News Summary
Generated by OK AI. Editorially reviewed.- खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौं त्रिपुरेश्वरस्थित बागमती स्वीट्स प्रालिमा लगाइएको शिलबन्दी फुकुवा गरेको छ।
- बागमती स्वीट्सले उत्पादन गरेको तयारी खाजामा किरा भेटिएको उजुरीपछि गत चैतमा उत्पादन र बिक्री रोकिएको थियो।
- शिलबन्दी फुकुवा गर्दा स्वीट्सले खाद्य स्वच्छता सुधार गरेको र विभागले निर्देशन पालना गरेको पाइएको छ।
२९ वैशाख, काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौं त्रिपुरेश्वरस्थित बागमती स्वीट्स प्रालिमा गरिएको शिलबन्दी फुकुवा गरेको छ ।
विभागले पत्र जारी गर्दै उक्त उद्योगमा लगाइएको रोक फुकुवा गरिएको जानकारी दिएको हो ।
बागमती स्वीट्समाथि यसअघि गम्भीर लापरबाहीको आरोप लागेको थियो । गत चैत अन्तिम साता उक्त स्वीट्सले उत्पादन गरेको तयारी खाजाको प्याकेटमा किरा भेटिएको र दुर्गन्ध आएको भन्दै उजुरी परेको थियो ।
त्यसलगत्तै खाद्य निरीक्षकले खाद्य स्वच्छता तथा गुणस्तर ऐन अनुसार तत्कालका लागि उत्पादन र बिक्री-वितरण रोक्न आदेश दिएका थिए ।
तर, कम्पनीले उक्त सरकारी आदेशको ठाडो उल्लंघन गर्दै प्रतिबन्धित मिठाई र खाजा अर्को सरकारी निकाय ‘नेपाल गुणस्तर तथा नापतौल विभाग’ को बैठकमा समेत खुवाएको पाइएको थियो ।
आदेश उल्लंघन र गुणस्तरहीन उत्पादन जारी राखेको भन्दै पुन: उजुरी परेपछि जिल्ला प्रशासन कार्यालय र प्रहरी वृत्त सिंहदरबारको संयुक्त टोलीले अनुगमन गरेको थियो ।
त्यसबेलाको अनुगमनमा टोलीले त्रिभुवन विश्वविद्यालय रजिस्ट्रारको कार्यालयबाट १४ प्याकेट, चाबहिल अस्पतालबाट २५ प्याकेट र डेलिभरीका लागि लैजान लागिएको अवस्थामा ७ प्याकेट गरी जम्मा ४१ प्याकेट गुणस्तरहीन तयारी खाजा बरामद गरेको थियो ।
कानुन विपरीत कार्य गरेको र भविष्यमा पनि गुणस्तरहीन उत्पादन हुन सक्ने जोखिम देखिएपछि विभागले उद्योगको उत्पादन स्थल र कारखानामै शिलबन्दी गरेको थियो ।
शिलबन्दीपछि उद्योगले २१ वैशाखमा ‘अनुमति पाउँ’ भनी दिएको निवेदनका आधारमा विभाग, जिल्ला प्रशासन कार्यालय काठमाडौं र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयको संयुक्त टोलीले अनुगमन गरेको थियो ।
उक्त अनुगमनका क्रममा स्वीट्सले खाद्य स्वच्छताको अवस्थामा सुधार गरेको र विभागले दिएका निर्देशनहरू पालना गरेको पाइएको पत्रमा उल्लेख छ ।
‘विगतको अनुगमनका क्रममा दिइएका निर्देशन पालना गरेको र खाद्य स्वच्छताको अवस्था सन्तोषजनक पाइएकाले खाद्य स्वच्छता तथा गुणस्तर ऐन बमोजिम लगाइएको रोक फुकुवा गरिएको छ,’ विभागले जारी गरेको पत्रमा छ ।
विभागले आगामी दिनमा पनि व्यवसाय सञ्चालन गर्दा खाद्य स्वच्छताका न्यूनतम मापदण्डहरू पूर्णरूपमा पालना गर्न र गुणस्तरीय खाद्य पदार्थमात्र उत्पादन तथा बिक्री–वितरण गर्न सचेत गराएको छ ।
यदि मापदण्ड पालना नगरेको वा ऐन उल्लंघन गरेको पाइए प्रचलित कानुन बमोजिम कडा कारबाही गरिने समेत विभागले चेतावनी दिएको छ ।

प्रतिक्रिया 4