+
+
Shares

बाल क्यान्सरका बिरामी किन ढिलो अस्पताल पुग्छन् ?

बाल रोक्ने मुख्य उपाय भनेको प्रारम्भिक लक्षण चिन्नु र ढिलो नगरी विशेषज्ञ चिकित्सकको सल्लाह लिनु नै हो ।

सुमित्रा लुइटेल सुमित्रा लुइटेल
२०८३ वैशाख ३० गते ११:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालमा बाल क्यान्सरका नयाँ केसहरू वार्षिक लगभग १,५०० देखि १,६०० को हाराहारीमा डाइग्नोसिस भइरहेका छन्।
  • बालबालिकामा सबैभन्दा बढी ब्लड क्यान्सर (ल्यूकेमिया) देखिन्छ, त्यसपछि ब्रेन ट्युमर, लिम्फोमा, हड्डी–मांसपेशीको क्यान्सर आउँछन्।
  • उपचारमा ढिलाइ हुनुको मुख्य कारण सचेतनाको कमी, भौगोलिक विकटता, आर्थिक अवस्था र लिंगीय पूर्वाग्रह रहेको छ।

बालबालिकामा क्यान्सर समयमै पत्ता लागे निको हुने सम्भावना धेरै हुन्छ । तर नेपालमा धेरै बिरामी अस्पताल आइपुग्दा रोग फैलिसकेको अवस्था हुने भएकाले उपचार जटिल बन्ने गरेको विशेषज्ञहरू बताउँछन् ।

बाल क्यान्सर जति छिटो पत्ता लाग्छ, उपचार त्यति नै सफल हुन्छ । तर नेपालमा अझै पनि सचेतनाको अभाव, आर्थिक बोझ, दुर्गम ठाउँ र छोरीप्रतिको पूर्वाग्रहले गर्दा उपचार सुरु गर्न ढिलाइ भइरहेको हुन्छ ।

जसको परिणामस्वरूप धेरै बालबालिकाले समयमै उपचार पाउन सकेका छैनन् । यस्तोमा पछिल्लो समय नेपालमा बाल क्यान्सरको वर्तमान अवस्था कस्तो छ ? बालबालिकामा कुन–कुन प्रकारका क्यान्सर बढी देखिन्छन् ?

यी विषयमा बाल क्यान्सर रोग विशेषज्ञ डा. रितु लामिछानेसँग गरिएको कुराकानीको संपादित अंश:

नेपालमा बाल क्यान्सरको वर्तमान अवस्था कस्तो छ ?

हामीसँग राष्ट्रिय स्तरको डाटा त छैन, सबै हस्पिटल बेस डाटा मात्र छन् । अस्पतालहरूको डाटा हेर्दा वर्षेनी लगभग १,५०० देखि १,६०० को हाराहारीमा नयाँ केसहरू डाइग्नोसिस भइरहेका छन् ।

पछिल्लो समय बालबालिकामा क्यान्सर देखिने क्रम बढ्नुमा मुख्य कारण सचेतना बढेको र डाइग्नोसिस राम्रो हुन थालेको हो । पहिले ‘बच्चालाई पनि क्यान्सर हुन्छ र ?’ भन्ने प्रश्न धेरै आउँथ्यो, अहिले त्यो ग्याप अलिकति कम भएको हामीले देखेका छौं ।

नेपालमा बालबालिकाको क्यान्सरको अवस्था हेर्दा देशभरिका बिरामीहरू, विशेष गरी निम्न आय भएका व्यक्तिहरूका लागि भक्तपुर क्यान्सर अस्पताल मुख्य उपचार केन्द्र बनेको छ ।

बालबालिकामा कुन–कुन प्रकारका क्यान्सर बढी देखिन्छन् ?

बालबालिकामा सबैभन्दा बढी ब्लड क्यान्सर (ल्यूकेमिया) देखिन्छ, त्यसपछि ब्रेन ट्युमर, लिम्फोमा, हड्डी–मांसपेशीको क्यान्सर, किड्नी, कलेजो हुन्छ । टाउकोदेखि खुट्टासम्म लगभग हरेक अंगमा क्यान्सर हुन सक्छ ।

अहिले अभिभावकहरूमा सचेतना बढ्दै गएको छ, तर अझै पनि जागरण, छिटो पहिचान र समयमै उपचारको आवश्यकता छ । नेपालमै राम्रो उपचार सम्भव छ, त्यसैले शंका लागेमा ढिला गनरी अस्पताल गएर चिकित्सकको सल्लाह लिनुपर्छ ।

बालबालिकाको क्यान्सर उपचारमा ढिलाइ किन हुन्छ र यसले के प्रभाव पार्छ ?

बालबालिकाको क्यान्सरमा उपचार ढिलाइ हुनु मुख्य समस्या हो । सबैभन्दा ठूलो कारण सचेतनाको कमी हो । हाम्रो समाजमा अझै पनि बालबालिकालाई क्यान्सर हुन्छ भन्ने थाहा छैन । दोस्रो, भौगोलिक विकटता देशको विभिन्न भागबाट, विशेष गरी काठमाडौँ बाहिरबाट आउने बिरामीहरू ढिला आउँछन् । तेस्रो, आर्थिक अवस्था हो, शंका लागे पनि आर्थिक कारणले उपचारमा आउन ढिलाइ हुन्छ ।

अर्को कारण लिंगीय पूर्वाग्रह हो, छोरी बच्चा भएमा अलिकति कम प्रयास गर्ने गरिन्छ । साथै, क्यान्सरका लक्षणहरू सामान्य बच्चाको रोग ज्वरो, टन्सिल, कमजोरी आदिसँग मिल्ने भएकाले प्रारम्भिक चरणमा चिकित्सकले पनि चिन्न गाह्रो हुन्छ । रेफरल सिस्टम पनि पूर्णरूपमा प्रभावकारी नभएकोले ढिलाइ हुन्छ ।

ढिलो अस्पताल आइपुग्दा क्यान्सर आक्रामक रूपमा शरीरमा फैलिसकेको हुन्छ, जसले गर्दा उपचार जटिल हुन्छ, धेरै उपचार गर्नुपर्ने हुन्छ, साइड इफेक्ट बढ्छ र कहिलेकाहीँ उपचार नै गर्न नसक्ने अवस्था पनि आउँछ । जति छिटो आएमा निको पार्ने सम्भावना त्यति नै राम्रो हुन्छ, तर ढिलो आएमा प्रभावकारी उपचार गर्न गाह्रो पर्छ ।

समग्रमा, ढिलाइले बच्चाको उपचारको सफलता दर घटाउँछ, जटिलता बढाउँछ र कहिलेकाहीँ दुखद परिणाम निम्त्याउँछ । त्यसैले जति छिटो सम्भव छ, वार्निङ साइन देखिएमा नजिकको अस्पताल गएर जाँच गराउनुपर्छ ।

अभिभावकले कस्ता लक्षण देखेमा तुरुन्त डाक्टर कहाँ लैजानुपर्छ ?

यदि बच्चालाई दुई–तीन हप्ता वा त्यसभन्दा बढी समयसम्म ज्वरो आएर सामान्य उपचारले पनि नघटेमा पनि शंका गर्नुपर्छ । रक्तअल्पता देखिएमा, नाक वा गिजाबाट बिनाकारण रक्तस्राव भएमा, शरीरमा बिना ठक्कर नीलो डाम वा रातो दाना देखिएमा, हड्डी वा जोर्नी दुखेमा चिकित्सककहाँ लैजानुपर्छ ।

घाँटी वा शरीरको कुनै भागमा गाठागुठी देखिएमा, पेट फुल्दै गएमा, लामो समय टाउको दुखेमा, बिहान बान्ता भएमा वा हिँड्न गाह्रो भएमा तुरुन्त नजिकको स्वास्थ्य केन्द्र वा चिकित्सककोमा लैजानुपर्छ । यी लक्षण सामान्य रोगसँग मिल्न सक्छन् तर उपचार गर्दागर्दै पनि नघटेमा वा दोहोरिएमा जाँच गर्न ढिलो गर्नुहुँदैन ।

बाल क्यान्सरको उपचार कतिको सफल हुन्छ ?

बालबालिकाको क्यान्सरको सबैभन्दा राम्रो पक्ष भनेको जति छिटो डाइग्नोसिस र उपचार सुरु भयो त्यति नै राम्रो नतिजा आउने हो । नेपालमै धेरै प्रकारका क्यान्सरको राम्रो उपचार सम्भव छ । उदाहरणका लागि एक्युट लिम्फोब्लास्टिक ल्यूकेमियामा किमोथेरापीले ९० प्रतिशतसम्म क्योर रेट छ।

हजकिन्स लिम्फोमामा पनि किमोथेरापीले मात्र ९० देखि १०० प्रतिशत निको पार्न सकिन्छ । विल्म्स ट्युमर जस्ता क्यान्सर पनि समयमै आएमा राम्रो हुन्छन् । ढिलो आएमा भने उपचार जटिल हुन्छ । उपचारपछि धेरै बच्चाहरू पूर्णरूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन् र स्कुल पनि नियमित जान सक्छन् ।

उपचारपछि रोग दोहोरिने खतरा कति हुन्छ ?

कुनै पनि क्यान्सरमा १०० प्रतिशत ग्यारेन्टी हुँदैन । उपचारपछि विशेष गरी पहिलो पाँच वर्षमा रोग दोहोरिने सम्भावना बढी हुन्छ । त्यसैले हामी नियमित फलोअपमा राख्छौं । दोहोरियो भने पनि छिटो पत्ता लगाउन मद्दत गर्छ र उपचार पनि प्रभावकारी हुन्छ ।

साथै किमोथेरापी, रेडिएसन वा सर्जरीबाट हुन सक्ने दीर्घकालीन साइड इफेक्टहरूलाई पनि मोनिटर गर्न सकिन्छ । उपचार सकिएपछि डराएर बस्नु पर्दैन, सामान्य जीवन जिउँदै नियमित फलोअपमा जानुपर्छ ।

बच्चाहरूको उपचारमा अभिभावकको भूमिका के हुन्छ ?

बच्चाहरूमा आश्चर्यजनक रेजिलियन्स देखिन्छ । उनीहरूले किमोथेरापीका जटिलताहरू पनि राम्रोसँग सहन गर्छन् र कहिलेकाहीँ हामीलाई नै प्रेरणा दिन्छन् । किशोर उमेरका बच्चाहरूलाई भने मनोवैज्ञानिक असर अलिकति बढी हुन सक्छ, त्यसका लागि हामी साइकोलोजिस्ट र सोसल वर्करसँग काउन्सिलिङ पनि गर्छौं ।

बच्चाको क्यान्सरमा अभिभावक नै मुख्य केयर गिभर भएकाले उहाँहरूलाई पनि निरन्तर सहयोग र परामर्श दिन्छौं । उहाँहरूले बच्चाको शारीरिक, मानसिक र शैक्षिक विकासमा विशेष ध्यान दिनुपर्छ ।

बाल क्यान्सरको मुख्य कारण के हो, यसबाट बच्न सकिन्छ ?

बालबालिकाको क्यान्सर पूर्णरूपमा रोक्न सकिँदैन । वयस्कहरूमा जस्तो स्क्रिनिङ टेस्ट वा खोपले रोक्ने विकल्प हामीसँग धेरै छैन ।

बालक्यान्सरको मुख्य कारण वंशाणुगत हुन्छ । उदाहरणका लागि रेटिनोब्लास्टोमा (आँखाको क्यान्सर) मा जेनेटिक भूमिका बढी देखिन्छ, जसमा परिवारका अन्य सदस्यको पनि स्क्रिनिङ गर्न सकिन्छ । बाँकी धेरैजसो केसमा स्पष्ट कारण थाहा हुँदैन, जेनेटिक र वातावरणीय कारकको संयोजनले हुन्छ ।

रोक्ने मुख्य उपाय भनेको प्रारम्भिक लक्षण चिन्नु र ढिलो नगरी विशेषज्ञ चिकित्सकको सल्लाह लिनु नै हो ।

संक्षेपमा, बाल क्यान्सर रोक्ने ठोस उपाय सीमित छ, तर सचेतना र छिटो पहिचानले धेरै बच्चाको जीवन बचाउन सकिन्छ ।

लेखक
सुमित्रा लुइटेल

अनलाइनखबरकी संवाददाता लुइटेल स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?