+
+
Shares
टिप्पणी :

संसद्कै नजिक हुँदा पनि प्रधानमन्त्री बालेन किन टाढा ?

लाखौं युवाहरूको राजनीतिक सपना निमोठिनुअघि, देश फेरि अर्को निराशाको भुमरीमा फस्नुअघि– नागरिकसँग संवाद गर । आफ्ना योजना बताऊ । संसदमा बोल । विधिको सम्मान गर।

सुदर्शन खतिवडा सुदर्शन खतिवडा
२०८३ वैशाख ३० गते २१:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • २०७९ सालको चुनावमा काठमाडौँको मेयर बनेर बालेनले युवामा राजनीतिप्रति चासो जगाउन महत्वपूर्ण योगदान गरे।
  • पूर्वप्रधानमन्त्री प्रचण्डले संसदमा बालेनलाई संख्याको दम्भमा अहंकार नबनाउन र विश्वास र सहकार्यलाई प्राथमिकता दिन सुझाव दिए।
  • प्रधानमन्त्री बालेनले संसदीय मर्यादा र संवादको कमीले युवाहरूमा निराशा बढाएको र लोकतन्त्रमा संवाद आवश्यक भएको छ।

नेपाली राजनीतिले लामो समयदेखि युवा पलायन बढाइरहेको थियो । राजनीति बिग्रँदा देशमा उद्यम न रोजगारीको अवस्था बन्यो । यसले एकातिर रोजगारीको खोजीमा बिदेसिन बाध्य युवाहरूको लाइन लम्बिइरहेको थियो, अर्कोतिर २०४८/५० सालदेखि स्थापित कांग्रेस–कम्युनिस्ट बिम्बप्रतिको चरम वितृष्णाको सगरमाथा बनिरहेको थियो । यसले पार्टीको सदस्यता नलिने र राजनीतिलाई फोहोरी खेल सम्झने मनोविज्ञान हाबी बन्यो। राजनीतिमा नयाँ पुस्ताको प्रवेश मृतप्रायः बन्दै गयो ।

राजनीतिका नर्सरीमा बिरुवा भन्दा झार धेरै हुर्किए । पहिलो पुस्ता इतिहासको ब्याज खाँदै सत्तालिप्सामा चुर्लुम्म डुब्यो । नालायक दोस्रो पुस्ता झर्ला र खाउँला भन्दै पहिलो पुस्ताको आरती उतारिरह्यो ।

प्रश्न मरे, विद्रोही चेतना ओइलाए । तेस्रो पुस्ता पनि नालायक दोस्रो पुस्ताको पिछलग्गु बनिरह्यो ।

यही पृष्ठभूमिमा थियो जेनजीले विद्रोहको नेतृत्व गर्नु परेको । र, यहीँनेर अवसरको लंगुरबुर्जाको खाल थापे नयाँ पार्टीका नेताहरुले । त्यही खालमा दाउ पार्ने भाग्यमानी बने बालेन ।

त्यसो त, बालेनले पृष्ठभूमिमा केही न केही काम र तयारी गरिरहेका थिए । २०७९ सालको चुनावमा काठमाडौँको मेयरका रूपमा उनको उदयले एउटा अभूतपूर्व लहर ल्यायो। ‘मलाई राजनीतिप्रति चासो छैन (आई हेट पोलिटिक्स) भन्ने युवाहरू पनि राजनीतिबारे गहिरो चासो राख्न र प्रश्न गर्न थाले। समग्र नेपाली राजनीतिलाई अगाडि लैजान र युवाहरूलाई व्यवस्थाप्रति आशावादी बनाउन यो सानो योगदान थिएन।

खासगरी भदौयता विश्वभरिकै मिडियामा नेपालको राजनीतिको जुन चर्चा भयो, त्यसले अर्को एउटा आयाम थप्यो। परम्परागत बाटोभन्दा बिल्कुलै फरक पृष्ठभूमिबाट आएका व्यक्ति पनि सिधै सत्ताको नेतृत्वमा पुग्न सक्छन् भन्ने सन्देश विश्वभर सम्प्रेषण भयो।

यसले नेपालको सीमा बाहिर पनि प्रभाव पारेको थियो । खासगरी भदौयता विश्वभरिकै मिडियामा नेपालको राजनीतिको धेरै प्रचारप्रसार भयो, समाचारहरू लेखिए। त्यसको मुख्य अपेक्षा थियो- ‘गैरपरम्परागत बाटोबाट आएका व्यक्ति पनि मेयर वा प्रधानमन्त्री बन्न सक्छन्’ भन्ने सन्देश सम्प्रेषण गर्नु ।

डोनाल्ड ट्रम्प, सी जिनपिङ, नरेन्द्र मोदी, भ्लादिमिर पुटिनजस्ता ‘स्ट्रङम्यान’ हरूको युगमा यो एउटा बिल्कुलै फरक प्रकृतिको लोकतान्त्रिक बदलाव थियो। यसबाट बालेनले आफूलाई एउटा सामान्य प्रधानमन्त्री मात्र होइन, युग परिवर्तनको नेताका रूपमा अगाडि बढाउने अवसर पाएका थिए/छन् ।

तर, सत्ताको बागडोर सम्हालेपछिका बालेनका गतिविधिहरू हेर्दा लाग्छ, उनी युग परिवर्तनको नेता होइन, संख्याको दम्भले ग्रस्त शासक बन्ने बाटोमा छन्।

मंगलबार संसद्‌मै उभिएर पूर्वप्रधानमन्त्री प्रचण्डले विगतका आफ्ना त्रुटि स्वीकार्दै दिएको सुझाव यहाँनेर निकै मननीय छ। उनले भने, ‘हार सहन जति गाह्रो हुन्छ, जित पचाउन त्योभन्दा गाह्रो हुन्छ। संख्याको दम्भमा अहंकारको मलखाद नबनाउनुस्, हामीबाटै सिक्नुस्।’

प्रचण्डले २०६४ सालको स्मरण गराउँदै अभिभावकीय शैलीमा भने, ‘२०६४ सालमा तपाईंहरूजस्तै धेरै मत ल्याएर भाँडोमा न भुइँमा भएको नेता म हुँ। आफ्नै कमजोरीका कारण जनताको विश्वास बचाउन सकिएन।’

उनले जोडै दिएर थपे, ‘संख्या स्थायी हुँदैन। जनताको समर्थन पनि ससर्त हुन्छ, भनेजस्तो भएन भने भोलिपल्टै सकिन्छ। यहाँ निषेध, अपमान र प्रतिशोध होइन, विश्वास र सहकार्यले प्राथमिकता पाउनुपर्छ।’

मर्यादाको धज्जी

सूचनाको बाढी र अल्गोरिद्‌मको हाउगुजीमा निसास्सिइरहँदा ब्युङ-चुल हानको ‘द डिसअपीअरेन्स अफ रिचुअल्स: ए टोपोलोजी अफ द प्रेजेन्ट’ पुस्तकको याद आयो । पुस्तकले परम्परा र मूल्य-मान्यताहरूलाई पूर्ण रूपमा त्याग्नु भनेको कसरी समाजको जग कमजोर बनाउनु हो भनेर निकै गहन ढंगले व्याख्या गरेको छ ।

अन्धविश्वासलाई हटाउनु पर्छ, तर समाजलाई जोड्ने, जीवनलाई अर्थ दिने र हामीलाई मानवीय बनाउने अनुष्ठान र मूल्यहरूलाई जोगाउनु आजको डिजिटल र पुँजीवादी युगमा झनै आवश्यक छ भनेर लेखकले जोड दिएका छन् ।

धर्मकर्मदेखि तन्त्र-मन्त्रसम्म रुचि राख्ने प्रधानमन्त्री शाहले संसदीय मूल्य-मान्यता र परम्पराविरुद्ध किन क्रियाकलाप बढाइरहेका छन् ? बुझ्न गाह्रो भइरहेको छ ।

लोकतन्त्रको सर्वाधिक परीक्षा चुनाव जित्नु होइन, आलोचना सहेर पनि लोकतान्त्रिक रहन सक्नु हो।

निकट विगतको कुरा हो । नयाँ पुस्ताले चर्को आलोचना गर्दै सत्ताबाट विस्थापन गरेका तत्कालीन प्रधानमन्त्री केपी ओलीले समेत कर्टेसी (शिष्टता) र प्रोटोकल कहिल्यै तोडेनन्। अध्यादेश पठाउनुअघि राष्ट्रपतिसँग आफ्ना मर्का र उद्देश्य बुझाउन उनी संवाद गर्ने गर्थे।

तर, आज बालेन न विधि मानिरहेका छन्, न परम्परा र संसदीय मर्यादा। न्यायाधीश नियुक्तिमा वरिष्ठता र विधि मिचिसकिएको छ। यसबीचमा राष्ट्रपतिसँग संवाद गरेका छैनन् । अझ विडम्बना त, आफ्नै सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिले पढिरहँदा संसद्‌बाट ‘वाकओभर’ गरेर प्रधानमन्त्रीले संसदीय मर्यादाको धज्जी उडाएका छन्।

संसद्‌को रोस्ट्रमबाट जनतासँग संवाद गर्ने अमूल्य अवसर उनी आफैँ गुमाइरहेका छन्। मर्यादा र शिष्टाचारका लक्ष्मणरेखाहरू यसरी नै नाघ्दै जाने हो भने त्यसले जन्माउने भनेको अराजकता नै हो।

अराजकता दुई धारे तरबार हो । सडकमा तत्कालीन सत्ताधारीहरूले मच्चाएको अराजकताले बालेनलाई सरकारमा पुर्‍यायो । के त्यो अराजकता संसद्‌भित्रै छिराउन खोजिएको हो ? संसदमा हुर्काउन खोजेको अराजकताबाट उनी कहाँ पुग्न खोजेका होलान् ?

प्रधानमन्त्री शाहको यस्तो कार्यशैली र रबैयाको सबैभन्दा ठूलो र नकारात्मक असर उनलाई आदर्श मानेर भोलि राजनीतिमा आउन चाहने लाखौँ युवाहरूमाथि परिरहेको छ।

हिजोसम्म युवाहरूको क्षमतामाथि प्रश्न उठाउने समाजको त्यही परम्परागत तप्कालाई अहिले बालेनका गतिविधिले बल पुर्‍याइरहेका छन्। भोलि वडा सदस्य वा अध्यक्ष उठ्छु भनेर तयारी गरिरहेका युवाहरूलाई समाजले औँला ठड्याउँदै भन्ने अवस्था सिर्जना भएको छ, ‘देखिस् तेरो युवाको ताल ! भोलि सत्तामा पुगेपछि त्यस्तै गर्ने त हो नि।’

राजनीतिमा नेतृत्व लिन चाहने युवाहरूले समाजमा सम्मान प्राप्त गर्न सक्ने गतिविधि प्रधानमन्त्रीबाट हुनुपर्थ्यो। व्यक्तिगत रूपमा आफ्ना इगो र ‘स्वाग’ छाड्न कठिन होला, तर देशको कार्यकारी प्रमुख भएपछि त्यो तहको त्याग गर्नैपर्ने हुन्छ।

कतै लाग्ला, हिजोकाले बोलेर बिगारे, म काम गरेर सच्याउँछु । ठूला-ठूला निर्णय भइरहेका पनि छन् । तर नागरिकसँग संवाद छैन । महत्वपूर्ण निर्णयहरू गरेपछि त्यसबारे नागरिकलाई बताउनुपर्ने, बुझाउनुपर्ने हो ।

संसद भवन र प्रधानमन्त्री कार्यालयको दूरी निकै नजिक छ तर भावनात्मक दूरी बढिरहेको छ । यस्तो शैलीबाट अवाक रवि लामिछाने समूहका लागि त बालेनको तरिका गज्जब भइरहेको होला । रविलाई धैर्य गर्न हिरासतका अँध्यारा, चिसा र साँघुरा कोठाहरुले सिकाइसकेका छन् । लाग्ला- बालेन यसरी नै एक्स्पोज हुँदै जाऊन् ।

डिजिटल दुनियाँमा चाहने हो भने सरकारले नागरिकसँग रियल-टाइममा संवाद गर्न सक्छ । तर संवाद ठप्प छ । आशंका र दूरि बढिरहेकै छ ।

अहिले बालेनले देखाइरहेको यो हेपाइ नीति, विधि वा कुनै व्यक्ति/संस्था (राष्ट्रपति/सांसद/संसद) लाई मात्र होइन। यो सीधा अर्थमा जनता र लोकतन्त्रलाई हेपेको सन्देश हो।

ब्राजिलियन दार्शनिक पाउलो फ्रेइरेले भनेका छन्- जबसम्म शिक्षाले मानिसलाई वैचारिक रूपमा मुक्त गर्दैन, तबसम्म शोषित वर्गको एउटै मात्र सपना हुन्छ- आफैँ शोषक बन्ने।’

जुन प्रवृत्तिको विरुद्ध संघर्ष गरेको आएको शक्ति हो, त्यही प्रवृत्तिको संरक्षक बन्ने रहर हो कि कहर हो ? संसदीय दल, दल र प्रणाली निरीह बन्ने र व्यक्ति सर्वेसर्वा हुने खराब उदाहरण किन बन्न खोजेको ? नागरिकले कसरी थाहा पाउने ? संवाद/संचारप्रतिको यस्तो अरुचि घातक हुन्छ ।

भन्ने गरिन्छ- सत्ताले मानिसलाई बदल्ने मात्र होइन, उसको वास्तविक चरित्र पनि देखाउँछ ।

बालेनलाई सामाजिक सञ्जालमा नयाँ पुस्ताले प्रश्न सोध्न थालेका छन्- सडकमा हुँदा सत्ताको विरोध गरेको कि आफू सत्तामा नभएको कुराको विरोध गरेको ?

नयाँ पुस्तालाई धेरै कुरा थाहा छ । बेलायती उपनिवेशविरुद्ध लड्ने हँदा जिम्बाबेका गान्धी उपनाम पाएका रबर्ट मुगाबेको छवि सत्तामा पुगेपछि कसरी बदलियो ? सडकमा स्वतन्त्रता र प्रश्न गर्ने अधिकारको वकालत गरेका उनले ३७ वर्षसम्म तानाशाह बनेर प्रश्न गर्ने हजारौं नागरिकलाई कसरी मारे ?

सडकमा प्रश्न गर्नु र सत्तामा बसेर प्रश्नको सामना गर्नु बिल्कुल फरक कुरा हुन्। सडकमा हुँदा प्रश्न गर्नु आदर्श हो, तर कुर्सीमा बसेपछि प्रश्न सुन्नु जिम्मेवारी हो।

बालेनहरूले पाएको मत एक्सनको लागि मात्र होइन, त्योभन्दा बढी इन्टर-एक्सन अर्थात् संवाद र सञ्चारका लागि हो । लोकतन्त्रमा सरकारले के गरिरहेको छ भन्दा पनि ‘किन गरिरहेको छ’ भन्ने बुझ्न युवा पुस्ता आतुर छ।

दलतन्त्रको सिन्डिकेट भत्काउन दिएको मत राज्यका संस्थाहरू भत्काउन प्रयोग हुँदा मतदाता दुःखी हुन थालेका छन् । देशमा सीमान्तकृत वर्गको रुवावासीले पनि नयाँ पुस्तासँग दूरी बढाइरहेको छ ।

सामाजिक सञ्जालका प्रतिक्रियाहरू हेर्दा उनीहरूमा एकप्रकारको फ्रस्टेसन देखिन्छ बालेनसँग, सरकारसँग । अत्यधिक आशाले दिने अन्ततः यस्तै निराशा हो ।

नयाँ पुस्ताको राजनीतिमा करुणा अर्थात् समानुभूति प्राथमिक सर्त हुनुपर्ने रहेछ। गरिबी हटाउने नाममा गरिबमाथि नै प्रहार गर्ने, तर त्यसको विकल्प नदिने अनि त्यसबारे एक शब्द नबोल्ने प्रवृत्तिले युवाहरूमाझ बालेनको ‘हिरोइज्म’ माथि प्रश्न उठ्न थालेको हो । मौनतन्त्र बिस्तारै मनपरीतन्त्रमा बदलिने संकेतहरूले पनि उनीहरू बेचैन देखिन थालेका छन् ।

लाखौं युवाहरूको राजनीतिक सपना निमोठिनुअघि, देश फेरि अर्को निराशाको भुमरीमा फस्नुअघि– नागरिकसँग संवाद गर । आफ्ना योजना बताऊ । संसदमा बोल । विधिको सम्मान गर।

युवालाई निराश नबनाऊ, बोल बालेन !

लेखक
सुदर्शन खतिवडा

खतिवडा अनलाइनखबर डट कमका एसोसिएट एडिटर हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?