+
+
Shares

‘काजी’ बारे विपिन कार्की : अब प्रेमकथामा फिल्महरू प्रशस्त बन्नुपर्छ

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ५ गते १५:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म 'काजी' ट्रेलर र गीत सार्वजनिक भएसँगै प्रदर्शन तयारीमा छ र अभिनेता विपिन कार्कीले कथाबारे बताएका छन्।
  • विपिन कार्कीले फिल्मको कथा प्रेमलाई दैनिक जीवनका साना व्यवहारमा खोज्ने शैलीमा रहेको बताए।
  • फिल्ममा केकी अधिकारीको अभिनय छ र उनले यो घर-घरको कथा भएकाले दर्शकले आफूलाई जोड्न सक्ने बताइन्।

काठमाडौं । शुक्रबारदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘काजी’ अहिले चर्चामा छ । ट्रेलर र गीत सार्वजनिक भएसँगै दर्शकमाझ उत्साह बढिरहेको बेला अभिनेता विपिन कार्कीले कथा, आफ्नो पात्र र अभिनय अनुभवबारे बताएका छन् ।

यो फिल्म आफूले यसअघि नगरेको फरक शैलीको प्रेमकथामा आधारित भएका उनको कथन छ । ‘सुरुवातमा चलचित्रको कथा अर्कै थियो, तर केही समयपछि निर्माण टोलीले नयाँ कथासहित आफूलाई पुनः प्रस्ताव गरेको थियो’ उनले भने, ‘पहिले हामी अर्को कथामा ‘काजी’को कामलाई अगाडि बढाउने सहमतिमा थियौं । पछि टिम फेरिएर आयो र कथा परिवर्तन गरियो । अहिले बनेको कथा फरक स्वादको छ, जुन मलाई पनि निकै मन पर्‍यो ।’

कार्कीका अनुसार फिल्मले प्रेमलाई केवल ठूला संवाद वा भावनात्मक अभिव्यक्तिमा मात्र सीमित नगरी दैनिक जीवनका साना व्यवहार र सम्बन्धभित्र खोजेको छ । उनले श्रीमान-श्रीमतीबीचको समझदारी, त्याग र सँगै खुशी भएर बाँच्ने भावनालाई कथाको केन्द्रमा राखिएको बताए ।

उनले भने, ‘साना-साना कुरामा पनि प्रेम प्रकट हुन्छ । श्रीमतीको खुशीमा आफ्नो खुशी खोज्ने, एकअर्काका लागि त्याग गर्ने यस्ता सूक्ष्म भावनालाई ‘काजी’ले निकै सुन्दर ढंगले प्रस्तुत गरेको छ ।’

उनका अनुसार फिल्मले प्रेमलाई केवल संवाद वा भावनामा सीमित नगरी व्यवहारिक जीवनका साना-साना पक्षमा खोजेको छ । ‘ठूला-ठूला प्रेमका कुरा मात्रै होइन, व्यवहारका साना कुरामा पनि प्रेम हुन्छ । यही कुरा ‘काजी’ले सूक्ष्म ढंगले देखाएको छ,’ उनले भने, ‘मलाई लाग्छ फिल्म हेरेपछि दर्शकले ‘काजी-कजिनीको प्रेम पो प्रेम’ भन्नुहुनेछ ।’

विपिनले आफू पनि वैवाहिक जीवन बाँचिरहेको व्यक्ति भएकाले पात्र बुझ्न धेरै कठिन नभएको अनुभव सुनाए । उनले काजीको पात्रलाई आफ्नो जीवनसँग नजिक महसुस गरेको बताए । ‘म आफैँ पनि एउटा श्रीमान् हुँ । त्यसैले यो पात्रका भावनाहरू मैले जीवनमै अनुभव गरिरहेको छु । अन्य केही फिल्ममा जस्तो धेरै तयारी गर्नुपरेन,’ उनले भने ।

चलचित्रको समय परिवेश २०५० सालअघिको रहेको र आफूले निर्वाह गरेको पात्र ‘काजी खानदान’ को विरासत बोकेको युवक भएको उनले बताए । प्रेममा डुबेको, बाहिरी संसारसँग खास सरोकार नराख्ने पात्र आफूले यसअघि नगरेको भन्दै उनले यसलाई चुनौतीपूर्ण र नयाँ अनुभवका रूपमा लिएको बताए ।

अभिनयबारे बोल्दै विपिनले आफूले हरेक पात्रलाई फरक बनाउने प्रयास गर्ने गरेको उल्लेख गरे । दर्शकको अपेक्षाले जिम्मेवारी बढाएको स्वीकार्दै उनले अझ राम्रो काम प्रस्तुत गर्ने प्रयास जारी रहने बताए ।

पछिल्लो समय नेपाली फिल्ममा प्रेमकथाका फिल्म निर्माणमा कमी आइरहेको बेला काजीजस्ता फिल्म आएको उनको भनाइ छ । ‘हामीलाई अहिले मुनामदन, लैला मजनु, रोमियो जुलियट’जस्ता प्रेमकथाका फिल्म चाहिएको बेला हो’ विपिनले भने, ‘अब एकैखालका जनराका फिल्म होइन, विविध कथामा फिल्म बन्नुपर्छ ।’

‘काजी’ उत्कृष्ट प्रेमकथाको फिल्म भएको विपिनको दावी छ ।

ट्रेलर र गीतप्रति दर्शकबाट सकारात्मक प्रतिक्रिया आइरहेको भन्दै उनले अहिलेको नेपाली फिल्मभन्दा फरक स्वाद दर्शकले ‘काजी’मा पाउने दाबी गरे । विशेषगरी ‘वारि बर पारि पिपलु’ गीत टिकटकमा भाइरल भइरहेकाले पनि चलचित्रले राम्रो माहोल बनाइरहेको उनको भनाइ छ ।

उनले सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्मले चलचित्र प्रचारमा ठूलो सहयोग पुगेको उल्लेख गर्दै राम्रो कथा, बलियो प्रस्तुति र टिमवर्क नै दर्शक हलसम्म तान्ने मुख्य आधार भएको बताए ।

यो फिल्ममा केकी अधिकारीको पनि अभिनय छ । दर्शकलाई ‘काजी’ हेर्न आग्रह गर्दै केकीले यो फिल्मले निराश नबनाउने विश्वास व्यक्त गरिन् । ‘यो घर-घरको कथा हो । दर्शकले आफूलाई पात्रसँग जोड्न सक्नुहुन्छ । अहिले आइरहेका फिल्ममध्ये फरक दृष्टिकोणको चलचित्र हो,’ उनले भनिन् ।

लक्ष्मण रिजालको निर्देशनमा तयार भएको यस फिल्ममा विपिन र केकीका साथै गरिमा शर्मा, प्रकाश घिमिरे, हेमन्त बुढाथोकी, विशाल पहारी, विनोद न्यौपाने, रश्मी भट्ट, हिउँवाला गौतम लगायतको अभिनय छ । प्रदीप भारद्वाजको कथा रहेको फिल्मलाई रामप्रसाद रिजालले प्रस्तुत गरेका हुन् ।

रिजाल एण्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा नेहान रिजाल र विकासराज जोशी निर्माता हुन् । चिन्तन राजभण्डारीको छायांकन, कालीप्रसाद बास्कोटाको संगीत र विपीन मल्लको सम्पादन रहेको फिल्म ‘काजी’लाई श्रीराम बालाजी फिल्मस्ले वितरण गर्ने जिम्मेवारी लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?