+

हामीलाई फरक-फरक खानेकुरा खाने तीव्र इच्छा किन हुन्छ ? जानौं कारण

२०८३ वैशाख  २९ गते १४:१७ २०८३ वैशाख २९ गते १४:१७
हामीलाई फरक-फरक खानेकुरा खाने तीव्र इच्छा किन हुन्छ ? जानौं कारण

News Summary

Generated by OK AI. Editorially reviewed.
  • क्रेभिङ शरीर र दिमागको जटिल अन्तरक्रियाको परिणाम हो र पोषक तत्वको कमी, हर्मोन परिवर्तन, तनाव, निद्राको कमीसँग जोडिएको हुन्छ।
  • गुलियो, पिरो, नुनिलो, चकलेट, चिसो, फ्राई, कफी लगायतका खानेकुराको क्रेभिङ विभिन्न शारीरिक र मानसिक अवस्थासँग सम्बन्धित हुन्छ।

धेरै पटक हामीलाई अचानक कुनै विशेष खानेकुरा खाने तीव्र इच्छा हुन्छ जस्तै चकलेट, चटपटे, कुरकुरे, गुलियो वा नुनिलो आदि । यसलाई हामी क्रेभिङ भन्छौं । यो केवल मनको कुरा होइन, यो शरीर र दिमागको जटिल अन्तरक्रियाको परिणाम हो ।

क्रेभिङ पोषक तत्वको कमी, हर्मोन परिवर्तन, तनाव, निद्राको कमी, रक्त शर्कराको स्तर वा भावनात्मक अवस्थासँग जोडिएको हुन्छ । वैज्ञानिक रूपमा यो ब्रेनको रिवार्ड सिस्टम, डोपामिन, घ्रेलिन र लेप्टिन जस्ता हर्मोनसँग सम्बन्धित छ । कहिलेकाहीँ यो शरीरलाई आवश्यक पोषणको संकेत हो भने कहिलेकाहीँ बानी, विज्ञापन वा भावनात्मक आरामका लागि पनि हुन्छ ।

गुलियो खानेकुरा

शरीर थकित हुँदा वा ब्लड सुगर घट्दा गुलियो खाने तीव्र इच्छा जाग्छ । तनाव, उदासी वा निद्राको कमीले पनि गुलियोप्रतिको क्रेभिङ बढाउँछ किनकि शरीरले तुरुन्तै ऊर्जा चाहन्छ । यसबाहेक हर्मोनल परिवर्तन विशेष गरी महिनावारीअघि प्रोजेस्टेरोन बढ्दा र सेरोटोनिनको कमीले पनि गुलियो खान मन लाग्छ ।

पिरो खानेकुरा

बारम्बार पिरो खाने इच्छा भएमा यो एन्डोर्फिन ह्याप्पी हर्मोनको कमी वा मानसिक थकानको संकेत हुन सक्छ । पिरो खाँदा शरीरमा एक प्रकारको ऊर्जा र उत्साह मिल्छ । तनाव कम गर्न वा बोरिङ महसुस गर्दा पनि पिरो खाने तीब्र इच्छा हुन्छ ।

नुनिलो खानेकुरा

नुनिलो खानेकुराको क्रेभिङ प्रायः शरीरमा सोडियम, पोटासियम जस्ता इलेक्ट्रोलाइट्सको कमीले हुन्छ । लामो समयसम्म पानी कम पिउँदा, व्यायामपछि वा कम ब्लड प्रेसर हुँदा पनि नुनिलो खाने मन लाग्छ । डिहाइड्रेसन नै यसको प्रमुख कारणमध्ये एक हो ।

चकलेटको क्रेभिङ

चकलेटको क्रेभिङ प्रायः म्याग्नेसियमको कमी र कम मूडसँग जोडिएको हुन्छ । चकलेटमा फील–गुड कम्पाउन्डहरू हुन्छन् जसले तनाव घटाउँछ। यो विशेष गरी महिलाहरूमा महिनावारीअघि बढी देखिन्छ । मांसपेशी दुखाइ वा निरन्तर थकान भएमा पनि चकलेट खाने इच्छा हुन सक्छ ।

चिसो खानेकुरा

बर्फ वा आइसक्रिम जस्ता चिसो खानेकुरा खाने तीव्र क्रेभिङ प्रायः आइरहनको कमी अर्थात् एनिमियाको संकेत हो । यसलाई पागोफेजिया पनि भनिन्छ । आइरन कमी हुँदा दिमागमा अक्सिजन कम पुग्छ र चिसो खाँदा केही समयका लागि राहत महसुस हुन्छ । गर्मी मौसम वा तनावमा पनि चिसो खाने मन लाग्न सक्छ ।

फ्राई तथा तेलयुक्त खाना

फ्राई, तेलयुक्त वा जंक फुडको क्रेभिङ स्वादका लागि मात्र होइन, यसले तनावको बेला कम्फर्ट फूडको रूपमा काम गर्छ । यदि आहारमा स्वस्थ चिल्लोहरूको कमी छ भने शरीर यस्ता तेलयुक्त खानेकुरातिर आकर्षित हुन्छ ।

कफी वा क्याफिनयुक्त पेय

लगातार कफी वा क्याफिनयुक्त पेय पिउन मन लाग्नु भनेको शरीर थकित भएको र शरीरलाई निद्रा चाहिने संकेत हो । दिमागलाई सतर्क र एकाग्र बनाउन क्याफिन खोज्ने गर्छ तर यसको अत्यधिक सेवनले अनिद्रा र चिन्ता बढाउन सक्छ ।

अन्य प्रकारको क्रेभिङ

यसबाहेक प्रोटिनको कमी हुँदा मासु वा दाल खाने इच्छा हुन्छ भने गर्भावस्थामा हर्मोनल परिवर्तनले असामान्य क्रेभिङ गराउँछ । आन्द्राको स्वास्थ्य र गट–ब्रेन कनेक्सनले पनि खाने इच्छालाई प्रभाव पार्छ ।

यस्ता समस्या हटाउन के गर्ने ?

क्रेभिङ नियन्त्रण गर्न नियमित सन्तुलित आहार खानु, पर्याप्त पानी पिउनु, राम्रो निद्रा लिनु, व्यायाम गर्नु र तनाव व्यवस्थापन गर्नु महत्वपूर्ण छ । यदि क्रेभिङ बारम्बार र अनियन्त्रित भइरहन्छ भने रगत परीक्षण गरेर आयरन, म्याग्नेसियम, भिटामिन डी जस्ता तत्वहरूको स्तर जाँच गर्नु राम्रो हुन्छ ।

क्रेभिङ सामान्य प्रक्रिया हो तर यसलाई शरीरको संकेतको रूपमा बुझेर स्वस्थ बानीबाट टाढा जानु भने हुँदैन । सन्तुलित जीवनशैली अपनाउँदा धेरैजसो क्रेभिङ आफैं नियन्त्रणमा रहन्छ । स्वास्थ्य समस्या भए डाक्टरसँग परामर्श लिनुपर्छ ।

खाना खानेकुरा
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय