+
+
Shares

संविधान संशोधन विधेयक पारित गर्न संयुक्त सदन बस्न सक्ने प्रावधानको विपक्षमा एमाले

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ११ गते ९:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमाले संविधान संशोधन विधेयक पारित गर्न संयुक्त सदन बस्न सक्ने प्रतिनिधिसभा नियमावलीको प्रावधानको विपक्षमा उभिएको छ ।
  • एमाले नेता गुरुप्रसाद बरालले "यो सम्भव नै छैन । यस्तो गलत चीजलाई पास हुनै दिन्नौं" भन्दै विरोध गर्नुभएको छ ।
  • नयाँ नियमावलीको नियम १४० को उपनियम ११ मा दुवै सदनको दुई तिहाइ मतले संविधान संशोधन विधेयक पारित गर्न सक्ने व्यवस्था गरिएको छ ।

११ जेठ, काठमाडौं । नेकपा एमाले संविधान संशोधन विधेयक पारित गर्न संयुक्त सदन बस्न सक्ने प्रावधानको विपक्षमा उभिएको छ । ‘यो सम्भव नै छैन । यस्तो गलत चीजलाई पास हुनै दिन्नौं’ एमाले नेता गुरुप्रसाद बराल भन्छन्, ‘संविधानलाई प्रतिनिधिसभा नियमाववलीले कहाँ रिप्लेस गर्छ ?’

उनका अनुसार संविधान संशोधन विधेयक संघीय संसद्का दुवै सदनले छुट्टाछुट्टै रुपमा पारित गर्नुपर्छ । एउटा हाउसले फेल गरे त्यो अगाडि बढ्दैन ।

संविधान संशोधन जस्तो विषयमा संविधान विपरीतका भाषा नियमावलीमा आएको भन्दै उनले यसमा आफूहरूले खारेज गर्नका निम्ति संशोधन प्रस्ताव राखेको बताए ।

प्रतिनिधिसभामा पेस भएको नियमावलीको नियम १४० मा संविधान संशोधन विधेयकको कार्यविधि सम्बन्धी व्यवस्था छ ।

प्रतिनिधिसभाको नयाँ नियमावलीको नियम १४० को उपनियम (१११) मा भनिएको छ, ‘सभाद्वारा पारित भई राष्ट्रिय सभामा पठाइएको संविधान संशोधनसम्बन्धी विधेयक सन्देशसहित प्राप्त भएपछि प्रस्तावको पक्षमा प्राप्त भएको जम्मा मत दुवै सदनमा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको कम्तीमा दुई तिहाई पुगेको भए संविधान संशोधनको विधेयक सभामुखले प्रमाणित गरी प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाउनेछ ।’

यो सँगै संविधान संशोधन विधेयक राष्ट्रिय सभा र प्रतिनिधिसभामा रहेका सम्पूर्ण सदस्य संख्याले छुट्टाछुट्टै रुपमा दुई तिहाइ बहुमतले पारित गर्नुपर्ने हो वा संयुक्त सदन बसेर त्यसको दुई तिहाइ बहुमतले पारित गर्नुपर्ने हो भन्ने विषय बहसमा आएको छ ।

उपनियम ११ यसपटक थप भएको व्यवस्था हो । यसअघि यस्तो प्रावधान थिएन ।

प्रतिनिधिसभाबाट सभाद्वारा पारित भई राष्ट्रिय सभामा पठाइएको संविधान संशोधनसम्बन्धी विधेयक सन्देशसहित प्राप्त भएपछि प्रस्तावको पक्षमा प्राप्त भएको जम्मा मत दुवै सदनमा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको कम्तीमा दुई तिहाई पुगेको छ वा छैन भनेर हेर्ने विषय राखिएको हो ।

यसका लागि संयुक्त सदन बस्न सक्दछ । संयुक्त सदन बस्नका लागि प्रतिनिधिसभाबाट पारित भएको व्यवस्था राष्ट्रिय सभाले अस्वीकार वा संशोधन भएको अवस्थाा बस्न सक्ने कल्पना गरिएको छ ।

अन्य विधेयकको हकमा यस्तो परिकल्पना गरिएको भए पनि संविधान संशोधन विधेयकको हकमा संयुक्त सदन बस्न सक्ने कल्पना विगतको नियमावलीमा गरिएको थिएन । यसपटक संविधान संशोधन विधेयकको हकमा समेत संयुक्त सदन बस्न सक्ने कल्पना गरेर नयाँ व्यवस्था प्रतिनिधिसभा नियमावलीमा थप गरिएको छ ।

संविधानको धारा २७४ मा संविधान संशोधन सम्बन्धी व्यवस्था छ । उपधारा (१) मा भनिएको छ, ‘नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता र जनतामा निहित सार्वभौमसत्ताको प्रतिकूल हुने गरी यो संविधान संशोधन गर्न सकिने छैन ।’ यसबाहेक यस संविधानको अन्य धारामा संशोधन वा खारेज गर्ने विधेयक संघीय संसदको कुनै पनि सदनमा पेश गर्न सकिनेछ ।

यसरी पेश भएको विधेयक सम्बन्धित सदनमा प्रस्तुत भएको तीस दिनभित्र सर्वसाधारण जनताको जानकारीका लागि सार्वजनिक रूपमा प्रकाशन गर्नु पर्ने व्यवस्था संविधानमै छ ।

संविधानको धारा २७४ को उपधारा (४) मा भनिएको छ, ‘उपधारा (२) बमोजिम पेश भएको विधेयक कुनै प्रदेशको सीमाना परिवर्तन वा अनुसूची–६ मा उल्लिखित विषयसँग सम्बन्धित भएमा त्यस्तो विधेयक संघीय संसदमा प्रस्तुत भएको तीस दिनभित्र सम्बन्धित सदनको सभामुख वा अध्यक्षले सहमतिका लागि प्रदेश सभामा पठाउनु पर्नेछ ।’

यो विषयलाई पनि प्रतिनिधिसभाको नयाँ नियमावलीमा राखिएको छ ।

३० दिनभित्र बहुसंख्यक प्रदेश सभाले त्यस्तो विधेयक अस्वीकृत गरेको सूचना सभालाई दिएमा उक्त विधेयक निष्क्रिय हुनेछ र उक्त विधेयक उपर थप कारबाही अगाडि बढाइने छैन ।

राष्ट्रिय सभामा प्रस्तुत भई प्रदेश सभाको समेत सहमति लिईसकिएको विधेयकलाई पनि पुन: सहमतिको लागि पठाउनु पर्ने छैन ।

प्रक्रिया अगाडि बढेर आएको विधेयक प्रस्तुतकर्ता सदस्यले विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रतिनिधिसभाको बैठकमा पेस गर्नेछन् ।

प्रतिनिधिसभाले संविधान संशोधनको प्रस्ताव स्वीकृत गरेपछि विधेयकमा उल्लेख भएका धारा, उपधारा, खण्ड, उपखण्ड वा स्पष्टीकरण जहाँ संशोधन प्रस्ताव पेस गरिएको छ सोही बुँदामा सीमित रहेर संशोधन पेस गर्न सकिनेछ ।

संविधान संशोधन विधेयक र सो सम्बन्धमा प्राप्त संशोधन प्रस्तावमाथि दफावार छलफल गरी बैठकमा प्रतिवेदनसहितको विधेयक प्रस्तुत गर्ने प्रयोजनका लागि सभामुखले बैठकको अनुमति लिई विशेष समिति गठन गर्न सक्नेछन् ।

संविधान संशोधन विधेयकको प्रत्येक धारा वा उपधारा वा त्यसमा प्रस्तुत भएको संशोधन सभामुखले एक–एक गरी निर्णयार्थ बैठकमा प्रस्तुत गर्नेछन् ।

संविधान संशोधन गर्ने विधेयक पारित गरियोस् भन्ने प्रस्ताव सभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको कम्तीमा दुई तिहाइ सदस्यको बहुमतबाट स्वीकृत भएमा विधेयक पारित भएको मानिनेछ ।

संविधान संशोधन गर्ने विधेयक पारित गरियोस् भन्ने प्रस्तावमाथि सभाको निर्णय सदस्यको दस्तखतसहितको मत विभाजनद्वारा हुनेछ ।

यो प्रक्रिया अन्तर्गत प्रतिनिधिसभा नियमावलीले राष्ट्रिय सभाबाट संविधान संशोधन विधेयक प्रतिनिधिसभामा फर्किएपछि प्रतिनिधिसभाले दुवै सदनको तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको दुई तिहाई बहुमतको कल्पना गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?