+
+
Shares
फेरिँदो एमाले :

एमालेमा हलचलको संकेत गर्ने बल्खुका दृश्यहरू

एमाले नेता भन्छन्– ‘विद्यालाई रोक्न ओलीले जुन नेताहरुको साथ लिनुभएको थियो, आज तिनै नेताहरूले अप्ठ्यारो पार्ने संकेत देखिँदैछ । त्यसकारण ओलीले विद्यासँग मिल्ने नीति लिएको हुनसक्छ ।’

सइन्द्र राई सइन्द्र राई
२०८३ जेठ ३ गते २२:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेले मदन भण्डारी र जीवराज आश्रितलाई सम्झेर बल्खुमा औपचारिक सभा आयोजना गरेको छ।
  • पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीले प्रमुख वक्ता बनाएको छ र ओलीसँग उनको सम्बन्ध सुधार भएको छ।
  • एमालेले बल्खुमै नयाँ केन्द्रीय कार्यालय भवन बनाउने घोषणा गरेको छ ।

३ जेठ, काठमाडौं । मदननगर बल्खुले मदन भण्डारीलाई सम्झियो । केपी शर्मा ओलीले पनि मदनलाई नै सम्झिए । तर आज जेठ ३ गते उनीहरू एकै ठाउँ बसेर यो काम गरिरहेका थिएनन् ।

नेकपा एमालेका अध्यक्ष ओलीले सामाजिक सञ्जालका माध्यमबाट मदन भण्डारी र जीवराज आश्रितलाई सम्झिँदा केही नोस्टाल्जिक बन्दैथिए ।

‘घाउहरू पुराना भएपनि समय बित्दै जाँदा तिनको दुखाइका स्मृति झन् गाढा हुँदारहेछन्, अभावहरू झन् गहिरिँदा रहेछन्,’ ओलीले फेसबुक स्टाटस लेखेका छन्, ‘जननेता मदन भण्डारी मेरो नेता, साथी र सहयोद्धा- सबै हुनुहुन्थ्यो । जीवराज आश्रित कुशल संगठक हुनुहुन्थ्यो ।’

मदनबारे ओलीले थप लेखेका छन्, ‘मदनलाई सम्झँदा केवल एउटा नेता वा मित्र गुमाएको पीडा मात्र होइन, एउटा युगद्रष्टा सहयोद्धा गुमाएको अनुभूति हुन्छ ।’

एमालेका अरू नेताहरूले भने बल्खुस्थित मदनको प्रतीमाअघि औपचारिक सभा गरेरै मदन भण्डारी र जीवराज आश्रितलाई सम्झिए । पार्टी उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को अध्यक्षतामा सम्पन्न सभाको प्रमुख वक्ता थिइन्, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी ।

पार्टीले गरेको औपचारिक सभाकै प्रमुख वक्ता बन्ने अवसर पाएकी भण्डारीले मदनको मार्गदर्शनबमोजिम चल्न पार्टी पङ्तिलाई निर्देशन नै दिइन् ।

‘नेकपा एमालेले लोकतान्त्रिक आन्दोलन, संविधान निर्माण र विकासको यात्रामा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ । अब पार्टीले जनविश्वासलाई सुदृढ बनाउन जनमुखी कार्यशैली, आत्मअनुशासन र सेवाभावलाई व्यवहारमा उतार्नुपर्दछ,’ भण्डारीले भनिन्, ‘कार्यकर्ताहरू जनताको बीचमा पुग्नुपर्दछ । जनताको दु:खसुखमा सहभागी हुनुपर्छ ।’

जबकि पूर्वराष्ट्रपति भण्डारीलाई १० महिनाअघि मात्र पार्टी सदस्यता नवीकरण नगरेर एमालेको राजनीतिमा आउन रोक लगाइएको थियो । ११ औं राष्ट्रिय महाधिवेशनबाट नेतृत्व लिनेगरी गतिविधि बढाएकी भण्डारीलाई रोक्न गत वर्ष साउन पहिलो साता पार्टी सदस्यता नवीकरण नगर्ने निर्णय भएको थियो ।

एमालेका पूर्वउपाध्यक्ष भण्डारीबारे अहिले पनि पार्टी निर्णय बदलिएको छैन । तर आज मदन–आश्रित सभामा उनैलाई प्रमुख वक्ता मानेर एमालेका शीर्ष नेताहरू सहभागी भए ।

पुरानो मुख्यालय रहेको बल्खुमा आयोजित सभामा विष्णुप्रसाद पौडेल, गोकर्ण विष्ट, शंकर पोखरेल, योगेश भट्टराई, पद्मा अर्याल, महेश बस्नेत, राजन भट्टराई, हिक्मत कार्की, विजय सुब्बा, पुष्प कँडेल लगायत पदाधिकारीहरू सहभागी थिए । पुराना नेताहरू ईश्वर पोखरेल, युवराज ज्ञवाली, अमृतकुमार बोहरा र केशव बडाल पनि बल्खु पुगेका थिए ।

बल्खुको दृश्यले भनिरहेको थियो– एमालेको नीति नेतृत्वमा केही न केही हलचल आइरहेको छ ।

लगभग सिंगो एमाले पङ्ति बल्खु पुग्दा अध्यक्ष ओली सामाजिक सञ्जालमा मात्र देखिनुलाई स्वास्थ्यको कारण भनिएको छ । गत चैत अन्तिम साता शल्यक्रिया गराएका ओलीको स्वास्थ्यमा अझै समस्या रहेकाले उनी बल्खु नगएको र प्रमुख वक्ताका रूपमा पूर्वराष्ट्रपति भण्डारीलाई बोलाइएको नेताहरू बताउँछन् ।

‘मदन भण्डारी र जीवराज आश्रितलाई सम्झने भनेपछि उहाँहरूका परिवारका मान्छेलाई सम्झनु स्वभाविक हो, बोलाइँदै आएको पनि हो,’ एक जना पूर्वपदाधिकारी भन्छन्, ‘यसपटक अलिक चासोका साथ हेरिएको पाइयो । तर धेरै शंकाले हेर्नुपर्छ जस्तो लाग्दैन ।’

ओलीको विकल्पमा नेतृत्व लिने योजनासहित राजनीतिक सक्रियता बढाएकी भण्डारीको सदस्यता नै नवीकरण नगर्ने जस्तो निर्णय भएको पृष्ठभूमिमा आजको दृश्य अर्थपूर्ण रहेको भने उनी स्वीकार्छन् । ‘सदस्यता नवीकरण गरिदिन बुझाएको निवेदन समेत अस्वीकृत गरिदिने कार्यालयबाट प्रमुख अतिथिको निम्तो जानु पक्कैपनि अर्थपूर्ण भयो,’ उनी भन्छन् ।

स्रोतका अनुसार यो कार्यक्रममा विद्या भण्डारीलाई प्रमुख अतिथि बनाउने निर्णय केहीदिन अघि नै पक्का गरिएको थियो । ‘पार्टी स्थापना दिवसका दिन पनि अन्तिमसम्म आउने भनेर ओली आउन सक्नुभएन । यसपटक त्यस्तो नहोस् भनेर प्रमुख वक्ताबारे टुंगो लगाइएको थियो,’ केन्द्रीय कार्यालय स्रोत भन्छ ।

ओली-भण्डारी : सम्बन्ध सुधार

पूर्वराष्ट्रपति भण्डारीलाई एमालेले औपचारिक कार्यक्रमको प्रमुख वक्ता बनाउँदा कतिपयले ओलीसँगको सम्बन्धसँग जोडेर हेरेका छन् । गत २१ फागुन यता ओली र भण्डारीबीच भेटवार्ता बाक्लिएकाले यो अनुमान भएको बुझ्न सकिन्छ ।

बितेको दुई महिनामा चारपटक यी दुई नेताबीच भेटवार्ता भइसकेको छ । पछिल्लोपटक, २८ वैशाखमा गुण्डु पुगेकी भण्डारीले ओलीसँग साढे दुई घण्टा बढी संवाद गरेकी थिइन् । स्रोतका अनुसार उक्त भेटमा भण्डारीले निर्वाचनको नतिजा समीक्षा गर्नेगरी सचिवालय बैठक बोलाउन ओलीलाई सुझाव दिएकी थिइन् ।

यसअघि पितृशोकमा रहेका ओलीलाई समवेदना दिन १ चैतमा गुण्डु पुगेकी भण्डारीले अरू दुईवटा भेटवार्ताका लागि भने अस्पताल पुगेकी थिइन् । गिरफ्तारीमा परेका बेला ओलीलाई १६ चैतमा र शल्यक्रिया अघि २९ चैतमा शिक्षण अस्पताल पुगेर भण्डारीले भेटेकी थिइन् ।

यिनै भेटवार्ताहरूको परिणाम भण्डारीलाई एमालेको औपचारिक कार्यक्रममा प्रमुख वक्ता बनाइएको कतिपय नेताहरू तर्क गर्छन् । ‘पछिल्लो समय उहाँहरूबीच सम्बन्ध सुधार भएको देखिन्छ,’ एक नेता भन्छन्, ‘आजकै कार्यक्रममा विद्या भण्डारीलाई प्रमुख वक्ता बनाउने निर्णय पनि केपी ओलीको सहमति बिना नहुनसक्छ ।’

उपाध्यक्षहरू विष्णुप्रसाद पौडेल, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण बिष्ट, रघुजी पन्त, महासचिव शंकर पोखरेल लगायत अधिकांश पदाधिकारीले साथ नदिने बुझेपछि ओलीले पूर्वराष्ट्रपति भण्डारीसँग नजिकिने विकल्प रोजेको हुन सक्ने उनी बताउँछन् ।

‘पूर्वराष्ट्रपतिलाई रोक्न जुन नेताहरूको साथ लिनुभएको थियो, आज तिनै नेताहरूले अप्ठ्यारो पार्ने संकेत देखिँदैछ,’ उनी भन्छन्, ‘त्यसकारण केपी ओलीले विद्या भण्डारीसँग मिल्ने नीति लिएको हुन सक्छ ।’

भण्डारी निकट नेताहरू पनि एमालेभित्रको शक्ति संघर्ष पुरानै अवस्थामा नरहेको स्वीकार्छन् । ‘केपी ओलीले अघिल्लो साल मदन भण्डारीविरुद्ध विष ओकल्नु भएको थियो । उद्देश्य थियो, विद्या भण्डारीलाई रोक्ने,’ भण्डारी निकट एक नेता भन्छन्, ‘यसपटक त्यो स्थितिमा हुनुहुन्न । बरू विद्या भण्डारीलाई प्रमुख अतिथि मान्न तयार देखिनु भएको छ ।’

तेस्रो धारको सन्देश

पार्टी ओली र पूर्वराष्ट्रपति भण्डारीबाहेक एमालेमा तेस्रो पक्ष पनि संघर्षरत देखिन्छन्– दोस्रो तहका पदाधिकारीहरू ।

विशेषगरी विष्णुप्रसाद पौडेल र शंकर पोखरेलहरूले केन्द्रीय कार्यालय च्यासलमार्फत अलग रणनीतिसाथ गतिविधि गरिरहेका छन् । आजकै सभाका वक्ताहरूको अभिव्यक्तिबाट पनि एमालेका तीन प्रष्ट धार देखिएका थिए ।

ओलीको भाषा बादलले बोलेका थिए । दासढुंगा प्रकरणलाई जेनजी आन्दोलनसँग जोडेर विश्लेषण गरेका बादलले ओलीको चाहना बोलिरहेका छन् भन्ने सजिलै अनुमान लगाउन सकिन्थ्यो । पूर्वराष्ट्रपति भण्डारीले बीच–बीचको भाषा बोलेकी थिइन् ।

तर महासचिव पोखरेलले भने लामो विश्लेषणसहित पार्टी नीतिहरूकै समीक्षा रहेको निष्कर्ष सुनाएका थिए । ‘हारको पीडालाई निराशा र निराशालाई पलायनतर्फ जान दिन हुँदैन,’ पोखरेलले भनेका थिए, ‘हाम्रा नीतिहरुको कमजोरी खोज्नुपर्छ । इतिहासबाट शिक्षा लिएर अगाडि बढ्नुपर्छ ।’

सभा सञ्चालनकै क्रममा महासचिव पोखरेलले मदननगर बल्खुमै एमालेको नयाँ केन्द्रीय कार्यालय भवन बन्ने घोषणा गरे । यो घोषणा अर्थपूर्ण छ ।

केही वर्ष एमालेको केन्द्रीय कार्यालय कहाँ र कसले बनाउने भन्ने मतभेद हुँदैआएको छ । २०८१ असोजमा ओलीले व्यवसायी मीनबहादुर गुरुङबाट केन्द्रीय कार्यालय भवन दानमा लिने निर्णय गरेका थिए । जुन निर्णयविरुद्ध बोल्दा विन्दा पाण्डे र उषाकिरण तिम्सेनालाई निलम्बन गरिएको थियो भने अरू थुप्रै नेता कारबाहीमा परेका थिए ।

तर, निलम्बनको निर्णय लेख्ने उनै महासचिव पोखरेलले आज बल्खुमै एमालेको केन्द्रीय कार्यालय भवन बन्ने घोषणा गरे । जबकि भोलि एमालेको सचिवालय बैठक बस्दैछ । महासचिव पोखरेलको घोषणाबाट एउटा पङ्ति उत्साहित देखिएका छन् ।

‘मदन नगरमा नै नेकपा एमालेको केन्द्रीय कार्यालय बनाउनुपर्छ भनेर लागिरहने हामी रूपान्तरणकारीहरूको लागि यो खुसीको खबर मा होइन, आम नेकपा एमालेलाई माया गर्ने सदस्य, शुभेच्छुक, नेता, कार्यकर्ता सबैका लागि खुसीको खबर हो,’ एमाले नेता गजेन्द्र थपलियाले लेखेका छन् । बुद्धिजीवी परिषका अध्यक्ष थपलियाले बल्खुमै केन्द्रीय कार्यालय बनाउने निर्णयबाट पार्टी विगतका बरालिएको सन्दर्भ समेत सम्झिएका छन् र अब संस्थागत बाटोमै फर्कनसक्ने आकलन गरेका छन् ।

नेताहरूका अनुसार सुधारतर्फ एमाले उन्मुख भएको सन्देश दिनकै निम्ति बल्खुमै भवन बनाउने निर्णय सुनाइएको हो । यो खेमाका नेताहरूले नेतृत्व परिवर्तन गर्ने उद्देश्य राखेर गतिविधि गरिरहेका छन् । त्यसका निम्ति ओलीलाई क्रमश: पार्टी गतिविधिहरूबाट अलग गराउने र नेतृत्व परिवर्तनको उपयुक्त वातावरण बनाउने नीति लिएको एक पदाधिकारी बताउँछन् ।

‘९ वैशाखको स्थापना दिवसमा ईश्वर पोखरेललाई बोलाइएको थियो,’ उनी भन्छन्, ‘आज पूर्वराष्ट्रपति आउनुभयो । सबैलाई समेट्दै र एकताबद्ध प्रयत्नबाटै पार्टी पुनर्गठन गर्नुपर्छ ।

लेखक
सइन्द्र राई

राई अनलाइनखबरका राजनीतिक ब्यूरो प्रमुख हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?