+
+
Shares

‘डिपसिक’ को फ्ल्यागसिप मोडलको शुल्कमा ७५ प्रतिशत स्थायी छुट

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १० गते १८:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चिनियाँ एआई स्टार्टअप डिपसिकले आफ्नो फ्ल्यागसिप मोडल 'भी४-प्रो' को एपीआई शुल्कमा गरेको ७५ प्रतिशतको कटौतीलाई स्थायी बनाउने निर्णय गरेको छ।
  • डिपसिकले आफ्नो भी४-प्रो मोडलको कार्यक्षमता उच्च बनाउन हुवावे कम्पनीको 'एसेन्ड ९५०' चिप्सको प्रयोग गरेको छ।
  • नयाँ मूल्य निर्धारण अनुसार यस मोडलको एपीआई शुल्क प्रति १० लाख टोकनको प्रयोगका आधारमा ०.०२५ देखि ६ युआनसम्म कायम भएको छ।

चिनियाँ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) स्टार्टअप कम्पनी ‘डिपसिक’ ले आफ्नो सबैभन्दा शक्तिशाली फ्ल्यागसिप मोडल ‘भी ४-प्रो ‘ को एपीआई शुल्कमा गरेको ७५ प्रतिशतको भारी कटौतीलाई स्थायी बनाउने निर्णय गरेको छ।

शनिबार एक आधिकारिक विज्ञप्ति जारी गर्दै कम्पनीले यसअघि एउटा निश्चित प्रवर्द्धनात्मक योजना (प्रमोसन) अन्तर्गत ल्याएको यो छुटलाई अब स्थायी रूपमा निरन्तरता दिने घोषणा गरेको हो । यस कारण यो मोडलको प्रयोग शुल्क साविकको तुलनामा मात्र एक चौथाइ कायम हुनेछ।

डिपसिकले आफ्नो यस फ्ल्यागसिप मोडलको कार्यक्षमतालाई उच्च बनाउन हुवावे कम्पनीको ‘एसेन्ड ९५०’ चिप्सको प्रयोग गरेको छ ।

यद्यपि, यो स्थायी मूल्य कटौती हुवावेको चिप्स आपूर्तिमा भएको वृद्धिका कारण सम्भव भएको हो वा होइन भन्ने कुरा भने कम्पनीले खुलाएको छैन।

नयाँ मूल्य निर्धारण अनुसार भी ४-प्रो मोडलको एपीआई शुल्क प्रति १० लाख टोकनको प्रयोगको प्रकारका आधारमा ०.०२५ युआनदेखि ६ युआन सम्म कायम गरिएको छ, जुन यसअघि ०.१ युआनदेखि २४ युआनसम्म रहेको थियो। एआईको क्षेत्रमा ‘टोकन’ भन्नाले मोडलले प्रोसेस गर्ने शब्द वा अक्षरको सानो एकाइलाई बुझिन्छ।

हुवावेको एआई चिप्सको बिक्रीमा अमेरिकी निर्यात नियन्त्रण नीतिको अप्रत्यक्ष फाइदा पुगेको देखिन्छ, जसले अमेरिकी प्रविधि कम्पनी एनभिडियालाई आफ्ना सबैभन्दा उन्नत सेमिकन्डक्टरहरू चीनमा बिक्री गर्न प्रतिबन्ध लगाएको छ। तर, चिप्स बनाउने उपकरणहरूको निर्यातमा लगाइएका अन्य विभिन्न कडा प्रतिबन्धहरूका कारण हुवावेलाई पनि ठूलो परिमाणमा एसेन्ड चिप्सको उत्पादन बढाउन केही कठिनाइ भइरहेको छ।

गत महिना डीपसिकले आफ्नो चौथो पुस्ताको ‘भी४’ मोडल सार्वजनिक गर्दा उच्च क्षमताको कम्प्युटिङ पावरको अभाव भएका कारण प्रो भर्सनको उपलब्धता केही सीमित हुने र यसको मूल्य कम शक्तिशाली ‘फ्ल्याश’ भर्सनको तुलनामा १२ गुणा बढी हुने बताएको थियो।

कम्पनीले यसअघि सन् २०२६ को उत्तरार्धमा हुवावे एसेन्ड ९५० का सुपरनोडहरू ठूलो परिमाणमा उपलब्ध हुन थालेपछि प्रो भर्सनको मूल्यमा उल्लेख्य गिरावट आउने अनुमान गरेको थियो, तर उक्त अनुमानित समयभन्दा अगावै कम्पनीले मूल्य घटाएर विश्वव्यापी एआई बजारमा ‘प्राइस वार’ लाई अझ तीव्र बनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?