News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद सरस्वती लामाले महँगी नियन्त्रणमा सरकार असफल भएको आरोप लगाएकी छिन्।
- सांसद लामाले महँगीले जनताको जनजीवन कष्टकर बनेको र सरकारको उपस्थिति महसुस नहुने बताएकी छिन्।
- उनले कृषि उत्पादन सुदृढ पार्न र स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न सरकारलाई आग्रह गरेकी छिन्।
५ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद सरस्वती लामाले अस्वाभाविक रूपमा बढ्दै गएको महँगी नियन्त्रण गर्न सरकार असफल भएको आरोप लगाएकी छिन् ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद लामाले महँगीका कारण आम नागरिकको जनजीवन कष्टकर बनेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी हुन् ।
बजारमा दैनिक उपभोग्य वस्तुहरू चामल, दाल र तरकारीदेखि लिएर पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको मूल्य आकासिएको उल्लेख गर्दै उनले सरकारले सुशासनको प्रत्याभूति दिन नसकेको बताइन् ।
सांसद लामाले दुई तिहाइको शक्तिशाली सरकार भएपनि जनताको पीडा सम्बोधन हुन नसकेको र सरकारको उपस्थिति नागरिकले महशुस गर्न नपाएको टिप्पणी गरिन् ।
नागरिकको आम्दानी स्थिर रहने तर खर्चको बोझ निरन्तर बढ्दै जाने अवस्थाले सामान्य मानिसलाई जीवन निर्वाह गर्न कठिन भएको उनको तर्क छ ।
‘आज महँगीले जनताको ढाड सेकेको छ, भान्छाको अवस्था दयनीय छ,’ उनले भनिन्, ‘के यही हो सरकारले दिलाउन चाहेको सुशासन? कालोबजारी रोक्न र जनतालाई आर्थिक राहत दिन सरकार किन अग्रसर छैन ?’
कृषि उत्पादन र आपूर्ति शृंखलालाई सुदृढ गर्दै आयातमा रहेको निर्भरता घटाउन र स्थानीय उत्पादनलाई प्रोत्साहन गर्नुपर्ने माग उनले गरिन् ।
प्रतिक्रिया 4