+
+
Shares

बीपी राजमार्ग पुनर्निर्माण : पिप्ले-बर्खेखोला खण्डमा काम सुरु

जापानले जिम्मा लिएको बीपी राजमार्गको क्षतिग्रस्त पिप्लेदेखि बर्खेखोला सडक खण्ड पुनर्निर्माण सोमबारदेखि सुरु भएको छ ।

कपिल कोइराला कपिल कोइराला
२०८३ जेठ ११ गते १४:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जापानको २ अर्ब ८० करोड येन अनुदान सहयोगमा बीपी राजमार्गको क्षतिग्रस्त पिप्लेदेखि बर्खेखोला सडक खण्ड पुनर्निर्माण सोमबारदेखि शुरू भएको छ ।
  • नेपालका लागि जापानी राजदूत माएदा तोरु र पूर्वाधार मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले सो सडक खण्ड पुनर्निर्माणको संयुक्त रूपमा शिलान्यास गर्नुभयो ।
  • सडक विभागले काभ्रे र सिन्धुलीमा पर्ने ३० दशमलव ५ किलोमिटर क्षतिग्रस्त सडकखण्ड पुनर्निर्माणका लागि चार प्याकेजमा ठेक्का सम्झौता गरी काम गरिरहेको छ ।

११ जेठ, काभ्रेपलाञ्चोक । जापानले जिम्मा लिएको बीपी राजमार्गको क्षतिग्रस्त पिप्लेदेखि बर्खेखोला सडक खण्ड पुनर्निर्माण सोमबारदेखि सुरु भएको छ ।

२०८१ सालको बाढीपहिरोका कारण क्षतिग्रस्त बीपी राजमार्गको पिप्लेदेखि बर्खेखोलासम्मको ३ दशमलव २ किलोमिटर सडकखण्ड जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को आर्थिक तथा प्राविधिक सहयोगमा पुनर्निर्माण सुरु भएको सडक डिभिजन भक्तपुरका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले जानकारी दिए ।

नेपालका लागि जापानका राजदूत माएदा तोरु र पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले संयुक्त रूपमा परियोजना पुनर्निर्माणको शिलान्यास गरेका छन् ।

जापानको सिमिजु कर्पोरेसनले उक्त खण्डको निर्माण ठेक्का पाएको छ । जापानले दुई अर्ब ८० करोड येन अनुदान दिने गरी १३ कात्तिकमा द्विपक्षीय सम्झौता भएको थियो ।

काभ्रे र सिन्धुलीमा पर्ने ३० दशमलव ५ किलोमिटर सडकखण्ड पुनर्निर्माण तथा मर्मतमा चार प्याकेजमा विभाजन गरेर सडक विभागले पुनर्निर्माण गरिरहेको छ । भकुन्डेबेसीदेखि चारसयबेसीसम्म ११ किलोमिटर सडक पुनर्निर्माणका लागि लामा–नवकान्तिपुर जेभीसँग एक अर्ब १४ करोड रुपैयाँमा ठेक्का सम्झौता भएर काम भइरहेको छ ।

चारसयबेसीदेखि डालाबेसीसम्मको नौ किलोमिटर सडक बनाउन खानी–कमलजित–एवान जेभीसँग एक अर्ब २२ करोड रुपैयाँमा ठेक्का सम्झौता गरिएको छ ।

डालाबेसीदेखि पिप्लेसम्म २.३ किमि सडकको पुनर्निर्माणका लागि उमा एन्ड कम्पनी–भण्डारी–अमरज्योति जेभीसँग ६८ करोड ८० लाख ६८ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको छ ।

हाल यी खण्डमा पनि पुनर्निर्माणको काम भइरहेको छ । सिन्धुली जिल्लामा पर्ने बर्खेखोलादेखि नेपालथोकसम्मको पाँच किलोमिटर सडक पुनर्निर्माण गर्न भने खरीढुंगा–घिसिङ–क्षितिज जेभीसँग ५५ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको छ ।

एक सय ५९ किलोमिटर बीपी राजमार्ग जापानकै २६ अर्ब यान आर्थिक र प्राविधिक सहयोगमा निर्माण गरिएको थियो । २०५३/५४ सालदेखि सुरु भएको निर्माणकार्य २०७२ सालमा सम्पन्न भएको थियो ।

लेखक
कपिल कोइराला

कोइराला काभ्रेमा रहेर पत्रकारिता गर्छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?