन्न पैसा छुट्टाइदिएको छ, न संघीय सरकारबाट पर्याप्त मात्रामा भ्याक्सिन आउँछ ।’
प्रतिक्रिया 4