३० वैशाख, काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआईएमबी) ले आफ्नो प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धानका लागि नियन्त्रणमा लिएको सन्दर्भमा विभिन्न मिडियामा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
बैंकले बुधबार विज्ञप्ति जारी गरी सीआईबीले सीईओ पाण्डलाई ऋणी स्मार्ट टेलिकम प्रालिको सम्पत्ति लिलाम बिक्री गरेको आरोप तथा लिलाम बिक्री गरिने दूरसञ्चार सेवासँग सम्बन्धित विभिन्न उपकरण लगायत सामग्री जडान भएका घरजग्गा धनीहरूलाई स्मार्ट टेलिकमले बुझाउनुपर्ने बाँकी घर बहाल र विद्युत् महसुल हालसम्म भुक्तान नभएको सम्बन्धमा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको सन्दर्भमा विभिन्न मिडियामा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको हो ।
बैंक तथा वित्तीय संस्था नियमन गर्ने प्रचलित ऐनकानुन, विशेषगरी बंैक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ को दफा ५७ एवं सुरक्षित कारोबार ऐन २०६३ ले दिएको अधिकार तथा यस बैंकको कर्जा असुली निर्देशिकाको पूर्णरूपमा पालना गर्दै निक्षेपकर्ताको निक्षेपबाट प्रवाह भएको कर्जा असुली गर्नुपर्ने कानुनी दायित्व तथा जिम्मेवारी अन्तर्गत रही बैंकले कर्जा असूली प्रक्रिया अनुसार उक्त कारबाही अघि बढाइएको एनआईएमबीले जनाएको छ ।
यस सम्बन्धमा सम्बन्धित निकायबाट माग गरिएका सम्पूर्ण कागजात, विवरण तथा आवश्यक सहयोग अनुसन्धान प्रयोजनका लागि बैंकले समयमा नै उपलब्ध गराउँदै आएको छ र आगामी दिनमा समेत निरन्तर सहयोग गर्ने प्रतिबद्धता एनआईएमबीले व्यक्त गरेको छ ।
एनआईएमबीले ३ असोज २०८२ मा ऋणी स्मार्ट टेलिकमसँग सम्बन्धित विभिन्न उपकरण लगायत सामाग्री लिलामीको सूचना प्रकाशित गरी सोही सूचना बमोजिम लिलाम बिक्री भई प्राप्त भएको कूल ४ अर्ब ६० करोडबाट ४ अर्ब २२ करोड सहवित्तीयकरण कर्जा सुविधा चुक्ता भुक्तान भई सम्बन्धित निकायबाट खाता रोक्का रहेका कारण बाँकी रकम ३८ करोड यस बैंकको ‘अर्नेस्ट मनी अक्सन एकाउन्ट’ मा बाँकी रहेको छ ।
उक्त रकम दूरसञ्चार सेवासँग सम्बन्धित विभिन्न उपकरण लगायत सामग्री जडान भएका घरजग्गा धनीहरूलाई उक्त ऋणीले तिर्न बाँकी बहाल, विद्युत् महसुल लगायत रकम भुक्तानी गर्ने प्रयोजनका लागि रोक्का गरिएको र सोही रकम सम्बन्धित निकायबाट प्रमाण सहित भुक्तानीका लागि अनुरोध आएपछि सोही अनुरूप क्रमिक रूपमा भुक्तानी गरिने एनआईएमबीले जनाएको छ ।
उक्त अनुसन्धान प्रक्रियाका कारण बैंकको दैनिक कार्य सञ्चालन, वित्तीय सुशासन, निक्षेपकर्ताको हित, सेयरधनीको विश्वास तथा ग्राहक सेवामा कुनै नकारात्मक असर नपर्ने विषयमा बैंकले सम्पूर्ण सरोकारवालालाई पूर्णरूपमा विश्वस्त गराएको छ ।
प्रतिक्रिया 4