+
लिग २ क्रिकेट :

अमेरिकाविरुद्ध जितको खोजी

२०८३ जेठ  १ गते १२:४९ २०८३ जेठ १ गते १२:४९

नेपालले अमेरिकालाई पछिल्ला चार खेलमा हराउन सकेको छैन । पछिल्लोपटक सन् २०२३ मा जित निकालेको नेपालले सन् २०२४ र २०२५ मा भएका लिग २ कै दुई-दुई ओडीआईमा अमेरिकासँग हार बेहोरेको छ ।

अमेरिकाविरुद्ध जितको खोजी

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपाल, अमेरिका र स्कटल्यान्डबीच दुई खेल सम्पन्न भएका छन् जसमा स्कटल्यान्डले दुवै खेल २ रनले जितेको छ।
  • नेपालले अमेरिकासँगको आगामी खेलमा सुधार गर्दै जित निकाल्ने लक्ष्य राखेको छ र प्रशिक्षक स्टुअर्ट लले कमजोरी सुधार्ने बताएका छन्।
  • नेपाल र अमेरिकाबीचको खेल २ जेठ विहान ९:३० बजे हुने छ जहाँ बादल र वर्षाको सम्भावना रहेको छ।

१ जेठ, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालमा भइरहेको नेपाल, अमेरिका र स्कटल्यान्डबीचको शृङ्खलामा दुई खेल सम्पन्न भएका छन् । दुवै खेलमा समान किसिमको नतिजा पनि आएको छ ।

दुवै खेलमा विजयी टिम थियो स्कटल्यान्ड, पराजित टिम थिए नेपाल र अमेरिका अनि जितको अन्तर थियो केवल २ रन । नेपाललाई पनि डीएल पद्धतिमा २ रनले हराएको स्कटल्यान्डले बिहीबार अमेरिकासँग पनि त्यही भाग्य दोहोर्‍यायो ।

लिग २ मा रोमाञ्चक नतिजाहरू निस्किरहँदा नेपाली टोली भने दबाबमा छ, शनिबार हुने अमेरिकासँगको खेलमा जित निकाल्दै नेपाल लयमा फर्किन चाहन्छ । त्यसको लागि कमजोरीमा सुधार भने अवश्य गर्नुपर्ने हुन्छ ।

कुनै समय ५० ओभरको खेलमा विजोग हुने गरेको अमेरिका पछिल्लो समय एसोसियटकै बलियो टोलीका रूपमा स्थापित हुँदै गएको छ । स्कटल्यान्डसँग २ रनले पराजित भएपनि अमेरिका पछिल्लो समय राम्रो लयमा छ, यस हारभन्दा अगाडि ६ खेलमा अपराजित थियो ।

अर्कोतर्फ नेपालले भने समान किसिमको लय भेट्टाउनै सकिरहेको छैन । अघिल्लो शृङ्खलामा ४ खेलमा ३ जित निकालेको नेपालले यस शृङ्खलाको सुरुवात भने हारबाट गरेको छ र अब बाउन्स ब्याक गर्न चाहन्छ ।

नेपालका प्रशिक्षक स्टुअर्ट लले स्कटल्यान्डसँगको हारमा देखिएका कमजोरी सुधार्दै आगामी खेलमा केन्द्रित हुने बताएका छन् । ‘यस्तो टफ फेजमा खेल्न गाह्रो नै हुन्छ, क्रिकेट भनेको कठिन खेल हो । जित्नका लागि राम्रो खेल्नैपर्छ’ लले पहिलो खेलपछि भनेका थिए, ‘अर्को खेलअघि अझ मेहेनत गरेर आगामी खेलका लागि तयारी गर्नुपर्छ, के कुरामा बेटर गर्न सकिन्छ त्यो गर्नुपर्छ ।’

यस्तै अमेरिकी ब्याटर साइतेजा मुक्कामल्लाले नेपालसँगको खेलका लागि तयार रहेको बताएका छन् । ‘स्कटल्यान्डसँग हामी नजिकै पुगेर चुक्यौं, नेपालसँगको खेलका लागि तयार अनि उत्साहित छौं । राम्रो अनुभव हुनेछ’ मुक्कामल्लाले भने ।

पछिल्लो लय र हेड टु हेड

लिग २ अंकतालिकामा अमेरिका २५ खेलबाट ३६ अंक जोडेर दोस्रो स्थानमा छ । शृंखला सुरु हुनुअगाडि शीर्षमा भएपनि स्कटल्यान्डले लगातार दुई जित निकालेपछि अमेरिका शीर्षबाट दोस्रोमा झरेको हो ।

स्कटल्यान्ड ३० खेलमा ३८ अंक जोडेर शीर्षस्थानमा छ । नेपाल भने २५ खेलमा १८ अंकका साथ सातौं स्थानमा छ ।

नेपाल र अमेरिका हालसम्म ओडीआई फर्म्याटमा ११ पटक आमनेसामने भएका छन् । नेपालले ४ खेल जित्दा ६ खेलमा पराजित भएको छ । एक खेल टाई भएको थियो ।

नेपालले पछिल्ला चार खेलमा अमेरिकालाई हराउन सकेको छैन । पछिल्लोपटक नेपालले सन् २०२३ मा विश्वकप छनोटको खेलमा अमेरिकालाई हराएको थियो । त्यसयता सन् २०२४ मा भएका दुई अनि २०२५ मा भएका दुई खेलमा नेपाल पराजित भएको छ । यी चारै खेल यही लिग २ साइकलकै हुन् ।

कीर्तिपुरमा भने यी दुई टोली २ पटक आमनेसामने भएका छन् जसमा दुवै खेल नेपालले जितेको थियो । सन् २०२० मा भएको लिग २ को शृङ्खलाका दुवै खेलमा नेपाल विजयी भएको थियो ।

त्यसबेला भएको पहिलो खेलमा १९० रनको योगफल डिफेन्ड गरेर अमेरिकालाई १५५ रनमा रोकेको थियो । दोस्रो खेलमा भने नेपालले अमेरिकालाई ३५ रनमै अलआउट गर्दा सन्दीप लामिछाने एक्लैले ६ विकेट लिएका थिए ।

टिम कम्बिनेशन र सम्भावित ११

पहिलोपटक ओडीआई टोलीमा परेका इशान पान्डे पहिलो खेलमा प्लेइङ ११ मा परेका थिएनन् । अमेरिकाविरुद्ध उनले मौका पाउन सक्छन् । इशानको आगमनले मध्यक्रममा बाँयाहाते ब्याटिङ विकल्प थपिनेछ ।

विनोद भण्डारीको स्थानमा कुशल भुर्तेललाई नै खेलाउने सम्भावना पनि रहेको छ । स्कटल्यान्डसँगको पहिलो खेलमा अर्जुन कुमाल शून्यमै अनि विनोद भण्डारी १० रनमा आउट भएका थिए । आसिफ शेखले पनि २१ रन मात्र बनाए ।

ओपनिङ जोडीमा फेरि परिवर्तन हुन सक्छ । भुर्तेल र  आसिफकै जोडीलाई खेलाएर प्रशिक्षक स्टुअर्ट लले अर्जुनलाई वान डाउनमा अझै मौका दिन सक्छन् । यस्तै पेस बलर सोमपाल कामीले करण केसीको स्थान लिन सक्छन् ।

अमेरिका भने बिहीबार सन्जय कृष्णमुर्तीलाई बाहिर राखेको थियो । सन्जयले नेपालविरुद्ध खेल्न सक्छन् । अन्य परिवर्तन अमेरिकाले गर्ने सम्भावना कम छ ।

नेपालको सम्भावित ११ : रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), आसिफ शेख, कुशल भुर्तेल, इशान पान्डे/अर्जुन कुमाल, आरिफ शेख, गुल्शन झा, सोमपाल कामी/करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, ललित राजवंशी

अमेरिकाको सम्भावित ११ : मोनांक पटेल (कप्तान), स्मित पटेल, शयान जहांगिर, मिलिन्द कुमार, शुभम रन्जाने/सन्जय कृष्णमुर्ती, साइतेजा मुक्कामल्ला, जसदीप सिंह, हर्मित सिंह, नोसथुस केन्जिगे, मोहम्मद मोहसिन, सौरभ नेत्रभल्कर

प्लेयर्स टु वाच

नेपालका लागि ब्याटिङमा दीपेन्द्रसिंह ऐरी नै मुख्य खेलाडीका रूपमा छन् । दीपेन्द्रले गत शृंखलामा शानदार प्रदर्शन गर्दै दुई अर्धशतक र एक शतक प्रहार गरेका थिए । स्कटल्यान्डसँगको खेलमा पनि अर्धशतक प्रहार गरेका उनी शानदार लयमा देखिएका छन् ।

यस्तै बलिङमा सन्दीप लामिछाने मुख्य हतियार हुनेछन् । सन्दीपले गत साता भएको शृंखलामा ८ विकेट लिएका थिए भने स्कटल्यान्डसँगको पहिलो खेलमा ४ विकेट लिएका थिए । उनी ओडीआईमा नेपालका लागि सर्वाधिक विकेट लिने खेलाडी समेत हुन् ।

ब्याटर साइतेजा मुक्कामल्ला । तस्वीर : क्यान

यता अमेरिकाका लागि ओपनर स्मित पटेल र साइतेजा मुक्कामल्लामाथि नजर रहनेछ । स्मितले नेपाल ए सँगको खेलमा शतक बनाएका थिए भने स्कटल्यान्डसँगको खेलमा पनि ७२ रन बनाएर राम्रो सुरुवात दिलाएका थिए । साइतेजाले स्कटल्यान्डसँगको खेलमा शानदार शतक बनाएका थिए । यद्यपी जितका लागि भने पर्याप्त रहेन ।

बलिङमा सौरभ नेत्रभल्कर र हर्मित सिंह अमेरिकाका दुई प्रमुख बलर हुन् ।

खेल : नेपाल भर्सेस् अमेरिका
मिति र समय : २ जेठ, विहान ९:३०
मौसम : बादल, वर्षाको सम्भावना

नेपाली क्रिकेट टोली लिग २ क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
प्रतिक भट्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय