News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल सरकारले मन्त्रालयको संख्या २२ बाट घटाएर १८ गर्ने निर्णय गर्दै स्वास्थ्य मन्त्रालयको नाम स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय राखेको छ।
- स्वास्थ्य मन्त्रालयको स्थापना वि.सं. २००७ साल फागुन ७ गते भएको र यज्ञबहादुर बस्न्यातलाई पहिलो स्वास्थ्य मन्त्री नियुक्त गरिएको थियो।
- स्वास्थ्य मन्त्रालयको नाम २००७ सालदेखि करिब एक दर्जन पटक परिवर्तन भइसकेको छ ।
नेपाल सरकारले हालै मन्त्रालयको संख्या २२ बाट घटाएर १८ बनाउने निर्णय गर्यो । यो निर्णयसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नाम परिवर्तन भई स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय भएको छ । नेपालको इतिहासमा स्वास्थ्य मन्त्रालयको नाम परिवर्तन भएको यो पहिलो पटक भने होइन । विभिन्न समयमा भएका राजनीतिक परिवर्तनसँगै स्वास्थ्य मन्त्रालयको नाम परिवर्तन हुँदै आएको छ ।
स्वास्थ्य मन्त्रालय स्थापनाको इतिहास
आम नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्न सरकारले विभिन्न समयमा स्वास्थ्य संस्था स्थापना गर्दै आएको थियो । सिंहदरबार वैद्यखाना, वीर अस्पताल, छातीरोग अस्पताल, टोखा स्वास्थ्य निवास, कुष्ठरोगी खाना, सैनिका अस्पताल, औषधालय, स्वास्थ्य केन्द्रहरू विभिन्न समयमा स्थापना भए ।
यिनै संस्थाहरूको नियमन, व्यवस्थापन र विकासका लागि वि.सं. १९९० सालमा स्वास्थ्य विभाग गठन भयो । यस विभागलाई नेतृत्व प्रदान गर्नका लागि ‘डाइरेक्टर जनरल’को व्यवस्था गरिएको थियो । त्यो समय डाइरेक्टर जनरलको मान्यता अहिलेका मन्त्रीसरह हुन्थ्यो ।
त्यस स्वास्थ्य विभागले हाल स्वास्थ्य मन्त्रालयले गर्ने सबै काम गर्थ्यो । विभागका डाइरेक्टर जनरल पदमा रोलवाला राणाजीहरू रहने गर्थे । यिनै जंगीलाठ वा रोलवाला राणाजीहरूले विभागको सबै कामको विवरण प्रधानमन्त्रीलाई पेश गर्थे र प्रधानमन्त्रीबाट निर्देशनहरू पाउने गर्थे ।
वि.सं. २००७ सालको राणाविरोधी आन्दोलन सञ्चालन गरिरहेका क्रान्तिकारीहरूले देशका विभिन्न भूगोलमा रहेका सैनिक र प्रशासनिक केन्द्रहरू कब्जा गर्दै गए । यसरी कब्जा गरिएका स्थानमा प्रजातन्त्रवादीहरूले जनसरकार गठन गर्न थाले । त्यसरी गठन गरिएका जनसरकारमा स्वास्थ्य विभाग वा स्वास्थ्य मन्त्रालय घोषणा गरी स्वास्थ्य मन्त्री तोक्दै गए ।
धनकुटा, भोजपुर, इलाम, वन्दीपुर, नेपालगन्ज बाग्लुङ आदि ठाउँहरूमा जनसरकार गठन भएका थिए । ती जनसरकारमा स्वास्थ्य मन्त्रीहरू नियुक्त भई स्वास्थ्य सेवा प्रदान गर्ने नीति, नियमहरू बनाउने काम गरे भन्ने कुरा इतिहासमा उल्लेख छ ।
राणा शासनको अन्त्यपछि बनेको सरकारमा स्वास्थ्य मन्त्रालयको जन्म भयो । २००७ साल फागुन ७ गतेको शाही घोषणाबाट स्वास्थ्य र स्थानीय स्वायत्त शासन मन्त्रालयको स्थापना भएको देखिन्छ । सो मन्त्रालयको जिम्मेवारी यज्ञबहादुर बस्न्यातले पाएका थिए । (गोरखा पत्र, २००८, फागुन ८ गते) ।

सोही शाही घोषणाबाट राणा, विद्रोही पक्ष कांग्रेस र राजाका मान्छेहरू समेटेर मन्त्री मण्डल गठन गरएको थियो । मोहन शमशेर प्रधानमन्त्री रहेको उक्त मन्त्रिमण्डलमा १० जना मन्त्रीहरू रहेका थिए । स्वास्थ्य मन्त्री बस्न्यात राणाको पक्षबाट मन्त्री बनेका थिए । खाद्य र कृषि मन्त्रालयको जिम्मेवारी भतरमणि शर्मालाई दिइएको थियो ।
स्वास्थ्य मन्त्रालयको स्थापना भएसँगै थप स्वास्थ्य संस्थाहरूको स्थापना भयो । खानेपानीका लागि निजी धारा, ढल व्यवस्थापन, सरसफाइ कार्यलाई व्यवस्थित गर्ने कामहरू भएका थिए । स्वास्थ्य मन्त्रीले स्वास्थ्य मन्त्रालयको काम कारबाहीमा सहयोग गर्न सार्वजनिक आह्वान समेत गरेका थिए ।
तर यहाँनेर स्मरणीय विषय के छ भने हाम्रो स्वास्थ्य मन्त्रालयले प्रकाशित गरेको दस्तावेजमा स्वास्थ्य मन्त्रालयको स्थापना २०११ सालमा भएको भनी लेखिएको छ । ऐतिहासिक तत्थ्य हेर्दा स्वास्थ्य मन्त्रालयको उक्त दस्तावेज गलत भएको देखिन्छ ।
नाम फेर्ने होडबाजी
२००७ साल फागुन ७ गते स्वास्थ्य तथा स्थानीय स्वायक्त शासन मन्त्री भएका यज्ञबहादुर बस्न्यातको जिम्मेवारी २००८ जेठ २७ गते हेरफेर भयो । बस्न्यातलाई स्वास्थ्य मन्त्री मात्रै कायम गरियो भने स्थानीय स्वायत्त शासन मन्त्रीमा चूडाराज शमशेर जबरालाई नियुक्त गरियो ।
२००९ साउनमा मन्त्रालयको काम निपूर्णताका साथ छिटोछिटो गरी गराई राजासमक्ष पेश गर्न भनी परामर्शदातृ सभा गठन भएको थियो । यसपछि स्वास्थ्य मन्त्रालयको जिम्मेवारी काजी मणिकलालले पाएका थिए ।

२००९ साल कार्तिकसम्म पशुचिकित्सा विभाग समेत स्वास्थ्य मन्त्रालय अन्तर्गत राखिएको थियो । त्यस बेलासम्म स्वास्थ्य मन्त्रालयले गाईवस्तुको उपचारको समेत व्यवस्था मिलाउनुपर्थ्यो ।
२०११ साल फागुन १९ गते स्वास्थ्य मन्त्रालयको बरियतालाई तल झारी स्वास्थ्य विभाग बनाइएको थियो । मन्त्रालयका सचिवहरू विभागीय सचिव कायम भएका थिए ।
२०१२ सालमा शिक्षा, स्वास्थ्य र स्थानीय स्वायत्त शासन मन्त्रालय नामकरण गरी बालचन्द्र शर्मालाई मन्त्री बनाइयो ।
२०१९ साल असारमा स्वास्थ्य मन्त्रालयमा विद्युत र नहर मन्त्रालय समेत जोडियो । अनि यस मन्त्रालयको नाम स्वास्थ्य, विद्युत तथा नहर मन्त्रालय रहन गयो । त्यो समय त्यस मन्त्रालयको जिम्मा नागेन्द्र प्रसाद सिंहलाई दिएको देखिन्छ ।
वि.सं.२०२९/३० सालतिर अन्य मन्त्रालयबाट छुटाई स्वास्थ्य मन्त्रालय मात्रै नामकरण गरियो । यसपछि २०३० साल साउनमा कमल शाहलाई स्वास्थ्य राज्य मन्त्री बनाइएको थियो ।
सरकारले २०४४ सालमा स्वास्थ्य मन्त्रालयमा अर्को रमाइलो गर्यो । आधारभूत स्वास्थ्यका नाममा छुट्टै राज्यमन्त्री नियुक्त गरी ‘आधारभूत स्वास्थ्य मन्त्री’ भनी नाम दिइयो । २०४४ सालमा फागुनमा कृष्णकुमार राई र २०४५ कार्तिकमा विमलमान सिंहलाई आधारभूत स्वास्थ्य मन्त्री बनाइएको थियो ।
वि.सं. २०५४ साल असोजमा स्वास्थ्य, महिला तथा समाज कल्याण मन्त्रालय नामकरण गरियो ।
२०५९ साल असोजमा स्वास्थ्य मन्त्रालयसँग विज्ञान र प्रविधि थप गरियो । स्वास्थ्य, विज्ञान तथा प्रविधि मन्त्रीका रूपमा डा. उपेन्द्र देवकोटा नियुक्त भए ।
२०६२ असारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय नाम दिइयो । र, यस मन्त्रालयको जिम्मा तत्कालीन मन्त्रिपरिषद्का उपाध्यक्ष कीर्तिनिधि विष्ठले पाए ।
देश संघीयतामा प्रवेश गर्नेबित्तिकै स्वास्थ्य मन्त्रालय आवश्यक छैन भन्ने बहस पनि चलेको थियोे । त्यस समयमा स्वास्थ्य मन्त्रालयको अस्तित्व संकटमा परेको थियो ।
फेरि २०७२ साल असोजमा स्वास्थ्यबाट जनसंख्या छुट्याइयो र वातावरण मन्त्रालयसँग लगेर जोडियो ।
२०७४ साल फागुनमा फेरि वातावरण मन्त्रालयबाट छुट्टिएर जनसंख्या फेरि स्वास्थ्य मन्त्रालयसँगै जोडिन आइपुग्यो । त्यस यता हालसम्म स्वास्थ्य तथा जनसंख्या मन्त्रालय’ नै नाम रहँदै आएको थियो ।
अहिले आएर स्वास्थ्य मन्त्रालयको पछाडि खाद्य स्वच्छता जोडियो । २००७ सालदेखि नै कृषि मन्त्रालयसँग जोडिएको खाद्यलाई अहिले स्वच्छता शब्द थपी स्वास्थ्य मन्त्रालयसँग जोडिएको छ ।
यो हेर्दा सुरुदेखि नै स्वास्थ्य मन्त्रालय मुख्य आत्माका रूपमा रहेको देखिन्छ भने समम–समयमा यसका पछाडि अनेक पुच्छरहरू जोडिन आइपुगे ।
२००७ सालदेखि अहिलेसम्म करिब एक दर्जन पटक स्वास्थ्य मन्त्रालयको नाम हेरफेर भएको पाइन्छ ।
यसरी नाम फेरिइरहँदा प्रशासनिक झन्झटका साथै कर्मचारीको समायोजन र व्यवस्थापनमा समस्या हुन्छ । कर्मचारीको वृत्तिविकासमा समेत यसले असर पार्छ ।
अभिलेख र दस्तावेजीकरणमा पनि चुनौती थप्ने काम यसले गर्छ । नाम फेरिरहँदा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विभिन्न पक्षसँग समन्वय गर्ने कुरामा पनि असर देखिन सक्छ ।
प्रतिक्रिया 4