+
+
Shares

संसद्‌मा प्रधानमन्त्री : आफैंले नीति तथा कार्यक्रम दिए, राष्ट्रपतिले पढ्दापढ्दै छोडेर हिंडे

सभामुख अर्याल र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले बाहिरसम्मै निस्किएर राष्ट्रपति पौडेललाई बिदाइ गरेका थिए । तर राष्ट्रपतिलाई हलले उभिएर बिदाइ गरिरहँदा प्रधानमन्त्री बालेनको कुर्सी भने खाली थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २८ गते १८:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रपतिले संसद्मा सरकारको नीति तथा कार्यक्रम पेश गर्दा बीचैमा बैठक छोडेर हिँडेका छन्।
  • राष्ट्रपति पौडेललाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न एक घण्टा १० मिनेट लागेको थियो र सभामुखले सांसदहरूलाई उभिन निर्देशन दिएका थिए।
  • सभामुख र राष्ट्रिय सभाका अध्यक्षले राष्ट्रपतिलाई बिदाइ गरेका थिए तर प्रधानमन्त्रीको कुर्सी खाली थियो र उनले संसद्को दोस्रो अधिवेशनमा अहिलेसम्म बोलेका छैनन्।

२८ वैशाख, काठमाडौं । संघीय संसद्मा सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिले पेश गरिरहँदा प्रधानमन्त्री बालेन्द्र शाहले बीचैमा बैठक छोडेर हिँडेका छन् । आफ्नै नेतृत्वको सरकारको कार्यक्रम राष्ट्रप्रमुखले पेश गर्दा बैठक प्रधानमन्त्री नै बैठक छोडेर हिँडेको नौलो दृश्य सोमबार संसद्‌मा देखियो ।

राष्ट्रपति पौडेललाई एक घण्टा १० मिनेट लागेको थियो । तर त्यो अवधिसम्म प्रधानमन्त्री शाहले कुरेनन् । राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गरिसकेपछि सभामुख डीपी अर्यालले सम्मानका निम्ति सबै सांसदहरूलाई उभिदिन निर्देशन दिएका थिए ।

सभामुखको निर्देशन बमोजिम संयुक्त संसदका सांसदहरूले उभिएर राष्ट्रपति पौडेललाई बिदा गरे । सभामुख अर्याल र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले बाहिरसम्मै निस्किएर राष्ट्रपति पौडेललाई बिदाइ गरेका थिए । तर राष्ट्रपतिलाई हलले उभिएर बिदाइ गरिरहँदा प्रधानमन्त्री बालेनको कुर्सी भने खाली थियो ।

प्रधानमन्त्री शाहले संसद् भित्रका गतिविधिहरूलाई प्राथमिकता दिने गरेका छैनन् । उनी प्रधानमन्त्री भएपछि यो संसद्को दोस्रो अधिवेशन हो । उनले अहिलेसम्म बोलेका छैनन् । अघिल्लो अधिवेशनमा नबोलका उनी आज नयाँ अधिवेशन सुरू हुँदा पहिलो बैठकमा त उपस्थित नै भएनन् । आज दिउँसो २ बजे बसेको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री उपस्थित थिएनन् । उनको तर्फबाट कानुनमन्त्रीले अध्यादेशहरू पेश गरेकी थिइन् ।

दोस्रो बैठकमा राष्ट्रपतिले नीति तथा कार्यक्रम पेश गर्ने कार्यसूची थियो । उनी बैठकमा उपस्थित भएर नीति तथा कार्यक्रमको फाइल चाहिँ राष्ट्रपतिलाई बुझाए । तर अन्त्यसम्म बैठकमा बस्ने धैर्यैता राखेनन् ।

संसद् यतिकै पनि मर्यादित र परम्परा अनुसार चल्ने ठाउँ हो । त्यसैले राष्ट्रप्रमुखलाई विशेष सम्मानका साथ बाहिरबाट संसदको हलसम्म लैजाने र रोस्ट्रमलाई पनि सुसञ्जित बनाइन्छ । विगतकै जस्तो परम्परामा राष्ट्रपतिलाई आज पनि संसद्‌मा लगिएको थियो । गरिमामय दुवै सदनको बैठकमा राष्ट्रपतिले नीति तथा कार्यक्रम पढे । तर, बीचमा प्रधानमन्त्री उठेर हिंडे ।

संसदीय मामिलाका जानकाहरूका अनुसार यस्तो बैठकमा राष्ट्रपतिलाई सुरूमा सभामुख र राष्ट्रिय सभा अध्यक्षले संसदमा स्वागत गर्छन् । तर सरकारको कार्यक्रम पढेर राष्ट्रपति बाहिरिँदा प्रधानमन्त्रीसहितले विदाइ गर्ने चलन हो । यो सबै चलन र परम्परा प्रधानमन्त्रीले बेवास्ता गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?