News Summary
Generated by OK AI. Editorially reviewed.- प्रवीण दर्जीलाई ब्लड क्यान्सर भएको चार वर्षपछि बोनम्यारो प्रत्यारोपणका लागि ५० लाख रुपैयाँ आवश्यक छ।
- उनी भारतमा उपचार गराए पनि आर्थिक अभावले उपचार अधुरो छोड्नुपर्यो र अहिले नेपालमा उपचार भइरहेको छ।
- टिकटकमार्फत सहयोग संकलन गरिए पनि औषधि र उपचार खर्च जुटाउन नसक्दा प्रवीणको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ।
साँघुरो कोठा । ओछ्यान अघिल्तिर औषधिको थुप्रो । बिलको थुप्रो ।
झ्यालबाट उज्यालोभन्दा बढी निराशा छिरेको छ । यस्तै लाग्छ, जब उनको अनुहारमा दृष्टि पर्छ ।
नाम, प्रवीण दर्जी । उमेर, २८ वर्ष ।
खाने, रमाउने यो कलकलाउँदो उमेरमा उनको सबैकुरा ठिकठाक चलिरहेको थियो । रोजगारी गरिरहेका थिए, घर–परिवार पालिरहेका थिए, घरजामका लागि मेसो मिलाइरहेका थिए, भाइ–बहिनीको बन्दोबस्ती गर्दै थिए ।
त्यहीबेला अचानक उनको जीवन नसोचेको मोडमा पुगिदियो ।
डाक्टरले भने, ‘तपाईंलाई क्यान्सर छ । ब्लड क्यान्सर ।’ त्यसपछि उनको जिन्दगीमा के–के भयो ? के–के गरे ? स्वयम्लाई थाहा छैन ।
थाहा यतिमात्र छ कि, उनको शरीर चल्नका लागि अरूको रगत चाहिन्छ । किनभने उनको शरीरले रगत बनाउन सक्दैन । बोनम्यारोले काम गर्न छाडेको छ ।
डाक्टरले घुमाइफिराई भनेका छन्, ‘रगत पाएन भने, जुनसुकै बेला सास रोकिन सक्छ ।’
यही एउटा कुरा, जसले रातमा उनको सासको तीब्रता बढाइदिन्छ । छातीमाथि ढुंगा राखेसरह हुन्छ । मन उकुसमुकुस हुन्छ ।
त्यसक्षण उनी यस्तो कल्पना गर्छन्, ‘एक दिन यस्तो बिहान आओस्, जहाँ शरीरमा कुनै पीडा नहोस् । जहाँ म बिरामी होइन, सामान्य मानिसझैँ हिँडिरहेको होऊँ ।’

कल्पना गर्न पैसा लाग्दैन । तर त्यो कल्पनासम्म बाँचेर पुग्न, उनी हरेक दिन मृत्युसँग सौदाबाजी गरिरहेका छन् । किनभने उनलाई बाँच्नका लागि अब बोनम्यारो प्रत्यारोपण गर्नुपर्छ । यसका लागि चाहिन्छ, ५० लाख रुपैयाँ ।
जायजेथा नै नभएकाले कहाँबाट जुटाउने यत्रो पैसा ?
थिए परिवारको सहारा
सिन्धुपाल्चोकको एमुना डाँडा, मामाघरमै हुर्किएका प्रवीणको बाल्यकाल सहज थिएन । बुबाका दुईवटा श्रीमती । आमाले कपडा सिलाएर घर चलाउँथिन् ।
भूकम्पपछि परिवार झन् तितरबितर भयो । मानसिक तनाव बढ्यो ।
अभावले लेखेटेपछि उनी काठमाडौं आए, १७ वर्षको उमेरमा ।
काठमाडौं आएर उनले दुःखजिलो गरे । गाडी सिके । तीनकुनेमा डेरा लिए । अनि जसोतसो पैसा जुटाउँदै आफ्नो सपनाको टेको लगाउन थाले । परिवार पाल्ने, भाइबहिनी हुर्काउने सबै-सबै ।
आफू पढ्न नपाएपनि भाइलाई उनले काठमाडौं बोलाए । पढाए । जतन गरेर दुई–चार पैसा बचाए । क्रमश: घर व्यवहार मिल्दै थियो । तर, सोचेजस्तो भएन जीवन ।

जब बोन म्यारो क्यान्सर भएको थाहा पाए
चार वर्षअघि उनलाई डेंगु देखियो । सिभिल अस्पतालमा ७–१० दिन भर्ना भए । डिस्चार्जपछि बीचमा क्षयरोग भयो । औषधि खाइरहेका उनलाई केही महिनापछि समस्या बढ्यो ।
सास फुल्ने, उकालो चढ्न गाह्रो हुने, हिँड्दा चक्कर लाग्ने र छाती दुख्ने । चिकित्सकले उनको केही परीक्षण गर्न लगाए ।
रिपोर्ट हेरेर चिकित्सकले भने– तिमीलाई ब्लड क्यान्सर भएको छ । ७० प्रतिशत ब्लास्ट देखियो ।
‘म हिँडिरहेको थिएँ, काम गरिरहेको थिएँ । एक्कासी क्यान्सर भयो भन्दा पत्यारै लागेन, छाँगाबाट खसेझैं भयो’ प्रवीण सुनाउँछन् ।
अस्पतालमा त्यो बेला उनी र भाइ दिपेश मात्र थिए । दिपेशलाई पनि लाग्थ्यो, रिपोर्ट गलत होला । अन्ततः डाक्टरहरूले कन्भिन्स गरे, ‘रिपोर्ट यही हो, मान्नै पर्छ ।’
त्यसो भनिरहँदा उनले परिवारको अवस्था सम्झिए । जायजेथा केही नभएको व्यक्तिले क्यान्सरसँग कसरी लड्ने ।
तर, विकल्प थिएन । उनले रोगसँग लड्ने निधो गरे । सुरुमा किमोको डर पनि मानेनन् । ‘मैले गुगल पनि हेरिनँ । सहजै स्वीकारेँ । निको भएर मलाई घरको अवस्था ठिक गर्नु छ भन्ने मात्र लाग्यो, ’उनी भन्छन् । तर वास्तविकता क्रूर थियो ।
‘२० लाखमै निको हुन सक्थ्यो, जुटाउन नसक्दा उपचार ढिलो भई ५० लाख लाग्ने भयो’
चिकित्सकले बोन म्यारो ट्रान्सप्लान्ट सिफारिस गरे । खर्च १५ देखि २० लाख ।
‘चिकित्सकले भनेका थिए, निरन्तर उपचार गराइयो भने २० लाखसम्म लाग्छ । नभए समय पनि सकिँदै जान्छ । उपचार जटिल बन्छ । खर्च बढ्दै जान्छ, ’उनी सम्झन्छन्, ‘आर्थिक अभावका कारण हामीले निरन्तरता दिन सकेनौं ।’
रोग छिप्पिँदै गयो । अब प्रत्यारोपणको खर्च ४५ लाख लाग्ने भयो । ‘अब बाँच्ने मिठो सपनामै सिमित होला जस्तो छु’ उनी निराशा पोख्छन् ।
प्रवीणसँग सुरुका दिनमा वर्षौँको मेहनतले जोगाएको दुई–तीन लाख थियो । ‘त्यो रिपोर्ट र औषधिमै सकियो । सरकारले दिने एक लाख सहायता पनि केही परीक्षण गर्दैमा सकियो ।
ऋण खोज्न थाले । तर समाजले ढोका बन्द गर्यो । ‘क्यान्सर लागेको मान्छे मर्यो भने पैसा कसले तिर्छ ?’ प्रवीणको यो वाक्य अझै घोकिन्छ । आफन्तबाट पनि ठोस सहयोग आएन । घरको पृष्ठभूमि कमजोर थियो, दुई परिवार, जग्गा जमिन छैन ।
सरकारी अस्पतालमा लाइनको यातना अर्को थियो ।
बिहान ४ बजे पुग्दा ४०० जनाको लाइन । उसै गलेको शरीर सरकारी अस्पतालमा यता र उता कोठा जानु पर्ने बाध्यता’ यो झन्झटले प्राइभेट ल्याबमा जान बाध्य भए, पैसा छिटो सकियो ।
भारतमा उपचार गर्न पैसा भएन
प्रत्यारोपण गराउने सोचले भारत जाने योजना गरे । यसरी जानका लागि उनलाई साथीभाइ र हाइड्रोको बोसको ढाडस थियो ।
बोसको ठूलो आर्थिक सहयोग र उनको सिफारिसमा चिनेको डाक्टर भेट्न प्रवीण भारत गए । त्यहाँ किमोथेरापीले शरीर गलायो । एक महिनासम्म निरन्तर ज्वरो, इन्फेक्सन भयो । ‘एक दिनमा तीन पिन्ट रगत चाहिन्थ्यो’ उनी सम्झिन्छन् ।
विदेशी ठाउँमा चिनेको कोही थिएन । नेपाली दाताहरूबाट मुस्किले रगत पाए । दिपेशले दाइको हरेक पीडा देखे । किमोको साइड इफेक्ट, रगतको झन्झट, पैसाको चिन्ता ।
‘नेपालमा जस्तो भारतमा बसेका नेपालीले त्यति रगत दिन मान्दैन थिए । मलाई टेन्सन हुन्थ्यो, तर दाइको अगाडि बोल्दिनथेँ’ दिपेश भन्छन्।
पैसा सकिएपछि हार खाएर उपचार अधुरै छोडेर एक वर्षअघि दाजुभाइ नेपाल फर्किए ।
रक्त क्यान्सरको उपचार अलि सस्तोमा निजामती कर्मचारी अस्पताल र अर्को त्रिवि शिक्षण अस्पतालमा हुन्छ । निजामतीमा बेड नपाएपछि । अहिले टिचिङमा उपचार भइरहेको छ ।
‘पैसा भए अस्पताल गइहाल्छौं । नहुँदा एकअर्कोको अनुहारमा हेरेर बस्ने बाहेक विकल्प हुँदैन’ भाइ दिपेश सुनाउँछन्।
टिकटक बन्यो अन्तिम सहारा
दिपेशले टिकटक सुरुमा आफ्नै लागि खोलेका थिए । सामान्य भिडियो हाल्ने, समय बिताउने माध्यम मात्रै थियो त्यो । तर दाइ प्रवीणको उपचारमा भएको सबै पैसा सकिएपछि त्यही टिकटक उनीहरूको अन्तिम आशा बन्यो ।
अस्पतालको बेडबाट खिचिएका भिडियो, रगत चढाइरहेको दृश्य र दाइको संघर्ष उनले सामाजिक सञ्जालमा राख्न थाले ।
विस्तारै मानिसहरूले हेर्न थाले, माया गर्न थाले, थोरै–थोरै सहयोग आउन थाल्यो । अहिले त्यही सहयोगले कोठा भाडा, अस्पताल आउजाउ र दैनिक खर्च धानिएको छ । तर अवस्था फेरि कठिन बन्दै गएको छ ।
औषधि सकिएको छ । दिपेश भन्छन्, ‘अहिले त औषधि किन्ने पैसा पनि छैन, जति सकिन्छ रगत थपेर दाइलाई बचाइरहेका छौँ ।’
हेर्नुहोस भिडियो :
अरूकै रगतको भरमा अडिएको सास
आज प्रवीणको जीवन एउटा नियमित संघर्ष बनेको छ । बोन म्यारोले रगत बनाउन छोडिसकेको छ । त्यसैले, हप्तैपिच्छे रगत चढाउनुपर्छ । रगत कम भयो भने सास फेर्न गाह्रो हुन्छ । छाती दुख्छ । हिँड्दा ढलिएलाजस्तो हुन्छ ।
‘अब मेरो शरीरले काम गर्दैन, ’उनी भन्छन् ।
रगत निःशुल्क दान गरिने भए पनि त्यसको प्रक्रिया, टेस्ट, बेड चार्ज, डे–केयर शुल्क –सबै महँगो छ । हरेक हप्ता हजारौँ रुपैयाँ खर्च हुन्छ ।
र उनीहरूले अहिले लगभग हार खाइसकेका छन् । शरीरमा निलडाम । खुट्टामा संक्रमणले वैशाखी र भाइको सहारामा शौचालय जाने, हिँड्ने गर्छन् । दाहिने खुट्टाको संक्रमण निको हुँदैछ, तर समय लाग्छ ।
‘अस्पताल नजाँदा, खुट्टा अलिकति टेक्न सक्दा, दुखाइ कम हुँदा साह्रै खुसी लाग्छ’ प्रवीण भन्छन्, सानो–सानो कुरामा खुसी खोजिरहेको छु । पैसा भए बच्न सकिन्थ्यो ।’
‘क्यान्सर सर्छ’ भनेर कोठाबाट निकालियो
चार वर्ष उनी तिनकुनेको एक घरमा डेरामा बसेका थिए । टिचिङमा लामो समय आईसीयूमा बसेर फर्किने तरखरमा रहँदा एक महिनाअगाडि घरबेटीको फोन आयो ।
टिकटकबाट भिडियो हेरेर क्यान्सर रहेको थाहा पाए पछि छिमेकी र वरपर कोठामा बस्नेहरू उनीहरू देखि डराए । क्यान्सर सर्छ भनेर उनीहरूलाई त्यहाँ बस्न दिएनन् । उनीहरूले दलित भएकै कारण छुवाछुतको कुरा पनि सुनिरहेका थिए।
‘दलित, गरिब, त्यहीँमाथि रोगी । २१औं शताब्दीमा पनि यस्तो । हाम्रा वरपर सबै पढेलेखेका देखिन्थे ।
तल्लो जात बसेर उनीहरूको छोरी काम्ने, बौलाउने भएको भनेको पनि यदाकदा सुनिरहेका थियौं’ प्रवीण भन्छन्, ‘अहिले रोगले च्यापे पछि त उनीहरूलाई नै सर्छ भनेर बस्न दिइएन अनि हामी निस्कियौं ।’
तल्लो जात बसेर उनीहरूको छोरी काम्ने, बौलाउने भएको भनेको पनि यदाकदा सुनिरहेका थियौं’ प्रवीण भन्छन्, ‘अहिले रोगले च्यापे पछि त उनीहरूलाई नै सर्छ भनेर बस्न दिइएन।’
अहिले काँडाघारीमा ब्लकले बनेको एक साँघुरो टहरोमा बसिरहेका छन् ।
दाइका सहारा दिपेश
उनका भाइ दिपेशले ४ वर्षदेखि दाइको हरेक पीडा बोकेका छन् । पढाइ छुट्यो, रातभर अस्पताल बसे, रगत खोजे ।
भारतमा दाइको कमजोर शरीर देख्दा, टिचिङको एचडीयूमा दाइ बोल्न नसक्दा पनि दिपेश बलियो रहे । टिकटक/फेसबुकबाट भिडियो हाल्न थाले– दाइको कमजोर शरीर, रगत चढाइरहेको दृश्य ।
‘हामीसँग लुकाउने केही बाँकी थिएन’ दिपेश भन्छन् । पहिले मनिटाइज भएको अकाउन्टबाट सहयोग माग्न थाले । केही सहयोग आउन थालेको छ ।

हार मानेका छैनन्
प्रवीणको स्वभाव अचम्मको छ । अनुहारका छाला हड्डीमा टाँसिसकेको छ । ओठमुख सुकेर मुस्किलले बोल्न सक्छन् । बेलाबखतमा संक्रमणले शरीरलाई दुःख दिइरहेको छ । तर उनी हारेका छैनन् ।
‘जत्रै ठूलो समस्या आए पनि यो समस्याले मलाई लान्छ भन्ने लाग्दैन’ उनी भन्छन्, ‘सानैदेखि दुःख गरेको मान्छे जीवनबाट त्यसै हार खान्न ।’
आफ्नो भाग्यमै यही रोग लेखिएको रहेछ भनेर उनले चित्त बुझाइरहेका छन् । ‘कुनै गुनासो छैन जति दिन बाँच्छु, लडेरै बाँच्छु’ प्रवीण भन्छन्, ‘म भगवानलाई किन यस्तो गर्यौं भन्दिन । मैले स्वीकारिसकेँ ।’
तर पनि जीवनप्रति आशा अझै जीवित उनीसँग । निको भए गाडी चलाउने पूरानै काममा फर्किने योजना छ ।
डाक्टरले भनेका कतिपय दाइलाई पनि भन्न नसकेको भाइ दिपेश सुनाउँछन् ।
बोन म्यारो प्रत्यारोपणबिना पूर्ण उपचार अधुरो छ । औषधि सकिएको छ, पैसा छैन । तर, प्रवीण मृत्युको होइन, उपचारको पखाईमा बसेका छन् ।
प्रतिक्रिया 4