+
+
Shares
कर्मचारी आचारसंहिता :

श्रम मन्त्रालय : कर्मचारीलाई उपहार लिन र सामाजिक सञ्जाल चलाउन निषेध

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ४ गते १९:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • युवा, श्रम तथा रोजगार मन्त्रालयले कर्मचारी आचारसंहिता जारी गरेको छ जसले कर्मचारीको आचरणलाई निष्पक्ष, पारदर्शी र सेवामूलक बनाउने लक्ष्य राखेको छ।
  • आचारसंहिताले कर्मचारीको व्यक्तिगत आचरण, कार्यालय व्यवहार, सेवा प्रवाह, गोपनीयता, आर्थिक अनुशासन र सामाजिक सञ्जाल प्रयोगसमेत समेटेको छ।
  • कर्मचारीले सेवाग्राहीसँग शिष्ट व्यवहार गर्नुपर्ने, घुस र पद दुरुपयोग गर्न नपाइने तथा आचारसंहिताको उल्लंघनमा विभागीय कारबाही हुने व्यवस्था गरिएको छ।

४ जेठ, काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्रालयले कर्मचारी आचारसंहिता जारी गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट युवा, श्रम तथा रोजगार मन्त्रालय बनेपछि मन्त्रालय र मातहत निकायका कर्मचारीलाई आचारसंहिता जारी भएको हो ।

मन्त्रालय र अन्तर्गतका निकायमा कार्यरत कर्मचारीको आचरणलाई निष्पक्ष, पारदर्शी, लोकतान्त्रिक एवम् सेवामूलक बनाई कार्यसम्पादन तथा सेवा प्रवाहमा प्रभावकारी ल्याउन आचारसंहिता जारी भएको मन्त्रालयले जनाएको छ ।

यसले कर्मचारीको आचरण र व्यवहारलाई सदाचारयुक्त, सहयोगी, सेवामुखी, अनुशासित र मर्यादित बनाउन भूमिका खेल्ने मन्त्रालयको भनाइ छ ।

नयाँ आचारसंहिताले कर्मचारीको व्यक्तिगत आचरण, कार्यालय व्यवहार, सेवा प्रवाह, गोपनीयता, आर्थिक अनुशासन तथा सामाजिक सञ्जाल प्रयोगसम्मका विषयलाई समेटेको छ । आचारसंहिताले जिम्मेवार, पारदर्शी र अनुशासित प्रशासन सुनिश्चित गर्ने लक्ष्य राखेको छ ।

आचारसंहिताअनुसार कर्मचारीले सेवाग्राहीसँग शिष्ट, मर्यादित र सम्मानजनक व्यवहार गर्नुपर्नेछ । कुनै पनि प्रकारको घुस, उपहार, सुविधा वा अनुचित लाभ लिन नपाइने व्यवस्था गरिएको छ । आफ्नो पद र अधिकारको दुरुपयोग गर्न, व्यक्तिगत स्वार्थका लागि निर्णय प्रभावित पार्न तथा सरकारी स्रोत–साधन निजी प्रयोजनमा प्रयोग गर्न पनि निषेध गरिएको छ ।

मन्त्रालयले कार्यालय समयको पूर्ण पालना गर्न, निर्धारित पोशाक लगाई शिष्ट व्यवहार अपनाउन, सहकर्मीसँग सहयोगी सम्बन्ध कायम गर्न र कार्यालयको गोपनीयता संरक्षण गर्न कर्मचारीलाई निर्देशन दिएको छ । निर्णय प्रक्रिया, कागजात तथा सेवाग्राहीसँग सम्बन्धित संवेदनशील जानकारी अनधिकृत रूपमा सार्वजनिक गर्न नपाइने उल्लेख छ ।

आचारसंहिताले सामाजिक सञ्जालको प्रयोगलाई पनि व्यवस्थित गरेको छ । कार्यालय अवधिमा मोबाइल तथा कम्प्युटरमार्फत व्यक्तिगत प्रयोजनका लागि सामाजिक सञ्जालको प्रयोगमा रोक लगाइएको छ । पदीय हैसियतबाट मन्त्रालय वा निकायका नामबाट सामाजिक सञ्जालको प्रयोग गर्दा व्यक्तिगत पहिचान समेत खोल्न नपाइने भएको छ ।

त्यस्तै कर्मचारीले कृत्रिम बुद्धिमता (एआई), तथ्यांक विश्लेषण, मेसिन सिकाई लगायत प्रविधिको प्रयोग गर्दा गोपनीयता, निष्पक्षता र उत्तरदायित्वको सिद्धान्त पालना गर्नुपर्नेछ ।

कार्यालय समय बाहेकको समयमा समेत सामाजिक सञ्जाल प्रयोग गर्दा सेवाको मर्यादा र आस्थामा आँच नआउनेगरी व्यवसायिक अचारसंहितमाको अधिनमा रही उच्चतम सतर्कता अपनाई प्रयोग गर्नुपर्नेछ ।

सरकारी नीतिविरुद्ध भ्रम फैलाउने, संस्थाको प्रतिष्ठामा आँच पुग्ने सामग्री प्रकाशन गर्ने वा गोप्य सूचना सार्वजनिक गर्ने कार्यलाई अनुशासनहीनता मानिने व्यवस्था गरिएको छ।

कर्मचारीले लैंगिक समानता, समावेशिता, मानवअधिकार र पेशागत नैतिकताको सम्मान गर्नुपर्ने तथा कार्यालयमा कुनै पनि प्रकारको विभेद, दुर्व्यवहार वा यौनजन्य उत्पीडन गर्न नहुने प्रावधान राखिएको छ ।

आचारसंहिताको पालना नगरेमा प्रचलित कानुनअनुसार विभागीय कारबाही हुने मन्त्रालयले जनाएको छ । सबै कर्मचारीले आचारसंहिताको पालना गर्ने प्रतिबद्धतासहित हस्ताक्षर गर्नुपर्ने व्यवस्था समेत गरिएको छ । मन्त्रालयका अनुसार यो आचारसंहिताले सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र सेवामुखी बनाउने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?