News Summary
Generated by OK AI. Editorially reviewed.- गुजरात टाइटन्सले आईपीएल २०२६ मा सनराइजर्स हैदराबादलाई ८२ रनले हराउँदै शीर्षस्थानमा उक्लिएको छ।
- गुजरातले दिएको १६९ रनको लक्ष्य हैदराबादले ८६ रनमा अलआउट भएर पूरा गर्न सकेन।
- कगिसो रबाडा र जेसन होल्डरले ३-३ विकेट लिएर गुजरातको जितमा योगदान पुर्याए।
२९ वैशाख, काठमाडौं । गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को शीर्षस्थानमा उक्लिएको छ । मंगलबार भएको खेलमा सनराइजर्स हैदराबादमाथि ८२ रनको शानदार जित निकाल्दै गुजरातले प्लेअफमा स्थान पनि लगभग निश्चित गरेको छ ।
गुजरातले दिएको १६९ रनको लक्ष्य पछ्याएको हैदराबाद ८६ रनमा अलआउट भयो । हैदराबादले कुनैपनि समय खेलमा पकड जमाउन सकेन । कप्तान प्याट कमिन्सले सर्वाधिक १९ रन बनाए । सलिल अरोराले १६, हेनरिक क्लासेनले १४ तथा इशान किशनले ११ रन बनाए ।
गुजरातका लागि कगिसो रबाडा र जेसन होल्डरले ३-३ विकेट लिँदा प्रसिध कृष्णाले २ विकेट लिए भने मोहमम्द सिराज र राशिद खानले १-१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको गुजरातले २० ओभरमा ५ विकेट गुमाएर १६८ रन बनाएको थियो । साइ सुदर्शनले ६१ तथा वासिङ्टन सुन्दरले ५० रन बनाए ।
हैदराबादका लागि प्रफुल हिंगे र साकिब हुसेनले २-२ विकेट लिए भने प्याट कमिन्सले १ विकेट लिए ।
योसँगै लगातार पाँचौं तथा समग्रमा आठौं जित निकालेको गुजरात १२ खेलमा १६ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ भने १२ खेलमा १४ अंक भएको हैदराबाद तेस्रोमा छ ।
प्रतिक्रिया 4