+
+
Shares

रिफर्म यूकेको उदयले बेलायती राजनीति तरङ्गित

बेलायती राजनीतिमा ‘रिफर्म यूके’ को अप्रत्याशित उदयले आप्रवासी समुदायमाझ चिन्ता थपिदिएको छ । नाइजेल फराज नेतृत्वको रिफर्म यूके तीव्र दक्षिणपन्थी दल हो, जुन आप्रवासीहरूप्रति निकै अनुदार मानिन्छ ।

नवीन पोखरेल नवीन पोखरेल
२०८३ वैशाख ३० गते २०:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बेलायतको सत्तारूढ लेबर पार्टीका चार मन्त्रीले राजीनामा दिएका छन् र ८७ सांसदले प्रधानमन्त्री किअर स्टारमरलाई राजीनामा दिन आग्रह गरेका छन्।
  • गत स्थानीय निर्वाचनमा लेबर पार्टीले ठूलो क्षति बेहोरेको छ र दक्षिणपन्थी रिफर्म यूके पार्टीले अप्रत्याशित सफलता हासिल गरेको छ।
  • प्रधानमन्त्री स्टारमरले पदमा रहिरहने वाचा गरेका छन् र ११२ लेबर सांसदले उनको समर्थन रहेको घोषणा गरेका छन्।

३० वैशाख, लन्डन । बेलायतको राजनीति यतिखेर निकै अस्थिर बनेको छ ।

दुई वर्षअघि भारी बहुमतसहित सत्ता सम्हालेका लेबर नेता सर किअर स्टारमरलाई प्रधानमन्त्रीको पद त्याग गर्न बढ्दो दबाबबीच ४ जना मन्त्रीले राजीनामा दिएका छन् ।

सत्तारूढ पार्टीका ४०३ मध्ये ८७ जना सांसदले तुरुन्तै राजीनामा दिन वा राजीनामाको समयतालिका बनाउन आग्रह गरेका छन् ।

मङ्गलबार मन्त्रीहरू जेस फिलिप्स, मियाट्टा फाह्नबुलेह, एलेक्स डेभिस–जोन्स र जुबिर अहमदले पदबाट राजीनामा दिए ।

फिलिप्सले वर्तमान नेतृत्वअन्तर्गत मन्त्रीको रूपमा सेवा गर्न नसकिने बताएकी छन् । उनले स्टारमरलाई राजीनामा दिन आह्वान गर्दै ‘प्रगतिका अवसरहरू रोकिएको र ढिलाइ भएको’ देखेर आफू थाकेको बताएकी छन् ।

राजा चार्ल्स तृतीयले अर्को संसदीय सत्रको उद्घाटन गर्न र सरकारका योजनाहरूको रूपरेखा प्रस्तुत गर्न सम्बोधन दिनु एक दिनअघि यी राजनीतिक घटनाक्रम विकसित भएका हुन् ।

गत साता (७ मे) मा सम्पन्न इङ्ग्ल्यान्डको स्थानीय तह तथा स्कटल्यान्ड र वेल्सका राष्ट्रिय संसद् निर्वाचनमा सत्तारूढ लेबर पार्टीले ठूलो क्षति बेहोरेपछि पार्टीभित्र निराशा बढेको हो ।

इङ्ग्ल्यान्डका १३६ काउन्सिलका ५ हजार ६६ सिटका लागि भएको चुनावमा आप्रवासनविरोधी ‘रिफर्म यूके’ सबैभन्दा ठूलो विजेता बनेको छ । नाइजेल फराज नेतृत्वको रिफर्म यूकेले १ हजार ४ सय ५३ सिट जित्दा लेबर पार्टी भने १ हजार ४ सय ९६ सिट गुमाउँदै १ हजार ६८ सिटमा सीमित भएको छ । लिबरल डेमोक्रेटिकले ८ सय ४४ सिट जितेको छ ।

कन्जरभेटिभ पार्टीले ५ सय ६३ सिट गुमाउँदै ८ सय १ सिटमा सीमित भएको छ । त्यस्तै, ग्रिन पार्टीले ५ सय ८७ सिट र इन्डिपेन्डेन्स पार्टीले २ सय १२ सिट जितेका छन् ।

वेल्समा पनि लेबर पार्टीले ऐतिहासिक झड्का बेहोरेको छ । २७ वर्षसम्म सत्ता चलाएको लेबर पार्टी पराजित भएको हो ।

प्लाइड क्याम्री ४३ सिटसहित वेल्स संसद्को सबैभन्दा ठूलो पार्टी बनेको छ । रिफर्म यूकेले ३४ सिट जित्दै दोस्रो स्थान हासिल गरेको छ । लेबर पार्टी जम्मा ९ सिटमा खुम्चिएको छ ।

स्कटल्यान्डमा एसएनपीले लगातार पाँचौँ पटक चुनाव जित्दै आफ्नो प्रभुत्व कायम राख्यो । एसएनपीले ५८ सिट जितेको छ भने रिफर्म यूकेले पहिलोपटक उल्लेखनीय सफलता हासिल गर्दै १७ सिट हात पारेको छ ।

यस चुनावी नतिजालाई राजनीतिक विश्लेषकहरूले बेलायतको पुरानो दुईदलीय राजनीतिमा आएको सबैभन्दा ठूलो धक्का मानेका छन् ।

एकातिर लेबर सरकारले अहिले आर्थिक चुनौती, बढ्दो महँगी, बेरोजगारी, हाउजिङ सङ्कट, सार्वजनिक सेवा सुधारमा देखिएको कमजोरी र विवादास्पद नीतिगत निर्णयका साथै गैरकानुनी आप्रवासी नियन्त्रण गर्न असफल भएको आरोप खेपिरहेको छ भने अर्कोतर्फ नाइजेल फराज नेतृत्वको दक्षिणपन्थी दल रिफर्म यूकेको बेलायती राजनीतिमा अप्रत्याशित उदयले लेबर पार्टीभित्र नेतृत्व परिवर्तनको माग चुलिएको छ ।

पार्टीभित्र नेतृत्व परिवर्तनको चर्चा बढिरहँदा स्वास्थ्यमन्त्री वेस स्ट्रिटिङ, ग्रेटर म्यानचेस्टरका मेयर एन्डी बर्नह्याम र एन्जेला रेनरलाई सम्भावित उत्तराधिकारीका रूपमा हेरिएको छ । तर, अहिलेसम्म उनीहरू कसैले खुला चुनौती दिएका छैनन् ।

एन्डी बर्नह्यामलाई लेबर सांसदहरूको बलियो समर्थन छ र सर्वेक्षणहरूले उनी मतदातामाझ सबैभन्दा लोकप्रिय लेबर राजनीतिज्ञ भएको देखाएका छन् । तर, उनी अहिले संसद् सदस्य छैनन् ।

उता, सन् २०२४ मा लेबर पार्टी सत्तामा आएदेखि वेस स्ट्रिटिङ स्वास्थ्यमन्त्री छन् । त्यसअघि तीन वर्षसम्म विपक्षमा रहेर उनले यही पद सम्हालेका थिए । उनी पहिलो पटक २०१५ मा संसद्मा निर्वाचित भएका थिए । उनले राष्ट्रिय विद्यार्थी सङ्घको अध्यक्ष र लन्डन काउन्सिलरको रूपमा काम गरिसकेका छन् ।

मन्त्री वेस स्ट्रिटिङले बुधबार प्रधानमन्त्रीसँग भेट गर्ने बेलायती अखबारहरूले उल्लेख गरेका छन् ।

स्ट्रिटिङलाई प्रमुख नेतृत्वको दाबेदारका रूपमा हेरिए पनि क्याबिनेट मन्त्रीका सहयोगीहरूले उनी स्टारमरसँग लड्न खोजिरहेको भन्ने अड्कलबाजीलाई इन्कार गरेका छन् ।

केही लेबर सांसदले पूर्वनेता तथा वर्तमान ऊर्जामन्त्री एड मिलिब्यान्ड र गृहमन्त्री शबाना महमुदलाई पनि सम्भावित दाबेदारको रूपमा उल्लेख गरेका छन् ।

यद्यपि, महमुदको आप्रवासन नीति परिवर्तनसम्बन्धी प्रस्ताव लेबर सांसदहरूबीच विवादास्पद भएकाले उनले पार्टीका सदस्यहरूबाट समर्थन प्राप्त गर्न सङ्घर्ष गर्नुपर्ने ठानिएको छ ।

राजीनामा नदिने अडानमा प्रधानमन्त्री

राजीनामाको तीव्र दबाबमा रहेका प्रधानमन्त्री स्टारमर तत्काल पदबाट नहट्ने अडानमा छन् ।

प्रधानमन्त्री स्टारमरले मन्त्रिपरिषद्का सदस्यहरूसँगको भेटमा आफू पदमा रहिरहने वाचा गरेका छन् । उनले आफ्नो नेतृत्वविरुद्ध अहिलेसम्म औपचारिक चुनौती खडा नगरिएको पनि प्रस्ट पारेका छन् ।

स्टारमरले चुनावी नतिजाको जिम्मेवारी लिने र जनतासँग गरेको परिवर्तनको प्रतिबद्धता पूरा गर्ने बताएका छन् ।

‘पछिल्ला ४८ घण्टा सरकारका लागि अस्थिर बनेका छन् र यसको वास्तविक आर्थिक असर देश र परिवारहरूमाथि परेको छ’, उनले मन्त्रिपरिषद् बैठकमा भनेका थिए ।

यसैबीच, कुल ११२ लेबर सांसदले औपचारिक रूपमा स्टारमरलाई आफ्नो समर्थन रहने घोषणा गरेका छन् । देशलाई परिवर्तनको बाटोमा अगाडि बढाउन सामूहिक प्रयास र एकीकृत मोर्चा आवश्यक रहेको उनीहरूको भनाइ छ ।

एक पत्रमा हस्ताक्षर गर्दै ती सांसदहरूले यो नेतृत्व प्रतिस्पर्धाको समय नरहेको बताएका छन् । बरु पार्टीलाई मतदाताहरूसँगको विश्वास पुनर्निर्माणमा आफ्नो प्रयास केन्द्रित गर्न आह्वान गरिएको छ ।

उपप्रधानमन्त्री डेभिड ल्यामीले प्रधानमन्त्री स्टारमरलाई आफ्नो पूर्ण समर्थन रहेको बताएका छन् ।

उनले मङ्गलबार डाउनिङ स्ट्रिटबाहिर पत्रकारहरूसँग भनेका छन्, ‘प्रधानमन्त्री दुई वर्षभन्दा कम समयअघि बेलायती जनताबाट पाँच वर्षका लागि जनादेश लिएर निर्वाचित हुनुभएको थियो । उहाँलाई मेरो पूर्ण समर्थन छ र म सहकर्मीहरूलाई पछि हटेर एकछिन सास फेर्न आग्रह गर्दछु ।’

यद्यपि अहिलेको चुनौती बेहोर्न प्रधानमन्त्री स्टारमर सफल भए नै भने पनि पुरै कार्यकाल पूरा गर्न भने उनलाई निकै कठिन हुने विश्लेषकहरूको भनाइ छ ।

‘रिफर्म यूके’ को अप्रत्याशित उदयले आप्रवासीमा चिन्ता

बेलायती राजनीतिमा ‘रिफर्म यूके’ को अप्रत्याशित उदयले आप्रवासी समुदायमाझ चिन्ता थपिदिएको छ । नाइजेल फराज नेतृत्वको रिफर्म यूके तीव्र दक्षिणपन्थी दल हो, जुन आप्रवासीहरूप्रति निकै अनुदार मानिन्छ ।

स्थानीय चुनावदेखि राष्ट्रिय राजनीतिसम्म आफ्नो प्रभाव तीव्र रूपमा बढाइरहेको रिफर्म यूकेले आप्रवासीको सङ्ख्या घटाउने, सीमामा कडा नियन्त्रण कायम गर्ने, गैरकानुनी आप्रवासी रोक्नेलगायत नीति अघि सारेको छ ।

रिफर्म यूकेले साना डुङ्गामार्फत बेलायत पस्ने आप्रवासीमाथि कडा नीति अपनाउनुपर्ने माग गर्दै आएको छ ।

रिफर्म यूकेले अध्यागमनमा कडा नीति प्रस्ताव गरेको छ, जसअन्तर्गत ४ लाखदेखि ६ लाखसम्मका मानिसहरूलाई देशनिकाला गर्ने र विगत पाँच वर्षमा स्वीकृत भएका शरणार्थी दाबीहरू जालसाजी ठहरिएमा खारेज गर्ने लक्ष्य राखिएको छ ।

पीआर (आईएलआर) खारेज गरी ५ वर्षे भिसा लागु गर्ने, सानो डुङ्गामा आउने र अध्यागमन नियम उल्लङ्घन गर्ने व्यक्तिहरूलाई निष्कासन गर्ने उनीहरूको नीति छ । पाँच वर्षमा स्वीकृत सबै शरणार्थी आवेदनहरूको पूर्ण समीक्षा र अवैध रूपमा प्रवेश गरेको पाइएमा उनीहरूको अनुमति खारेज गरी देशनिकाला गर्ने विषय पनि उनीहरूले आफ्नो एजेन्डामा समावेश गरेका छन् ।

अवैध रूपमा आएका विदेशी नागरिकहरूलाई सरकारी भत्ता वा सामाजिक सुरक्षा सुविधाहरूबाट वञ्चित गर्नेलगायतका प्रस्ताव रिफर्म यूकेले अघि सारेको छ । यिनै कारणले अहिले धेरै आप्रवासी समुदायमा डर र चिन्ता बढेको छ ।

बेलायतको सत्तारुढ लेबर पार्टीको शुभेच्छुक संस्था ‘नेपाली फर लेबर’ का अध्यक्ष डा. बच्चुकैलाश कैनीले प्रधानमन्त्रीको नेतृत्वमाथि प्रश्न चिन्ह खडा हुनु अलिकति अस्वाभाविक लागे पनि बेलायती राजनीतिमा नेताको सफलता वा असफलताको मूल्याङ्कन काम, परिणाम र नैतिकताका आधारमा गरिने बताए।

‘यो परिस्थितिलाई केवल एउटा पार्टीको संकटको रूपमा मात्र होइन, बरु बेलायती लोकतन्त्रको बदलिँदो स्वरूपका रूपमा मैले हेरेको छु’ उनले भने। कैनीका अनुसार, लेबर पार्टीको राजनीतिमा जहिले पनि दुई ध्रुव छन् – ‘लेफ्ट’ र ‘सेन्ट्रल लेफ्ट’।

बहुमत ‘लेफ्ट’ खेमाका सदस्यहरुको गुनासो अहिले लेबर पार्टी सर्वसाधारण जनता र श्रमजीवी वर्गको पक्षमा छैन भन्ने छ। यसले देशमा धेरै समस्याहरु जस्तै महंगी, बेरोजगारी जस्ता समस्या हल गर्न सकेको छैन।

प्रधानमन्त्री स्टारमरले आफ्नो नेतृत्व बचाउन केवल ‘कडा नीति’ ल्याएर मात्र पुग्दैन, उनले आप्रवासी र श्रमजीवी वर्गको विश्वास पुनः जित्न सक्नुपर्ने कैनीको भनाइ छ।

लेखक
नवीन पोखरेल

नवीन पोखरेल अनलाइनखबरका लागि बेलायतका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?