संसारका हरेक पाँचमध्ये एक व्यक्तिमा मष्तिष्कघात र मुटुसम्बन्धी रोगबाट हुने मृत्युको जोखिम बढाउने एउटा वंशानुगत र लुकेको कोलेस्ट्रोलको खतरा रहेको वैज्ञानिकहरूले पत्ता लगाएका छन्। सामान्य रगत परीक्षणमा कोलेस्ट्रोलको मात्रा सामान्य देखिए पनि यो विशेष प्रकारको तत्वका कारण मुटुको स्वास्थ्य गम्भीर जोखिममा पर्न सक्ने नयाँ अनुसन्धानले देखाएको छ।
अनुसन्धानकर्ताहरूका अनुसार रगतमा पाइने यो लुकेको कोलेस्ट्रोल कणलाई ‘लिपोप्रोटिन ए’ अर्थात् Lp(a) भनिन्छ। यो हेर्दा खराब कोलेस्ट्रोल जस्तै देखिन्छ, तर यसमा एउटा अतिरिक्त प्रोटिन हुन्छ जसले यसलाई मुटु र रक्तनलीका लागि बढी हानिकारक बनाउँछ। यो समस्या पूर्ण रूपमा वंशानुगत हुन्छ र यसको कुनै बाहिरी लक्षण देखिँदैन। त्यसैले विश्वका करिब २० प्रतिशत मानिस यो जोखिम बोकेर बाँचिरहेका छन् तर उनीहरूलाई यसबारे कुनै जानकारी नै छैन।
क्यानडाको मोन्ट्रियलमा आयोजित ‘सोसाइटी फर कार्डियोभास्कुलर एन्जियोग्राफी एन्ड इन्टरभेन्सन’ २०२६ को वैज्ञानिक सम्मेलनमा यो प्रतिवेदन प्रस्तुत गरिएको हो। अमेरिकाको राष्ट्रिय स्वास्थ्य संस्थानद्वारा सञ्चालित तीनवटा ठूला अध्ययनमा सहभागी ४० वर्षभन्दा माथिका २० हजार ७० जना वयस्कहरूको रगतको नमूना परीक्षण गरेर यो निष्कर्ष निकालिएको हो।
करिब ४ वर्षसम्म गरिएको अनुगमनका क्रममा Lp(a) को मात्रा १७५ nmo/L वा सोभन्दा बढी भएका मानिसहरूमा मुटुसम्बन्धी गम्भीर समस्याहरूको जोखिम अत्यधिक पाइएको थियो। यस्ता बिरामीहरूमा मुटुको रोगबाट हुने मृत्युको सम्भावना ४९ प्रतिशत र मष्तिष्कघातको जोखिम ६४ प्रतिशत बढी हुने अध्ययनले देखाएको छ। विशेष गरी पहिले नै मुटुको रोग भइसकेका व्यक्तिहरूमा यो मात्रा उच्च हुँदा जोखिम अझ बढी पाइएको थियो।
वरिष्ठ इन्टरभेन्सनल कार्डियोलोजिस्ट डा. सुभाष बनर्जीका अनुसार यो अनुसन्धानले पहिलो पटक Lp(a) को कुन स्तरले बिरामीलाई मृत्यु र स्ट्रोकको जोखिममा पार्छ भन्ने स्पष्ट रूपमा निर्धारण गरेको छ। उनले उमेर जतिसुकै भए पनि मानिसहरूले एक पटक साधारण र सस्तो रगत परीक्षण गरेर आफ्नो शरीरमा यो वंशानुगत जोखिम छ या छैन भन्ने पत्ता लगाउन सक्ने बताएका छन्।
यदि रगतमा यसको मात्रा उच्च देखिएमा चिकित्सकको सल्लाहमा अन्य जोखिमहरू जस्तै एलडीएल कोलेस्ट्रोललाई नियन्त्रणमा राख्ने र मुटुलाई स्वस्थ राख्ने उपायहरू कडा रूपमा अपनाउनुपर्छ। भविष्यमा यसलाई नै लक्षित गरी उपचार गर्ने नयाँ विधिहरू समेत विकास भइरहेकाले यो जानकारी बिरामीहरूका लागि निकै महत्त्वपूर्ण साबित हुने वैज्ञानिकहरूको विश्वास छ।
प्रतिक्रिया 4