+
+
Shares

मूल्य पारदर्शिता सप्ताह : २०५ फर्म अनुगमन, १० लाई साढे ५ लाख जरिबाना

वाणिज्य विभाग टोलीले विभिन्न बजार पुगेर २ सय ५ व्यावसायिक फर्म तथा पसलको विस्तृत अनुगमन गरेको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १० गते १७:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सञ्चालन गरेको ‘मूल्य पारदर्शिता सप्ताह’ अन्तर्गत २०५ व्यावसायिक फर्म अनुगमन गरेको छ ।
  • अनुगमनका क्रममा कानून उल्लंघन गर्ने १० व्यावसायिक फर्मलाई विभागले ५ लाख ४५ हजार रुपैयाँ जरिबाना गरेको छ ।
  • विभागले सामान्य त्रुटि भेटिएका १९१ फर्मलाई तत्काल सुधार गर्न निर्देशन दिँदै थप ४ फर्ममाथि अनुसन्धान सुरु गरेको छ ।

१० जेठ, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा व्याप्त अनियमितता रोक्न र उपभोक्ता अधिकार सुरक्षित गर्न सञ्चालन गरेको ‘मूल्य पारदर्शिता सप्ताह’ अन्तर्गत १० व्यापारिक फर्ममाथि कारबाही गरेको छ ।

विभागले २८ वैशाखदेखि ३ जेठसम्म विशेष बजार अनुगमन अभियान सञ्चालन गरेको थियो । त्यस अवधिमा विभाग टोलीले विभिन्न बजार पुगेर २ सय ५ व्यावसायिक फर्म तथा पसलको विस्तृत अनुगमन गरेको थियो ।

अनुगमन क्रममा उपभोक्ता संरक्षण सम्बन्धी प्रचलित कानुन उल्लंघन गर्ने १० वटा फर्म तथा कम्पनीलाई विभागले तत्कालै कारबाहीको दायरामा ल्याएको जनाएको छ ।

दोषी देखिएका फर्मबाट जरिबाना स्वरूप कुल ५ लाख ४५ हजार रुपैयाँ असुल गरिएको विभागले जनाएको छ । जरिबानामा परेका बाहेक अन्य ४ फर्मका सम्बन्धमा थप अनुसन्धान र प्रमाण परीक्षण गर्नुपर्ने देखिएकाले आवश्यक कागजात माग गरी विभागले अध्ययन अघि बढाएको छ ।

अनुगमन गरिएका कुल संख्यामध्ये १ सय ९१ फर्ममा भने सामान्य प्रकृतिका त्रुटि र कमजोरी भेटिएकाले उनीहरूलाई सचेत गराउँदै तत्काल सुधार गर्न निर्देशन र सुझाव दिइएको छ ।

विभागले मूल्यसूची नराख्ने, उपभोक्ताको स्वास्थ्य प्रतिकूल वस्तु बेच्ने, वस्तुको न्यूनतम खुद्रा मूल्य (एमआरपी) भन्दा बढीमा सामान बेच्ने लगायतलाई कारबाहीको दायरामा ल्याएको हो ।

बजारमा मूल्यसूची अनिवार्य राख्नुपर्ने व्यवस्था कडाइसाथ लागु गराउनु, बिलबिजक अनिवार्य प्रयोग सुनिश्चित गर्नु, वस्तुको गुणस्तर कायम राख्नु र समग्र बजार अनुशासन कायम गराउनु यस अभियानको मुख्य उद्देश्य रहेको विभागको भनाइ छ ।

विभागले सम्पूर्ण व्यवसायीलाई प्रचलित कानुन पूर्णपालना गर्न, पसलमा मूल्यसूची अनिवार्य राख्न र गुणस्तरीय वस्तु तथा सेवामात्र उपलब्ध गराउन आग्रह गरेको छ ।

साथै, उपभोक्तालाई पनि बजारमा हुने कुनै पनि प्रकारको कालोबजारी, कृत्रिम अभाव, मूल्यमा अस्वाभाविक वृद्धि वा बिल नदिनेजस्ता गैरकानुनी गतिविधि देखे तत्काल विभागमा उजुरी वा जानकारी गराएर सहयोग गर्न आह्वान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?