News Summary
Generated by OK AI. Editorially reviewed.- पोखराको म्हाजू भञ्ज्याङ रिसोर्टले करिब ९६ लाख रुपैयाँ लगानीमा स्थानीय रोजगारी र उत्पादनको बिक्रीवितरण गर्दै पर्यटन विकास गरेको छ।
- पोखराको आसपासका डाँडाहरूमा अनुत्पादक भ्यु टावर निर्माणको साटो वातावरणमैत्री पर्यटन पूर्वाधार विकास गर्न सरकार र निजी क्षेत्रले सहकार्य गर्नुपर्ने बताइएको छ।
- पोखराको पर्यटन विस्तारका लागि स्याङ्जाको सिरुबारी, नुवाकोट दरबार, भालुपहाड लगायत स्थानहरूलाई वर्षभरि सञ्चालन हुने पदयात्रा र पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने उल्लेख छ।
अहिले नेपाली समाजमा ‘विकास’ मा भइरहेको बेथितिको चित्रण गर्नुपर्यो भने सबैभन्दा सजिलो उदाहरण हो- ‘भ्यु टावर’ । देशैभरि जताततै, आवश्यक नपर्ने ठाउँहरूमा समेत सिमेन्ट र फलामले बनाइएका यी टावरहरू अर्थहीन लाग्छन्, त्यो पनि डाँडाका टाकुराहरूमा !
वास्तवमा पहाडका सुन्दर थुम्काहरूमा यस्ता संरचना बनाउनु भनेको स्रोतको दुरुपयोग मात्रै हो । यसरी खासै उपयोग नहुने यस्ता संरचना निर्माणको मूल कारण भने यससँग जोडिएको अर्थ-राजनीति हो- निर्माणबाट हुने सजिलो भ्रष्टाचार (कमिसन र घुस) ।
पर्यटकीय सहर पोखरा र यसका आसपासका ठाउँहरू पनि यसबाट अछुतो छैनन् । पोखरा आसपासका सराङकोट, पञ्चासे वा पुम्दीकोटजस्ता डाँडाहरूमा सरकारी र निजी लगानीमा बनेका ‘भ्यु टावर’ छन् । थुम्काहरू आफैँमा प्राकृतिक टावर हुन् । नभए अग्लो रुखमा ‘ट्री हाउस’ बनाए पनि हुन्थ्यो; किन अर्को बनाउनुपर्यो होला फलाम र सिमेन्टको टावर !
यसरी टावर नै बनिरहेको बेला केही ठाउँमा भने ‘थुम्का’ लाई आकर्षक बनाएर रिसोर्ट बनाइएको छ । पोखरा हुँदै स्याङ्जाको सिरुबारी (दक्षिण एसियाकै पहिलो होमस्टे) जाँदा बाटोमा पर्छ- म्हाजू (मझकटेरी) भञ्ज्याङ ।
करिब १९ सय मिटर उचाइमा भञ्ज्याङ र थुम्काको सौन्दर्य प्रयोग गरेर स्थानीय चार जना युवा मिलेर सञ्चालन गरेका छन्- ‘म्हाजू भञ्ज्याङ रिसोर्ट’ । पोखराको पृथ्वीचोकबाट करिब ३८ किलोमिटर टाढाको यो भञ्ज्याङ पुग्न करिब डेढ घण्टा लाग्छ । परम्परागत स्थानीय शैलीमा आधुनिक प्रविधिको प्रयोग गरी बनाइएको यो रिसोर्ट सुन्दर र मनमोहक त छ नै, यहाँबाट मौसम खुलेको बेला नीलगिरिदेखि गणेश हिमालसम्मको लामो हिमशृङ्खला देखिन्छ । यति लामो हिमालको ताँती धेरै कम ठाउँबाट मात्रै देख्न पाइन्छ ।

करिब ९६ लाख रुपैयाँ लगानीमा खुलेको यो रिसोर्टले करिब १० जनालाई रोजगारी दिएको मात्रै छैन, मासिक तीन लाख रुपैयाँभन्दा बढीको व्यापार र स्थानीय उत्पादनको बिक्रीवितरण गरिरहेको छ ।
स्विट्जरल्यान्डले आफ्ना पहाड र हिमालका टाकुराहरूलाई लक्जरी हब बनाएको छ । त्यहाँका उच्च उचाइमा रहेका होटल र रिसोर्टहरूमा पुग्न केबलकार र ट्रेनहरूको सञ्जाल छ । तथ्याङ्कअनुसार स्विट्जरल्यान्डजस्तो धनी तर सानो देशमा समेत कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको करिब २.५ प्रतिशतदेखि ३ प्रतिशत योगदान रहेको छ र यसले करिब साढे चार लाख मानिसलाई रोजगारी दिएको छ । प्रकृतिलाई नबिगारी डाँडाका टाकुराबाट अर्बौँ डलर कमाइरहेका छन् ।
म्हाजू भञ्ज्याङ रिसोर्ट एउटा होटल मात्र होइन, यो त थुम्का र भञ्ज्याङ पर्यटनको अनुपम उदाहरण हो । यसले पहाडमा जताततै छरिएर रहेका भञ्ज्याङ र डाँडाहरूलाई कसरी आर्थिक अवसरमा बदल्न सकिन्छ भन्ने देखाएको छ । यसले स्थानीय रोजगारीको सिर्जना, स्थानीय उत्पादनलाई बजार, बसाइँसराइको रोकथाम मात्रै होइन, फर्काउने काम त गर्छ नै; यस्तो खालको पर्यटन नेपालजस्तो देशका लागि ठूलो अवसर हुनेछ ।
एउटा रिसोर्ट चल्दा त्यहाँ स्थानीय स्तरमा उत्पादित तरकारी, दूध, घिउ, मासु र स्थानीय हस्तकलाको खपत हुन्छ । यसले गाउँको पैसा गाउँमै राख्छ । नेपालको पहाडी क्षेत्रबाट तराई र सहरतर्फ भइरहेको तीव्र बसाइँसराइ रोक्न डाँडाका टाकुराहरूमा रिसोर्ट तथा पर्यटकीय पूर्वाधार निर्माण ‘गेम-चेन्जर’ बन्न सक्छन् । अझ हावापानीका कारण यस्ता परियोजनाले बसाइँ सरेकाहरू पनि फर्किने अवस्था बन्न सक्छ ।
यसका मुख्य फाइदाहरू:
- रोजगारीको सिर्जना : एउटा ५० कोठाको स्तरीय रिसोर्टले प्रत्यक्ष रूपमा कम्तीमा १०० देखि १५० जनालाई रोजगारी दिन्छ । यसका अलावा गाइड, यातायात व्यवसायी र स्थानीय किसानहरूले अप्रत्यक्ष रोजगारी पाउँछन् ।
- पूर्वाधारको विकास : जब कुनै दुर्गम डाँडामा एउटा ठूलो रिसोर्टको परिकल्पना गरिन्छ, त्यहाँसम्म पुग्ने बाटो, बिजुली, सञ्चार र खानेपानी पुर्याउनैपर्ने हुन्छ । रिसोर्टका लागि पुगेको यो पूर्वाधारले अन्ततः स्थानीय गाउँलेहरूको जीवनस्तर उकास्न मद्दत गर्छ ।
- प्रकृतिको दिगो संरक्षण : प्रकृति नै पर्यटनको आधार हो । यदि डाँडो कुरूप भयो वा वन फँडानी भयो भने पर्यटक त्यहाँ आउँदैनन् । त्यसैले रिसोर्ट सञ्चालकहरू आफैँ वन र वातावरण संरक्षणमा लाग्छन् ।
साँघुरो पोखराको विस्तार र विकल्प
पोखरा सुपरिचित पर्यटकीय गन्तव्य हो, साथै धवलागिरि र अन्नपूर्णमा पदयात्रा जानेहरूको प्रस्थानबिन्दु पनि हो । पोखरामा वार्षिक करिब चार लाख विदेशी पर्यटक पुग्ने गरेका छन् भने लाखौँ आन्तरिक पर्यटक बिदा मनाउन पोखरा पुग्छन् । तर, यहाँ पर्यटकको औसत बसाइ अवधि भने छोटो छ । एक अध्ययनअनुसार विदेशी तथा आन्तरिक पर्यटकको औसत बसाइ करिब २.९ दिन मात्रै रहेको छ ।
यसले पर्यटनबाट हुने आय अपेक्षाकृत कम हुन्छ नै । यस आसपास साहसिक पर्यटन, सांस्कृतिक कार्यक्रम, ग्रामीण पर्यटन र सम्मेलन पर्यटन विस्तार गर्न सके बसाइ अवधि बढाउन सकिने सम्भावना बलियो छ ।

अर्को अवसर भनेको पोखराको पर्यटन यसको आसपास र उत्तरतिर फैलिएको छ । उत्तरतिरको पदयात्रा भौगोलिक र मौसमका कारण वर्षभरि सम्भव हुँदैन, मौसमी (सिजनल) हुन्छ; विशेषगरी चैतदेखि जेठ र असोजदेखि मङ्सिरसम्म । अरू मौसममा पर्यटक २-३ दिन पोखरा बसेर फर्किन्छन् । यसका लागि केही पर्यटकीय पूर्वाधार विकास भइसकेका पोखराको दक्षिण र पश्चिम क्षेत्रमा पर्यटनको विस्तार भयो भने वर्षभरि नै पर्यटक जान सक्छन् ।
प्रत्येक वर्ष लाखौँ मानिस पोखरा र यसको आसपासमा घुम्न जान्छन् । पोखराको पूर्व-उत्तर जानेहरू त केही दिन हिमालतिर बिताउँछन् । हिमाल नजानेहरू त्यहीँबाट फर्किन्छन् । अबको योजना उत्तरतिर जाने मात्रै होइन, दक्षिण र पश्चिमतिर जाने र केही दिन बिताउने/अल्झाउने योजना बनाउनुपर्छ । अझ यो त १२ महिना (वर्षा र हिउँदमा पनि) उत्तिकै सुरक्षित र आकर्षक गन्तव्य हुन सक्छ ।

यसका लागि स्याङ्जाको सिरुबारी, नुवाकोट दरबार, म्हाजू भञ्ज्याङ, भालुपहाड, निबुवाबोटको ठुल्छहरा, अन्धाअन्धी दह, डहरे लेक आकर्षक गन्त्वय हुन सक्छन् । पोखराको किस्तीनाच्ने चौर, फेदीखोला हुँदै नुवाकोट दरबार जाने पदयात्रा, सेतीदोभान हुँदै पुरानो बाटोबाट सिरुबारी होमस्टे जाने पदयात्रा गज्जबका गन्तव्य हुन् । सांस्कृतिक पर्यटकको रोजाइमा परेको सिरुबारीलाई सडक, बिजुली र इन्टरनेटले त जोडेको छ नै, पदयात्रा पनि सुरुवात गर्न सकिन्छ ।
पोखरालाई केन्द्रमा राखेर २-३ दिनको पदयात्राको प्याकेज वर्षभरि नै सञ्चालन गर्न सकिन्छ । वर्षायामको चार महिना ‘सिरुबारी पदयात्रा रुट’ मा आँधीखोलाको ताजा माछा, निबुवाबोटको ठुल्छहरी र स्यानछहरी झरनालाई समावेश गर्न सकिन्छ । त्यसबाहेक खर्सुमा बनेको बुद्धको मूर्ति वा आरुचौर थाप्लेमा बन्दै गरेको ‘१९०७ क्रिकेट स्टेडियम’ यो पदयात्राका थप आकर्षण हुन् ।
१९०७ क्रिकेट स्टेडियम : क्रिकेटर सन्दीप लामिछानेको जन्मगाउँ आरुचौरमा अर्जुनचौपारी गाउँपालिकाले उनको सम्मानमा यो क्रिकेट मैदान बनाउँदै छ । पोखराबाट करिब ५० किमी टाढा रहेको यो मैदान समुद्र सतहबाट १९०७ मिटरको उचाइमा छ । गाउँपालिका अध्यक्ष प्रकाश तिवारीका अनुसार निर्माणको अन्तिम चरणमा रहेको यो स्टेडियम पछिल्लो घटनाक्रमले गर्दा केही समय ढिलो भएको छ ।

थुम्का पर्यटन : म्हाजू भञ्ज्याङ मात्रै होइन; सडक, बिजुली र इन्टरनेटजस्ता पूर्वाधार भएका थुम्काहरूलाई गन्तव्यका रूपमा विकास गर्न सकियो भने पोखरा मात्रै होइन, पहाडी पर्यटनले नै छलाङ मार्नेछ ।
डाँडाका टाकुराहरूमा भ्यु टावर बनाउने अनुत्पादक काममा पैसा खर्च गर्नु बालुवामा पानी हालेसरह हो । यस्तो होडबाजीलाई तुरुन्त रोकेर सरकारले निजी क्षेत्रको साझेदारीमा ती स्थानहरूलाई ‘पर्यटकीय हब’ का रूपमा विकास गर्न सक्छ ।
यसको साटो यदि हामीले पहाडका टाकुराहरूमा वातावरणमैत्री संरचना झल्काउने हो भने यसले नेपालको अर्थतन्त्र, समग्र विकास र प्रकृति संरक्षणमा एउटा क्रान्तिकारी परिवर्तन ल्याउन सक्छ ।
सरकारले पूर्वाधार पुर्याइदिने र निजी क्षेत्रलाई वातावरणमैत्री उच्चस्तरीय रिसोर्ट, केबलकार र साहसिक पर्यटनका पूर्वाधार निर्माण गर्न दिने हो भने जनसङ्ख्या घटेर खाली हुँदै गएका नेपाली पहाडी पाखाहरू साँच्चै नै विश्वकै उत्कृष्ट लक्जरी र इको-टुरिजम गन्तव्य बन्न सक्छन् ।
(वातावरण अर्थशास्त्री ढकाल, वातावरण, संरक्षण तथा जलवायु परिवर्तनको क्षेत्रमा योजना तथा नीति अनुसन्धान र विश्लेषणको काम गर्छन् ।)
प्रतिक्रिया 4