३१ वैशाख, काठमाडौं । त्रिवि क्रिकेट मैदानको सम्झौता बिहीबार(आज) सकिंदैछ । नेपाल क्रिकेट संघ (क्यान)ले २५ वर्षअघि त्रिभुवन विश्वविद्यालयसँग २०८३ वैशाख मसान्तसम्मका लागि गरेको सम्झौता आज सकिन लागेको हो ।
म्याद सकिनै लाग्दासम्म पनि म्याद थप गर्ने-नगर्नेबारे टुंगोमा पुग्नसकेको छैन । क्यानले म्याद थपका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा निवेदन दिइसकेको छ ।
अर्काेतिर सम्झौता सकिनुअघि नै त्रिभुवन विश्वविद्यालयले ४ वैशाखमा आफ्नो हाताभित्र रहेको क्रिकेट रगंशाला खाली गर्न ३५ दिनको अल्टिमेटम सहितको पत्र काटिसकेको छ । त्रिविले जग्गा खोजबिन समितिको प्रतिवेदनअनुसार क्यानसहित १८ संघसंस्थालाई पत्र काटेको हो ।
ठूलाठूला खेल हुँदा महिनौंसम्म विश्वविद्यालयको अध्ययन अनुसन्धानको काम प्रभावित हुने गरेको त्रिविको निष्कर्ष थियो । तर, क्यानसँग सम्झौता थप नगर्ने पक्षमा रहेको त्रिवि सरकारका प्रवक्ता, शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सार्वजनिक रूपमै म्याद थप गर्ने बताएपछि भने नरम बन्दै आएको छ ।

क्यानले दिएको निवेदनसहित पत्र अहिले शिक्षा मन्त्रालयमा पुगिसकेको छ । राखेपले सम्झौता थपको विषय खेलकुद मन्त्रालयमार्फत शिक्षा मन्त्रालयमा पठाएको हो ।
युवा तथा खेलकुद मन्त्रालयका सूचना अधिकारी जगदीश पराजुलीले म्याद थपका लागि क्यानले पठाएको पत्र शिक्षा मन्त्रालयमा पठाएको जानकारी दिए । ‘राखेप शिक्षा मन्त्रालयमा सिफारिस गर्नु भनेर पत्र पठाएको थियो । शिक्षा मन्त्रालयसँग सम्बन्धित भएकाले हामीले शिक्षा मन्त्रालयमा पठाएका छौं,’ उनले भने ।
त्रिविका सामान्य प्रशासन महाशाखा प्रमुख राजबहादुर राईले भने म्याद थप गर्ने-नगर्ने भन्ने विषय सरकारको भएको बताए । ‘राष्ट्रिय गौरवको योजना भएकाले मन्त्रीज्यूले हामीले नै मिलाउछौं भन्नुभएको छ । म्याद थप गर्ने या नगर्ने त्यो सरकारबाट निर्धारण हुन्छ,’ उनले भने ।
क्यानलाई ३५ दिने पत्र काटेपनि कुनै जवाफ नआएको राईले बताए । शिक्षा तथा खेलकुद मन्त्री पोखरेलले केही दिनअघि मात्रै मैदानको नवीकरण हुने प्रतिबद्धता जनाएका थिए । पोखरेलको उक्त अभिव्यक्तिपछि त्रिवि मैदान नवीकरण हुनेमा क्रिकेट समर्थक ढुक्क छन् ।
त्रिवि क्रिकेट मैदानमा अहिले आइसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपाल, अमेरिका र स्कटल्यान्डबीचको सिरिज चलिरहेको छ । उक्त सिरिज ८ जेठसम्म चल्नेछ । क्यानकाअनुसार सरकारले उक्त मैदानलाई व्यवस्थित रंगशाला बनाउन हालसम्म करिब २ अर्ब लगानी गरिसकेको छ ।
सुशीला कार्की नेतृत्वको सरकारले त्रिवि परिसरमा रहेको उक्त मैदानलाई अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माण गर्न गुरुयोजना स्वीकृत गरेको थियो । गुरुयोजनाबमोजिम रंगशाला निर्माण गर्न करिब १० अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
अघिल्लो आर्थिक वर्षमा मात्रै सरकारले उक्त मैदानको स्तरोन्नतिका लागि करिब ८५ करोडभन्दा रकम लगानी गरिसकेको छ । ४३ करोड ७७ लाखमा प्यारापिट र ४२ करोड १९ लाख रुपैयाँ लागतमा फ्लडलाइट जडान गरिएको थियो ।
त्यसबाहेक पनि ग्राउन्ड, पिच स्तरोन्नतिमा समेत सरकारले करौडौं लगानी गरिसकेको छ । पहिलो चरणको काम भइसकेको मैदानमा दोस्रो चरणको निर्माणका लागि बजेट विनियोजन गर्ने तयारी सरकारले गरिरहेको छ ।
क्यानले घरेलु मैदानमा हुने अन्तर्राष्ट्रिय खेलहरू त्रिवि मैदानमै गर्ने गरेको छ । मुलपानी मैदान पूर्ण रूपमा तयार नहुँदा नेपाल प्रिमियर लिग (एनपीएल) सहितका प्रतियोगिता पनि त्रिवि मैदानमै हुने गरेका छन् ।
प्रतिक्रिया 4