३१ वैशाख, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमणकै बीच बेइजिङले १५ महिनापछि अमेरिकी मासु आयातलाई पुनः स्वीकृति दिएको छ। चीनले सयौँ अमेरिकी मासु प्रशोधन कम्पनीहरूलाई पुनः निर्यात लाइसेन्स जारी गरेको छ।
यो निर्णय ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङको बैठकअघि नै आएको हो। सन् २०२० मा चीनले ३०० भन्दा बढी अमेरिकी कम्पनीहरूलाई मासु निर्यातको अनुमति दिएको थियो, तर मार्च २०२५ मा उनीहरूको स्वीकृति नवीकरण गरिएको थिएन।
यसलाई ट्रम्प प्रशासनको सुरुवाती भन्सार महसुलको जवाफको रूपमा हेरिएको थियो।
रिपोर्टहरूका अनुसार नयाँ लाइसेन्सहरू सन् २०२९ सम्मका लागि फरक-फरक अवधिका लागि दिइएका छन्। यद्यपि यसले ठूलो परिमाणमा खरिद हुने ग्यारेन्टी भने दिँदैन, किनभने चीनले आयातका लागि कोटा प्रणाली अपनाउने गर्छ।
यस वर्ष अमेरिकाका लागि मासु आयात कोटा १.६४ लाख मेट्रिक टन तोकिएको छ, जबकि ब्राजिलका लागि ११ लाख मेट्रिक टन तय गरिएको छ।
ह्वाइट हाउसका एक अधिकारीले रोयटर्सलाई बताएअनुसार, सी र ट्रम्पबीच चीनमा अमेरिकी व्यवसायहरूको बजार पहुँच विस्तार गर्ने र अमेरिकामा चिनियाँ लगानी बढाउने, साथै अमेरिकी कृषि उत्पादनहरूको खरिद वृद्धि गर्ने विषयमा छलफल भएको छ।
चाइना साउथ मर्निङ पोस्टका अनुसार, चीनमा अवतरण गर्नुअघि ट्रम्पले सामाजिक सञ्जालमा लेख्दै आफूले सीलाई चीन खुला गर्न आग्रह गर्ने बताएका थिए।
आफूसँगै आएका शीर्ष अमेरिकी व्यापारिक अधिकारीहरूको समूहलाई लक्षित गर्दै उनले भनेका थिए, ‘ताकि यी प्रतिभाशाली मानिसहरूले आफ्नो जादु देखाउन सकून् र चीनलाई अझ उच्च स्तरमा पुर्याउन सकून्।‘
प्रतिक्रिया 4