+
+
Shares

सहकारीको १२ अर्ब अपचलन : परिस्थिति काबु बाहिर पुगेपछि धरानले गुहार्‍यो केन्द्र सरकार

बराह बचत तथा ऋण सहकारी र श्रेया बचत तथा ऋण सहकारीले सर्वसाधारणको अर्बौं रकम डुबाएपछि परिस्थिति आफ्नो नियन्त्रणभन्दा बाहिर पुगेको भन्दै उपमहानगरले संघीय सरकारलाई पत्र लेखेको हो ।

हरि अधिकारी हरि अधिकारी
२०८३ वैशाख २९ गते १९:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • धरानमा सञ्चालित बराह र श्रेया बचत तथा ऋण सहकारीले झन्डै १२ अर्ब रुपैयाँ अपचलन गरेको विषयमा धरान उपमहानगरपालिकाले केन्द्र सरकारको सहयोग मागेको छ।
  • बराह सहकारीले करिब ११ अर्ब र श्रेयाले १ अर्ब रुपैयाँभन्दा बढी रकम अपचलन गरेको र दुवै सहकारी बन्द भई सञ्चालक फरार रहेको उपमहानगरपालिकाले जनाएको छ।
  • धरान उपमहानगरपालिकाले सीमित स्रोतका कारण समस्या समाधान गर्न नसक्दा सहकारीलाई समस्याग्रस्त सूचीमा राखेर केन्द्र सरकारलाई न्याय र कारबाहीका लागि सहयोग गर्न अनुरोध गरेको छ।

२९ वैशाख, विराटनगर । सुनसरीको धरानमा सञ्चालित दुई ठूला सहकारीले गरेको झन्डै साढे १२ अर्ब रुपैयाँ अपचलनको विषय किनारा लगाउन धरान उपमहानगरपालिकाले केन्द्र सरकारको सहयोग मागेको छ ।

बराह बचत तथा ऋण सहकारी र श्रेया बचत तथा ऋण सहकारीले सर्वसाधारणको अर्बौं रकम डुबाएपछि परिस्थिति आफ्नो नियन्त्रणभन्दा बाहिर पुगेको भन्दै उपमहानगरले संघीय सरकारलाई पत्र लेखेको हो ।

धरानका यी दुई सहकारीमध्ये बराहले करिब ११ अर्ब र श्रेयाले १ अर्ब रुपैयाँभन्दा बढी रकम अपचलन गरेका छन् । दुवै सहकारी हाल बन्द छन् भने सञ्चालकहरू फरार छन् ।

धरान उपमहानगरपालिका कार्यक्षेत्र रहेको बराह २०७९ सालमा समस्यामा परेको थियो । बराहलाई २०८२ भदौ २२ गते पालिकाले समस्याग्रस्त घोषणा गर्‍यो ।

६ वर्षदेखि बन्द रहेको श्रेया बचत तथा ऋण सहकारीलाई भने २०८१ सालमा समस्याग्रस्त घोषणा गरिएको थियो । दुवै सहकारीलाई समस्याग्रस्त घोषणा गर्दा नगरपालिकाको प्रमुख हर्क साम्पाङ थिए । समस्याग्रस्त घोषणा गरे पनि समस्या समाधान गर्न उनले चासो दिएनन् ।

केन्द्रीयस्तरमा रहेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले २३ वटा सहकारीलाई समस्याग्रस्त घोषणा गरेको छ । ती सहकारी व्यवस्थापनमा समितिले काम गरिरहेको छ ।

धरान उपमहानगरपालिका कार्यक्षेत्र भएका दुवै सहकारीलाई पालिकाले समस्याग्रस्त घोषणा गरे पनि सीमित स्रोतका कारण पालिकाले सहकारीको समस्या समाधान गर्न सकेन । आफूले काम गर्न नसक्ने भएपछि धरान उपमहानगरपालिकाले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयलाई पत्र लेखेको हो ।

पालिकाले गत मंसिर ११ गते बराह र श्रेयालाई समस्याग्रस्त घोषणा गरी व्यवस्थापनका लागि पत्राचार गरेको थियो । केन्द्रले चासो नदिएपछि वैशाख २३ गते कार्यबाहक मेयर अइन्द्रबिक्रम बेघाले दोस्रो पटक पत्र लेखेका छन् ।

उपमहानगरपालिकाका अनुसार यी सहकारीहरूको समस्या समाधानका लागि स्थानीय स्तरबाट गरिएका प्रयासहरू पर्याप्त नभएको र अहिलेको परिस्थिति नगरपालिकाको क्षमता र काबुभन्दा बाहिर पुगेको बताएको छ । पालिकाले सहकारीलाई समस्याग्रस्त सूचीमा राखेर पीडितलाई न्याय दिन आग्रह गरेको छ ।

‘बराह बचत तथा ऋण सहकारी संस्था र श्रेय बचत तथा ऋण सहकारी संस्थाका पीडितहरूबाट सम्बन्धित मन्त्रालयमा समस्याग्रस्त सूचीमा समावेश गर्न अनुरोध भएकोले उक्त सहकारीहरूलाई नियमन गर्ने सम्बन्धमा उपमहानगरपालिकाको काबु बाहिरको परिस्थितिसमेत रहेकाले मन्त्रालयमा समस्याग्रस्त सूचीमा समावेश गरी पीडितहरूलाई न्याय र पीडकहरूलाई कारबाहीका लागि नियमानुसार आवश्यक सहयोग गरिदिनुहुन अनुरोध छ,’ पत्रमा भनिएको छ ।

बराह सहकारीमा १० अर्ब ७३ करोड ४३ लाख ४७ हजार ९१३ रुपैयाँ अपचलन गरेको दाबीसहित २६२ जनाविरुद्ध जिल्ला अदालतमा दायर मुद्दा विचाराधीन अवस्थामा छ ।

२०७७ सालदेखि समस्यामा रहेको श्रेयामा १ अर्बभन्दा बढी रकम अपचलन भएको छ । श्रेयाका अध्यक्ष लोकबहादुर लिम्बु सहकारी समस्यामा परेपछि भागेर विदेश पुगेका छन् । उनीविरुद्ध जिल्ला अदालत सुनसरीमा दायर भएको मुद्दा मुल्तवीमा राखिएको छ ।

बराह ग्रुपका अध्यक्ष शिवकुमार विश्वकर्मा (लामिछाने)लगायतका प्रतिवादी पनि फरार छन् । विश्वकर्मा भागेर विदेश पुगेको आशंका छ ।

बराह सहकारीका पीडित प्रदीप बास्तोलाका अनुसार उपमहानगरपालिकाले सहकारीलाई संकटग्रस्त घोषणा गर्ने बाहेक अन्य केही गरेको छैन ।

‘२ अर्ब बजेट भएको उपमहानगरपालिकाले १२ अर्ब अपचलनको केस ह्यान्डलिङ गर्न सक्दिनँ भनेको छ,’ उनले भने, ‘सहकारी प्राधिकरणले केन्द्रीयस्तरका सहकारी मात्रै हेरिरहेको छ ।’ बराह र श्रेयाका बचतकर्ता समस्यामा परेको उनले बताए ।

सहकारी विभागकी उपरजिस्ट्रार सुचित्रा राई नगरको कार्यक्षेत्र भित्र रहेका सहकारीलाई प्राधिकरणले हेर्ने बाटो अध्यादेशले खोलिदिएका कारण बराह र श्रेयाको विषय अब केन्द्रीय स्तरबाट हेर्ने बताउँछिन् ।

‘ती सहकारी पालिका मातहतका छन्,’ उनले भनिन्, ‘हिजो केही कानुनी उल्झन थियो । अध्यादेशले सजिलो बनाइदिएको छ ।’

बराह सहकारीले अपचलन गरेको करिब ११ अर्बमध्ये अधिकांश रकम बराह ग्रुप अफ कम्पनी अन्तर्गतका १४ कम्पनीमा लगानी गरेको छ ।

सहकारीको दायित्व १० अर्ब ८९ करोड ९५ लाख २० हजार २३५ रुपैयाँ छ । यो रकममध्ये बराह ज्वेलरीले सहकारीका नाममा संकलन गरेको ९ अर्ब ७१ करोड ८९ लाख ८० हजार ५२० रुपैयाँ संकलन गरेको थियो ।

सहकारीको दायित्व पूरा गर्न सञ्चालकबाट १० अर्ब ७१ करोड ४३ लाख ४७ हजार रुपैयाँ असुल गर्नु पर्नेछ ।

लेखक
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?