News Summary
Generated by OK AI. Editorially reviewed.- खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौं तारकेश्वरका उपभोक्तामा माउन्टेन ड्यु पिउनासाथ बान्ता हुने घटनापछि बरुण बेभरेज (नेपाल) प्रालिमा अनुगमन सुरु गरेको छ।
- विभागले ब्याच नम्बर १६८, उत्पादन मिति ०३/०४/२६ को माउन्टेन ड्युमा समस्या देखिएपछि नमुना संकलन गरी प्रयोगशालामा परीक्षणका लागि पठाएको छ।
- बरुण बेभरेजलाई उक्त ब्याचको कच्चापदार्थ विवरण र खाद्य स्वच्छता अभिलेख ५ दिनभित्र पेश गर्न र बिक्री वितरण रोक्न निर्देशन दिइएको छ।
३१ वैशाख, काठमाडौं । काठमाडौं तारकेश्वर नगरपालिका बस्ने एक उपभोक्ता माउन्टेन ड्यु पिउनासाथ बान्ता भई बिरामी परेको घटना बाहिरिएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उत्पादक कम्पनीमाथि कडा निगरानी र कारबाही सुरु गरेको छ ।
सामाजिक सञ्जालमा उक्त घटनाको भिडियो सार्वजनिक भएलगत्तै विभागको ‘र्यापिड रेस्पोन्स टिम’ ले माउन्टेन ड्यु उत्पादक कम्पनी बरुण बेभरेज (नेपाल) प्रालिमा तत्काल अनुगमन गरी छानबिन प्रक्रिया अगाडि बढाएको हो ।
विभागले गरेको अनुगमन क्रममा उपभोक्ताले सेवन गरेको पेय पदार्थ ब्याच नम्बर १६८ र उत्पादन मिति ०३/०४/२६ को २५० मिलिलिटर प्याकको माउन्टेन ड्यु रहेको पुष्टि भएको छ ।
टोलीले उद्योगको गोदाम निरीक्षण गर्दा सोही ब्याचको १ क्रेट (२४ बोतल) मात्र बाँकी रहेको र अन्य उत्पादन यसअघि नै बजार पठाइसकिएको फेला पारेको छ ।
उक्त ब्याचको उत्पादनमा कैफियत देखिएपछि विभागले थप अनुसन्धानका लागि गोदामबाट नमुना संकलन गरी प्रयोगशालामा विश्लेषणका लागि पठाएको छ ।
खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ बमोजिम विभागले बरुण बेभरेजलाई उक्त ब्याचको उत्पादनमा प्रयोग भएको कच्चापदार्थको विस्तृत विवरण र खाद्य स्वच्छता सम्बन्धी सम्पूर्ण अभिलेख ५ दिनभित्र विभागमा पेस गर्न निर्देशन दिएको छ ।
साथै, प्रयोगशालाको अन्तिम विश्लेषण प्रतिवेदन प्राप्त नभएसम्म ब्याच नम्बर १६८ का कुनै पनि उत्पादन बिक्री वितरण नगर्न र यसको जानकारी सम्बन्धित डिलरहरूलाई समेत गराउन विभागले कम्पनीलाई निर्देशन दिएको छ ।
प्रतिक्रिया 4