+
+
Shares
सिनेमा :

मुठ्ठीमा राख्न सकिन्छ त ‘एक मुठ्ठी बादल’?

फिल्ममा उठान गर्न खोजिएको गम्भीर विषय र गरिएको प्रस्तुतीबीच विरोधाभास छ । भनौं, फिल्मले अंगाल्नुपर्ने न्यूनतम दृष्टिकोणको सट्टा अनावश्यक जटिलता थपेको छ ।

सापेक्ष सापेक्ष
२०८३ जेठ ३ गते १७:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म \'एक मुठ्ठी बाँदल\'ले मध्यम वर्गीय नेपाली परिवारमा महिला स्वतन्त्रता र सामाजिक नियमको द्वन्द्व चित्रण गरेको छ ।
  • फिल्मकी मुख्य पात्र माइलीले परिवार र हुनेवाला श्रीमानसँगको सम्बन्धमा असन्तुष्टि देखाएकी छिन् र वैयक्तिक स्वतन्त्रताको खोजीमा छिन्।

माइली आफ्नो जीवनकै महत्त्वपूर्ण मोडमा छिन् । ११ नम्बर वडा कार्यालयमा उनको विवाह दर्ता हुँदैछ । वडासचिवले अक्षरश: पत्र पढ्दा माइलीका बुबा र हुनेवाला श्रीमान् मुस्कुराइरहेका छन् । वडा सचिवको निर्देशन मान्न माइलीका हुनेवाला श्रीमान् तुरुन्त तयार भइरहेका छन् । तर, पत्रमा औंठा छाप लगाउन, वडा सचिवको कुरा सुन्न माइलीमा कुनै रुचि छैन ।

त्यहाँ जे भइरहेको छ, मनोवैज्ञानिक रूपमा माइली छैनन् । उनको अनुहारमा खुसी छैन । माइली त्यसबेला मात्र मुस्कुराउँछिन्, जब उनी हुनेवाला श्रीमानसँग छुट्टिएर आफ्नो गाडीमा हुन्छिन् । नत्र त उनका ती श्रीमानले वडा कार्यालयमा बोल्न नखोजेको कहाँ थियो र ! उनको कुरामा माइलीले कुनै रुचि देखाउँदिनन् ।

वडा कार्यालयको काम सकेपछि उनीहरू रातो र सेतो रङको फरक-फरक कारमा अलग-अलग दिशा लाग्छन् । त्यसपछि मात्र माइली हाँस्छिन् ।

000

यसरी सुरु हुने ‘एक मुठ्ठी बाँदल’ एउटा ‘मध्यम वर्गीय नेपाली परिवार’को कथा हो । पारिवारिक ड्रामा र नारीवादी फिल्म पनि भन्न सकिन्छ। फिल्मबारे समष्टिगत रूपमा खोतल्नुअघि नामबाटै विषयवस्तुमा छिरौं ।

एक मुठ्ठी बाँदल- यो नाम निकै काव्यात्मक सुनिएको छ । बिम्बात्मक छ भन्ने त नामबाटै थाहा हुन्छ ।

अनलाइनखबरसँगको कुराकानीमा फिल्मकी लेखक/निर्देशक सहारा शर्माले यो नामको अर्थ खुलाउने कोसिस गरेकी थिइन् । ‘हाम्रो समाजमा महिलाहरूले सपना देख्न पाउँछन्/पाउँदैनन् ? यदि सपना देखिहाले उनीहरूले त्यसलाई समात्न पाउँछन्/पाउँदैनन् ? भन्ने प्रश्न’ को बिम्ब हो । किनकि मुठ्ठीमा बादल राख्न असम्भव छ । राखिहाले अस्थायी मात्र हुन्छ ।

नाम नै यति बिम्बात्मक भएको यो फिल्मले ती प्रश्न आफ्नो कथामार्फत साँच्चै उठाउन सकेको छ त ? फिल्मको कथा आँचल शर्माले निभाएको पात्र माइलीबाट धेरै ठाउँ अघि बढेको छ । माइली पढेलेखेकी युवती हो । ऊ अमेरिकासमेत गएर फर्किसकेकी छे । फिल्ममा अमेरिकालाई मध्यम वर्गीय परिवारको सपनाको रूपमा देखाएको छ ।

घरपरिवारसँग माइलीको सम्बन्ध ठीकठाक छ । असाध्यै राम्रो पनि छैन, असाध्यै बिग्रेको पनि छैन । तर, परिवारले पछ्याउने नियमहरू, लिखित हुन् या अलिखित, तीबारे उनमा प्रश्न धेरै छन् । आमाबुबाले भाइ र आफूमा गर्ने फरक व्यवहार उनलाई पच्दैन । जेठी दिदीसँगको सम्बन्ध पनि ठीकठाक छ । उनीहरू दुवैले सुखद् बाल्यकाल बिताएका हुन्छन् । तर, दिदीको विवाह पछि त्यो सम्बन्धमा केही समस्या आएको छ ।

त्यस्तै माइली अलि जिद्दी, घरका समस्याहरू आफैंले सुल्झाउन सक्ने र मनमा लागेको कुरा फ्याट्ट भनिहाल्न सक्ने पात्र पनि हो । पूरा परिवार उनकै विवाहको तयारीमा जुटिसकेको छ । जुन विवाहमा उनको फिटिक्कै रुचि देखिँदैन । यद्यपि आफन्तहरू आइरहेका छन् । घरमा झिलिमिली बत्ति बलिरहेको छ । तर, माइली एक रत्ती खुसी छैनन् । खुसीको नाटक मात्र गरिरहेकी छिन् । जेठी दिदी र भाइसँग अलिअलि खुल्न खोज्छिन्, तर त्यहाँ पनि माइली पूरा खुल्न सक्दिनन् ।

अनि, माइली एकान्त समय बिताउन जान्छिन् । त्यहाँ उनी अलि खुलेर मुस्कुराउँछिन् । तर, त्यो मुस्कान धेरै समयसम्म टिक्दैन । बरु त्यहाँ उनले अघि भर्खरै आमाले लगाइदिएको सुनको चुराबाला फुकाल्छिन् ।

जोसँग विवाह हुँदैछ, माइलीसँग उनको चिनजान २ वर्ष पुरानो हो । ती पुरुष पात्रसँग माइलीको परिवार पनि खुसी छन् । तर माइली छैन । किन छैन ? कथामा यो कुरा स्पष्टसँग खुल्न सकेको छैन । खुल्न सकेको भए राम्रो हुने थियो ।

फिल्मले अर्को एउटा गम्भीर दार्शनिक प्रश्न उठाएको छ: के हाम्रा परम्परागत संस्कारहरूले पछिल्ला पुस्ताको मनलाई शान्ति दिन सक्छन् ?

कथा अनुसार ती पुरुष पात्र र माइलीको आधारभूत सोच नै मिल्दैन । ती पुरुष पात्र पढेलेखेका भए पनि पृतिसत्तामक सोच राख्ने छन् । सायद यो कुरासँग माइली सहसत छैन । अर्को घरको आर्थिक हैसियत पनि कारण हो । माइलीको परिवार तराईंको कुनै गाउँमा बस्छन् । ती पुरुषको परिवार काठमाडौंमा । त्यो विभेद सायद माइलीलाई मन पर्दैन ।

अर्को रह्यो, वैयक्तिक स्वतन्त्रताको कुरा । माइली अलि स्वच्छन्द रहन खोज्ने पात्र हुन् । त्यसमा दिदी, भाइ, आमा, बुबा र अन्य आफन्तको भूमिका के हुन्छ ? उनीहरूले माइलीको सोचलाई बुझ्न सक्छन्/सक्दैनन् ? यी यस्ता पोका फुकाल्दै माइलीको घरको भित्री कथा फिल्ममा भनिएको छ ।  तर के माइलीको परिवारले एउटा समग्र ‘मध्यम वर्गीय नेपाली परिवार’को कथा भन्न सकेको छ त ? यो प्रश्नको जवाफ पनि दर्शकलाई ।

यति भनौं, यो फिल्म नेपाली समाजको एउटा जटिल मोडको चित्रण गर्ने प्रयास हो । यसका लागि निर्देशक/निर्माताले जुन शैलीमा फिल्म बनाउन आँट गरेका छन्, त्यो सह्रानीय छ । यो फिल्मको सबैभन्दा बलियो र केन्द्रीय पक्ष भनेको यसले चित्रण गरेको दुई पुस्ताबीचको द्वन्द्व हो । यो द्वन्द्व उमेर, पुराना मूल्यमान्यता र आधुनिक सोचबीचमा देखिन्छ ।

फिल्ममा नयाँ पुस्ता, पुराना नियम र परम्पराप्रति निकै आवेगी र विद्रोही देखिएका छन् । उनीहरूलाई पुराना नियमहरू एक प्रकारको बोझ जस्तो लाग्छ । यद्यपि, फिल्मले सफल विद्रोह देखाउन सकेको छैन । नयाँ पुस्ताले पुराना नियमप्रति असन्तुष्टि व्यक्त गरे पनि तिनीहरूलाई पूर्णरूपमा जित्न वा उछिन्न सकेको छैन । यति भनौं, फिल्मको लामो अवधिभर एउटा निर्णयमा अडिग रहेकी माइली पनि यही लयमा जान्छिन् ।

अर्कोतर्फ, पुराना परम्परा र संस्कारहरू अब पहिला जस्तो सबल र प्रभावकारी रहेका छैनन् भन्ने फिल्ममा देखिन्छ । यो एउटा यस्तो अवस्था हो, जहाँ पुराना कुराहरू मर्दैछन् तर नयाँ कुराहरू पूर्णरूपमा जन्मिन वा स्थापित हुन सकेका छैनन् । जसले गर्दा दुवै पुस्ता एउटा अलमलमा बाँच्नुपरेको छ।

फिल्मले समाजमा रहेका ‘नलेखिएका नियमहरू’ को खतरनाक पक्षलाई पनि उजागर गरेको छ । कानुनमा लेखिएका नियमहरू भन्दा पनि समाज र संस्कृतिले थोपरेका अदृश्य नियमहरूले जीवनलाई बढी नियन्त्रण गरिरहेका हुन्छन् । यी नियमहरूले सांस्कृतिक दायित्वलाई बढावा दिन्छन् ।

फिल्मका पात्रहरू यस्ता सांस्कृतिक बन्धनहरूबाट मुक्त हुन चाहन्छन् । उदाहरणका लागि, रोटी गोलो नै बनाउने । पुरुष पात्रहरूले खाइसकेपछि मात्र महिलाले खाने, गरगहनादेखि, नाक, कान छेड्ने परम्परागत आदि ।

फिल्मले अर्को एउटा गम्भीर दार्शनिक प्रश्न उठाएको छ: के हाम्रा परम्परागत संस्कारहरूले पछिल्ला पुस्ताको मनलाई शान्ति दिन सक्छन् ? फिल्ममा भने त्यस्ता परम्पराहरूले नयाँ पुस्ताको आन्तरिक रिक्ततालाई भर्न सकेको देखाइदैन । उनीहरू सबैमा एउटा खोक्रोपन छ ।

त्यस्तै समाज एउटा अवस्थाबाट अर्को अवस्थामा रूपान्तरण हुँदा त्यसले व्यक्तिमा कस्तो असर पार्छ भन्ने कुरा पनि फिल्मको एउटा मुख्य पाटो हो । पात्रहरूमा निरन्तरको टाउको दुखाइ र तनाव देखिएको छ, जुन सामाजिक संक्रमणको उपज हो ।

फिल्मले पितृसत्ताको मुद्दालाई पनि उठाउन खोजेको छ । तर, यो मुद्दा प्रभावकारी रूपमा उठ्न सकेको छैन । धेरै विषय र पात्रहरूलाई एकै ठाउँमा मिसाउँदा फिल्मले कुनै एउटा निश्चित दिशा लिँदैन । फिल्मलाई कलात्मक बनाउने नाममा वास्तविकता निकै अतिरञ्जित हुन पुगेको छ ।

फिल्ममा उठान गर्न खोजिएको गम्भीर विषय र गरिएको प्रस्तुतीबीच विरोधाभास छ । भनौं, फिल्मले अंगाल्नुपर्ने न्यूनतम दृष्टिकोणको सट्टा अनावश्यक जटिलता थपेको छ ।

सायद त्यसभन्दा माथि उठेर निर्देशक/निर्माताले सोचेको भए यो फिल्म धेरै अब्बल हुने थियो । त्यो अभाव हुँदा निर्माता/निर्देशकको अन्तर्य वा नियत वास्तवमै गहिराइमा पुग्ने थियो कि थिएन भन्ने कुरामा प्रश्न उठाउने ठाउँ रहेको छ ।

तर, नयाँ शैली, नयाँ विधा, पात्रहरूको मनोविज्ञान, सिनेम्याट्रोग्राफीको हकमा भने तपाईंले केही बढी पाउनुहुने छ ।

लेखक
सापेक्ष

सापेक्ष अनलाइनखबरमा कला, मनोरञ्जन विधामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?