News Summary
Generated by OK AI. Editorially reviewed.- सौगात तामाङले सन् २०२० तिर काठमाडौंमा पहिलो स्ट्रिट आर्ट सुरु गरेर पाँच–छ वर्षमा सयौं भित्ते चित्रहरू बनाएका छन्।
- सौगातले ह्यान्ड ब्रश र एयर ब्रश दुवै प्रयोग गरी छुट्टै शैली विकास गरेका छन् र अहिले १० जनाको टिमको नेतृत्व गर्छन्।
- सौगातले भित्ते चित्रहरू सार्वजनिक सम्पत्ति भएको र समाजमा कला सम्मानको चेतना विकास हुनुपर्ने बताउनुभयो।
घुम्रिएको कपाल, कालो टिसर्ट र बुट । करिब ६ फुट उचाइका २९ वर्षीय बुद्धिमान अर्थात् सौगात तामाङका लागि यी पहिरन आधारभूत बन्दै गइरहेका छन् । तर, यो बाहिरी आवरणले भन्दा बढी कामले नै उनी बढी परिचय छन् ।
त्यस्तो काम जुन उनी आफैंले रोजेको । आफैंले खोजेको । त्यसबाट भाग्दाभाग्दै पनि तानिँदै तानिँदै आउनु परेको ।
सडक । भित्ता । रङ ।
अहिले उनी यिनै तीन कुराहरूको घेरामा छन् । उनको दैनिकी यी कुराहरूसँगै जोडिएको छ । उनी सडकलाई एउटा खुला ग्यालरी मान्छन् । सडकलाई आफ्नो वास्तविक ‘एक्जिबिसन हल’ मान्ने उनी सडकमा कला बनाउँदा सबै सर्वसाधारणले देख्न र मूल्यांकन गर्न पाउने बताउँछन् ।
भलै आज उनी आफ्नो सपनाको दुनियाँमा बाँचिरहेका छन्; कुनै समय यस्तो पनि थियो- कला क्षेत्र छाडेर अर्कै बाटो हिँडेका थिए । त्यसैले त उनी कलामा फेरि तानिँदै तानिँदै आएका हुन् ।
यही भएर उनी कलालाई एउटा चक्रव्यूह मान्छन् । त्यस्तो चक्रव्यूह जसले चरम शान्तिमा पुर्याउँछ । स्वर्गानुभूति दिन्छ । जसले आफू हुन सिकाउँछ ।
000
धादिङको महादेवबेसीमा एउटा सामान्य परिवारमा जन्मिएका थिए उनी । सानैदेखि केही ‘फरक’ गर्ने हुटहुटी थियो । कक्षा ६/७ मा पढिरहेका बेला अरूले किताबका पाना पल्टाउँदा उनी दिमागमा चित्रहरू कोरिरहन्थे ।
बाइकका मोडलहरूको मूर्तिहरू बनाउँथे । अनि, आफूले बनाएका ती चित्र र मूर्तिहरू घरको बार्दलीमा झुन्ड्याउँथे । उनी चाहन्थे गाउँलेले देखेर उनका कलाको प्रशंसा गरुन् ।
त्यसबेला बनाएका मूर्तिहरू अहिलेसम्म पनि जतन गरेर राखेका छन् । कालीमाटीमा रहेको उनको स्टुडियोमा वर्षौ अघिका ती मूर्तिहरू सजाइएका छन् । यसले कलाप्रति उनको लगावको गहिराइ प्रष्ट देखिन्छ ।
एसएलसीपछि उनी दाइ नाता पर्ने पवन तामाङको साथ लागेर काठमाडौं आए । पढ्ने, काम सिक्ने उनको मुख्य लक्ष्य थियो । पवनले उनलाई हस्तकला सम्बन्धी व्यावसाय गर्ने एक जनाकोमा लगेर जिम्मा लगाइदिए ।

त्यहाँ सौगात १० महिना लगातार हस्तकला सम्बन्धीका सीप सिके । वर्षौँ लगाएर सिक्नु पर्ने काममा केही महिनामै निपुणता पाए । काठमाडौंमा टिकिरहन र पढाइ खर्च जुटाउन त्यो काम मात्र पर्याप्त भएन ।
पानीपुरी, चटपटे र मःम पनि बेचे । दुईवटा रेस्टुरेन्टमा लगानी गरे तर सफलता हात लागेन । लगानी डुबेपछि वैदेशिक रोजगारीको बाटो रोज्न बाध्य हुनुपर्यो । उनी साउदी अरब हानिए ।
त्यहाँ एउटा रेस्टुरेन्टमा कुकका काम गर्थे । जीवन औसत चलिरहेको थियो । नियतीले उनलाई फेरि कलातिरै डोहोर्यायो । त्यसका लागि कोरोना महामारी माध्यम बनेर आइदियो ।
महामारीका कारण भएको लकडाउनले उनको काम रोकियो । कामविहीन भएर बस्नुपर्दा कोठामै स्केचहरू बनाउन थाले । युट्युब हेर्दै स्प्रे पेन्टिङ र एयर ब्रसका नयाँनयाँ शैलीहरू सिक्न थाले ।
यसरी साउदीको त्यो कोठा नै उनको नयाँ कलायात्राको पाठशाला बन्यो ।
नयाँ आयाम, नयाँ शैली
नेपाल फर्केपछि क्यानभासभन्दा बाहिर निस्केर स्ट्रिट आर्ट (सडक कला) मा आफ्नो परिचय खोज्न थाले । किनकि त्यसबेला व्यावसायिक रूपमा स्ट्रिट आर्ट त्यति धेरै मौलाइसकेको थिएन । उनले यो कुरामा अवसर देखे । यसो गर्दा अरू भन्दा पृथक हुने उनको रुचि पनि पूरा हुन्थ्यो ।
रोजीरोटी पनि हुने र आफ्नो इच्छाको काममा पनि संलग्न हुन पाइने भएपछि थप दायाँबायाँ सोचेनन् । यसरी सन् २०२० तिर उनी सडकमा आए । उनले जनक घर्ती मगरको घरको भित्तामा पहिलो स्ट्रिट आर्ट गरेका थिए ।

त्यहाँबाट सुरु भएको उनको स्ट्रिट आर्टको यात्रा ५-६ वर्षको छोटो अवधिमा अतुलनीय रूपमा अघि बढेको छ । यस बीचमा उनले सयौं स्ट्रिट आर्ट गरेका छन् । काठमाडौं भित्र । काठमाडौं बाहिर । धेरै ठाउँमा ।
जस्तो, काठमाडौँ महानगरपालिकासँगको सहकार्यमा उनले बागबजार क्षेत्रमा विभिन्न जातजातिका संस्कृति झल्किने म्युराल पेन्टिङहरू बनाए । धापासीको करिब ५० फिट अग्लो भवनमा बनाएको ‘लाके मैचा’को चित्रले त उनलाई धेरैको नजरमा स्थापित गरिदियो । अहिले उनी १० जनाको टिमलाई नेतृत्व गर्छन् । टिममा भएका सबै सौगातजस्तै आफैँ सिकेर कला क्षेत्रमा आएका हुन् ।
अवसर, चुनौति र दर्शन
भित्तामा रङ भर्नु मात्र सौगातका लागि ठूलो कुरो होइन ।
हेर्ने मान्छेले त्यसबाट सौन्दर्यको महसुस गर्नुपर्ने उनको धारण छ। त्यसैले उनका भित्ते चित्रहरू निकै उज्यालो, आकर्षक र रंगिन हुने गर्छन् । दंग पार्ने, सकारात्मक ऊर्जा प्रवाह गर्ने हुन्छन् ।
उनले आफ्नो काममा ह्यान्ड ब्रश र एयर ब्रश दुवैको प्रयोग गरेर छुट्टै ‘टेक्चर’ र शैली विकास गरेका छन् । त्यसले उनको कलालाई अरूभन्दा फरक र ‘आइ-क्याची’ बनाउँछ । यो उनको सिग्नेचर पनि हो ।
तर, अग्ला भवनमा चढ्नु, घामपानी सहनु र कहिलेकाहीँ सार्वजनिक सम्पदामा गरेको कलामा हुने तोडफोड झेल्नु उनका नियमित चुनौती हुन् ।
जस्तो, केही समयअघि पद्मकन्या बहुमुखी क्याम्पसको भित्तामा बनाइएका पोर्ट्रेटहरूमा कसैले केरमेट गरेका थिए । भलै अलिपछि उनी आफैंले त्यसलाई सच्याए ।

‘हाम्रो समाजमा अझै पनि कसैले बनाएको कलालाई सम्मान गर्नुपर्छ भन्ने चेतनाको अभाव छ’ उनी भन्छन् ।
समाजमा कला चेतनाको विकास हुँदै जाँदा यी कुराहरूमा कमी आउने उनको विश्वास छ । किनकि जसरी सडक सार्वजनिक सम्पत्ति हो, त्यसरी नै भित्ते चित्रहरू सार्वजनिक सम्पत्ति भएको उनी बताउँछन् ।
उनी रङलाई सजीव मान्छन् । उनको दृष्टिकोणमा जब रङले निर्जीव भित्तालाई छुन्छ, तब त्यो भित्ताले पनि सास फेर्न थाल्छ र सजीव बन्छ । उनी कुनैपनि चित्र बनाउँदा पूर्णरूपमा त्यसमा डुब्नुपर्ने र भावना साटासाट गर्नुपर्ने कुरामा विश्वास गर्छन् ।
‘कला एउटा स्वतन्त्र अभिव्यक्ति हो । यसले मान्छेमा सकारात्मक ऊर्जा भर्नुपर्छ’ जीवनको मूल मन्त्र सुनाउँदै सौगात भन्छन् ।
स्ट्रिट आर्ट
अहिले सौगात जस्तै स्ट्रिट आर्ट गर्ने धेरै कलाकार आइरहेका छन् । कति रुचिले आइरहेका छन् कति व्यावसायिक उद्देश्यले ।
नेपाली बजारमा टिकिरहन र आफूलाई निखार्न कलाकार बहुआयामिक हुनुपर्ने उनको बुझाइ छ । उनी ग्राफिटीदेखि लिएर परम्परागत, आधुनिक र अमूर्त सबै विधामा दख्खल राख्छन् । यसो हुँदा ग्राहकले चाहेको कला बनाउन सकिने र बजारमा टिकिरहन सकिने उनको भनाइ छ ।
यद्यपि कलालाई पैसासँग मात्र तुलना गर्न नमिल्ने उनी सुनाउँछन् । कलाकार टिकिरहन आर्थिक आम्दानी पनि जरुरी हुने भएकाले यो राम्रो विकल्प भएको उनको भनाइ छ ।

प्रतिक्रिया 4