News Summary
Generated by OK AI. Editorially reviewed.- पेरिस सेन्ट जर्मेनले लगातार पाँचौं र समग्रमा १४औं फ्रेन्च लिग वान उपाधि जितेको छ ।
- पीएसजीले लेन्सलाई २-० ले पराजित गर्दै सिजनको लिग उपाधि पक्का गरेको हो ।
- पीएसजीले मे ३० मा युइएफए च्याम्पियन्स लिग फाइनलमा आर्सनलसँग खेल्नेछ ।
काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले लगातार पाँचौ पटक र समग्रमा १४औं फ्रेन्च लिग वानको उपाधि जितेको छ ।
लिग अन्तर्गत गएराती भएको खेलमा लेन्सलाई २-० ले पराजित गर्दै पीएसजीले उक्त खेल अगावै यस सिजनको लिग उपाधि पक्का गरेको हो ।
लेन्सको मैदानमा भएको खेलमा पीएसजीका लागि कभिचा कभारात्खेलियाले २९औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए भने इब्राहिम एमबायेले दोस्रो हाफको इन्जुरी टाइममा दोस्रो गोल गरेका थिए ।

पीएसजीका म्यानेजर लुइस एनरिकेले यो उपाधि सबैभन्दा मिठो र कठिन भएको भएका छन् । ‘यो हाम्रो सबैभन्दा मिठो र सबैभन्दा कठिन उपाधि हो । नि:सन्देह, पछिल्ला तीन वर्षमध्ये यो जित्न सबैभन्दा गाह्रो थियो ।’
एनरिकेले त्यसको एक कारण लेन्सले उत्कृष्ट प्रदर्शन गर्नु रहेको पनि बताए ।
यस्तै एनरिकेले पीएसजीको खेल जित्ने तरिका र लगातार जितको शृंखला लगायत सिजनको महत्वपूर्णहरु क्षणहरु सम्झिएको पनि बताए ।
पीएसजीले सबैभन्दा धेरै १४ पटक फ्रेन्च लिग वान उपाधि जितेको छ । सेन्ट एटिएनले १० पटक उपाधि जितेको छ ।
पछिल्ला १४ सिजनमध्ये पीएसजी १२ पटक च्याम्पियन बनेको छ । सन् २०१२-१३ को सिजन आफ्नो तेस्रो लिग उपाधि जितेको पीएसजीले त्यसयता २०१६-१७ र २०२०-२१ को सिजन मात्र लिग जित्न असफल भएको थियो ।
पीएसजीले अब आइतबार लिगको अन्तिम खेलमा शहरी प्रतिद्वन्द्वी पेरिस एफसीसँग खेल्नेछ ।
यस्तै पीएसजीले मे ३० मा युइएफए च्याम्पियन्स लिगको फाइनलमा इंग्लिस क्लब आर्सनलसँग खेल्नेछ । जहाँ पीएसजी उपाधि रक्षा गर्ने अभियानमा हुनेछ भने २० वर्षपछि च्याम्पियन्स लिगको फाइनल पुगेको आर्सनल पहिलो पटक च्याम्पियन बन्ने लक्ष्यमा हुनेछ ।
प्रतिक्रिया 4