News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जालमार्फत कक्षा १२ को प्रश्नपत्र र उत्तर सार्वजनिक गर्ने दुई जनालाई पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा निराजन शाही र प्रेमकुमार श्रेष्ठ रहेका छन् र उनीहरूलाई चाबहिलबाट पक्राउ गरिएको हो।
- उनीहरूलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत चार दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।
२९ वैशाख, काठमाडौँ । नेपाल प्रहरीको ‘साइबर ब्युरो’को टोलीले सामाजिक सञ्जालमार्फत परीक्षा अगावै प्रश्न पत्रसँगै उत्तरसमेत सार्वजनिक गर्ने कार्यमा संलग्न रहेको अभियोगमा दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–८ घर भई हाल काठमाडौँ महानगरपालिका–३२ सुविधानगर बस्ने ३७ वर्षीय निराजन शाही तथा धादिङ्को नीलकण्ठ नगरपालिका–३ घर भई हाल काठमाडौँ, बूढानीलकण्ठ नगरपालिका–१० कपन बस्ने ३० वर्षीय प्रेमकुमार श्रेष्ठ रहेको साइबर ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए ।
‘राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालन गरिएको कक्षा १२ को प्रश्नपत्र परीक्षा सुरु हुनुभन्दा केही समय अगावै बाहिरिएको सम्बन्धमा आवश्यक अनुसन्धानका लागि राष्ट्रिय परीक्षा बोर्डको पत्र यस ब्युरोमा प्राप्त भई गरिएको प्राविधिक विश्लेषण तथा अनुसन्धानबाट कक्षा १२ व्यवस्थापन मात्र भन्ने ‘वाट्सप ग्रुप’ तथा ‘फेसबुक मेसेन्जर’ लगायतमा विभिन्न ग्रुप निर्माण गरी उत्तरसहित प्रश्नपत्रसमेत बाहिर ल्याई प्रश्नपत्रको गोपनीयता भङ्ग गर्ने कार्यमा संलग्न रहेको अभियोगमा पक्राउ गरिएको हो’ उनले भने ।
उनीहरूलाई काठमाडौँको चाबहिलबाट पक्राउ गरी विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौँबाट चार दिनको म्याद थप गरी आवश्यक अनुसन्धान कार्य भइरहेको प्रवक्ता गिरीले बताए ।
प्रतिक्रिया 4