News Summary
Generated by OK AI. Editorially reviewed.- अमेरिका, मेक्सिको र क्यानडामा संयुक्त रूपमा आयोजना हुने फिफा विश्वकप २०२६ आगामी जुन ११ देखि शुरू हुँदैछ ।
- इतिहासमै पहिलो पटक ४८ टोलीले प्रतिस्पर्धा गर्ने यस विश्वकपमा कुल १०४ खेलहरू सञ्चालन हुनेछन् ।
- लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोजस्ता स्टार खेलाडीहरूका लागि सम्भवतः अन्तिम विश्वकप हुने भएकाले यसको रौनक थप विशेष बनेको छ ।
१२ जेठ, काठमाडौं । फुटबलको मात्र नभएर विश्वमै धेरै चर्चा गरिने र हेरिने खेल मेलाको रुपमा रहेको फिफा विश्वकप २०२६ सुरु हुन अब दुई साता र केही दिन मात्र बाँकी छ ।
उत्तर अमेरिकाको तीन राष्ट्र अमेरिका, मेक्सिको र क्यानडामा संयुक्त रुपमा आयोजना हुने विश्वकप फुटबलको २३औं संस्करण जुन ११ देखि सुरु हुँदैछ ।
अहिलेसम्मकै सबैभन्दा धेरै ४८ टिमले प्रतिस्पर्धा गर्ने विश्वकप फुटबल कस्तो होला ? कुन टिमले उपाधि जित्ला भन्ने चासो र कौतुहलता धेरैलाई छ ।
हरेक चार-चार वर्षमा आयोजना हुने विश्वकप फुटबल नजिँदै जाँदा कुन टिमले विश्वकप जित्ला, कुन टिमले अप्रत्याशित नतिजा ल्याउने भन्ने जिज्ञासा सबैमा हुन्छ । त्यसमा पनि कुन टिमले विश्वकप ट्रफी उठाउँछ भन्ने विषय सबैभन्दा मुख्य र सबैको साझा प्रश्नको रुपमा रहने गर्छ ।
यस पटक टिम संख्या थपिनु, तीन राष्ट्रमा आयोजना हुनु, अहिलेसम्मकै धेरै १०४ खेल हुनु र विश्व फुटबलकै सबैभन्दा ठुला केही स्टार खेलाडीहरूका लागि यो अन्तिम विश्वकप हुनुले यसको रौनक छुट्टै किसिमको छ ।
अहिलेसम्म कूल ८० राष्ट्रले विश्वकप खेल्दा ८ राष्ट्रले मात्र विश्वकप उपाधि जितेका छन् । त्यसमध्ये चार पटकको विजता इटाली यस पटक छनोट हुनै सकेन भने ७ पूर्व विजेताहरू यस पटक विश्वकप खेल्दैछन् । यी पूर्व विजेतासँगै अहिलेसम्म विश्वकप नजितेका केही टिमहरू पनि विश्वकप फुटबलमा उपाधिको दाबेदारको रुपमा देखिने गर्छन् ।
४८ टिमले प्रतिस्पर्धा गर्ने विश्वकपमा जुलाई १९ को फाइनलपछि विजेता टिमको छिनाफानो हुने नै छ । विश्वकप जित्ने अन्तिममा एकै टिमले हो । तर अहिलेसम्म विश्वकपमा प्रदर्शन, विश्वकप छनोट चरणमा गरेको प्रदर्शन, खेलाडीहरूको प्रदर्शन हेर्दा केही टिमहरू फिफा विश्वकप २०२५ को मुख्य दाबेदारको रुपमा देखिएका छन् ।
त्यही दाबेदार टिमहरूको बारेमा यहाँ चर्चा गरिएको छ ।
फ्रान्स

पछिल्लो संस्करणहरूको प्रदर्शन र फ्रान्सेली टिममा अहिले भएका प्रतिभावान् खेलाडीहरू हेर्दा फ्रान्स विश्वकपको मुख्य दाबेदारको रुपमा छ । फ्रान्स पछिल्लो दुई संस्करणमा फाइनल पुग्दा २०१८ मा उपाधि नै जितेको थियो । यस्तै २०२२ मा उपाधि रक्षा गर्न निकै नजिक पुगेको फ्रान्स फाइनलमा अर्जेन्टिनासँग पेनाल्टी सुटआउटमा पराजित हुँदा उपविजेतामै रोकिएको थियो ।
प्रशिक्षक डिडिएर डेसच्याम्प्सले फ्रान्सलाई पछिल्लो समय विश्वकपमा दाबेदारको टोलीको रुपमा विकास गरिरहेका छन् । वर्तमान समयका स्टार खेलाडी किलियन एमबाप्पेको कप्तानीमा रहेको फ्रान्समा ओस्मान डेम्बेले, माइकल ओलिस जस्ता बलियो फरवार्ड लाइन छ । यस्तो अट्यकलाई रोक्न विपक्षी डिफेन्डरहरूलाई चुनौती बन्ने गर्छ ।
लेस ब्लुजले विश्वकपका लागि आफ्नो अन्तिम टोली घोषणा गरिसकेको छ । फ्रान्समा यति धेरै राम्रा खेलाडीहरू छन् कि सबै खेलाडी यो टिममा अटाउन सकेनन् । धेरैले फ्रान्सको बी टिम पनि विश्वकपमा प्रतिस्पर्धा गर्न सक्ने खालको बन्ने चर्चा गरिरहेका छन् ।
दुई पटक विश्वकप विजेता फ्रान्स लगातार तेस्रो पटक फाइनल पुग्दै पेरि ट्रफी उचाल्ने लक्ष्यमा छ ।
स्पेन

स्पेनको त्यो २०१० को गोल्डेन जेनेरेसनको टोलीलाई सायदै कसैले बिर्सेको होला । स्विट्जरल्यान्डसँग पहिलो खेलमै पराजित भएपनि स्पेनले त्यसपछि शानदार प्रदर्शन गर्दै दक्षिण अफ्रिकामा भएको विश्वकपको ट्रफी उचाल्यो । त्यो समयमा वास्तवमै स्पेन विश्व फुटबलकै बलियो टोली बनेर उदाएको थियो । २००८ र २०१२ को युरो कप समेत जित्दै स्पेनले त्यसलाई थप प्रमाणित गर्यो ।
जाभी, आन्द्रेस इनेस्टा, सर्जियो बुस्केट्स, जाबी अलोन्सो, फर्नान्डो टोरेस, डेभिड भियाजस्ता खेलाडीहरू समावेश स्पेनले टिकी टाका शैलीको फुटबललाई ब्रान्डा बनाउँदै सबैलाई डोमिनेट गरेको थियो । सिनियर खेलाडीहरू सन्यास लिँदै जाँदा बीचमा स्पेनको फुटबल केही कमजोर जस्तो देखिएको थियो ।
तर अहिले फेरि नयाँ ट्यालेन्टेड खेलाडी स्पेनको टिममा उदाइसकेका छन् । युवा प्रतिभावान् खेलाडीसहितको स्पेनको टोली अहिले बलियो देखिएको छ । विश्वकै हट केक युवा स्टार लामिन यमालको चर्चा अहिले जताततै छ । स्पेन मात्र नभएर बार्सिलोनाका लागि पनि उनले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् र कीर्तिमान बनाइरहेका छन् ।
फिफा विश्वकप २०२६ को लागि स्पेनले मिडफिल्डर रोड्रीको कप्तानीमा २६ सदस्यीय टोली घोषणा गरिसकेको छ । जसमा हरेक पोजिसनमा युरोपको विभिन्न लिग जितेका उत्कृष्ट खेलाडीहरू छन् । त्यसले पनि स्पेनलाई विश्वकपमा ट्रफी जित्न बलियो दाबेदारको रुपमा अघि सारेको छ ।
यमालसँगै निको विलियम्स, डानी ओल्मो, पेड्री, गाबी जस्ता प्रतिभावना खेलाडीहरू स्पेनको टिममा छन् । स्पेनको टिममा यसपटक रमाइलो के छ भने लिग च्याम्पियन बार्सिलोनाबाट ८ खेलाडी विश्वकप खेल्ने टिममा पर्दा रियल मड्रिडबाट भने पहिलो पटक कुनै खेलाडी समावेश भएनन् ।
अर्जेन्टिना

साविक विजेता अर्जेन्टिना पिफा विश्वकपमा सदाबहार उपाधि दाबेदार टोली हो । सन् २०२२ मा फ्रान्सलाई हराउँदै विश्वकप जितेको अर्जेन्टिनाले विश्वकप फुटबलमा ३६ वर्षको उपाधि खडेरी तोडेको थियो ।
पहिलो खेलमै साउदी अरेबियासँग स्तब्ध बनेको अर्जेन्टिनाले त्यसपछि पुनरागमन गर्दै उपाधि सम्मको यात्रा तय गर्यो । विश्वकै उत्कृष्ट खेलाडी लियोनल मेस्सीले विश्वकप ट्रफी उचाल्दै आफ्नो शानदार करियरलाई पनि पूर्णता दिएका थिए ।
२०२२ मा विश्वकप जितेपछि मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने चर्चा पनि चलेको थियो । मेस्सी आफैंले पनि २०२६ को विश्वकपमा खेल्ने/नखेल्ने भन्न सकेका थिएनन् । तर पछिल्लो समय अमेरिकाकै क्लब इन्टर मायामीबाट खेल्दै आएका मेसी पेरि एकपटक अर्जेन्टिनाबाट विश्वकप खेल्ने तयारीमा छन् । अर्जेन्टिनाको अन्तिम टोली घोषणा हुन बाँकी रहेकोले को-को खेलाडी टिममा समावेश हुन्छन् हेर्न बाँकी नै छ ।
तर २०२२ मा उत्कृष्ट खेलाडी बनेका मेस्सीसँगै उत्कृष्ट युवा खेलाडी बनेका एन्जो फर्नान्डेज, फरवार्ड जुलियन अल्भारेज, मिडफिल्डर एलेक्सिस म्याक एलिस्टर जस्ता खेलाडीहरू आफ्नो उत्कृष्ट लयमा छन् ।
अघिल्लो पटक मेस्सीलाई केन्द्रमा राखेर अर्जेन्टिनाको टिम एकजुट भएर प्रदर्शन गरेको थियो । यस पटक मेस्सी आफ्नो करियरको सम्भवत: अन्तिम विश्वकप खेल्दैछन् । मेस्सीलाई यसअघि जस्तो उपाधि जित्नुपर्ने दबाब पनि छैन । यस्तै अन्य खेलाडीहरूको लागि पनि खुलेर खेल्ने अवसर हुनेछ ।
विश्वकै उत्कृष्ट खेलाडी मेस्सी रहेको अर्जेन्टिनी टिमको जस्तो हाइप र भ्यालु सायदै अरु टिमको होला ।
तीन पटकको विश्वकप विजेता अर्जेन्टिना फेरि पनि उपाधिको दाबेदारको रुपमा छ र अर्जेन्टिना ट्रफीको लागि नभएर इतिहास रच्नका लागि खेलिरहेको छ ।
ब्राजिल

ब्राजिल र फुटबल पर्यावाची जस्तै हो । अझ विश्वकप फुटबलको कुरा गर्दा ब्राजिल जत्तिको सफल राष्ट्र अर्को छैन । अहिलेसम्म भएको सबै २२ संस्करण विश्वकप खेल्ने एक मात्र टिम र सर्वाधिक पाँच पटकको उपाधि विजेता हो ब्राजिल । यसले पनि ब्राजिल कस्तो टिम हो पुष्टि गर्छ ।
विश्वकप फुटबलको कुरा गर्दा ब्राजिल सदाबहार उपाधिको दाबेदार टिम हो । यदि विश्वकपमा ब्राजिल भएन भने विश्वकप नै खल्लो हुन सक्छ । यस पटक दक्षिण अमेरिकी छनोटमा ब्राजिलले केही संघर्ष गर्नुपरे पनि अन्तिममा ब्राजिल विश्वकपमा छनोट हुँदै २३औं पटक विश्वकप खेल्दैछ ।
पछिल्लो समय ब्राजिल सधैं दाबेदारको रुपमा रहने गर्छ तर मैदानमा कमजोर प्रदर्शन अनि चाँडै विश्वकपबाट बाहिर हुने नियति ब्राजिलले भोग्दै आएको छ ।
तर यस पटक भने ब्राजिलको टिम केही फेरिएको छ । क्लब फुटबलमा सफल प्रशिक्षकको छवि बनाएका इटालीका कार्लो एन्सेलोट्टी अहिले ब्राजिलको प्रशिक्षकमा छन् । यस्तै ब्राजिलका सर्वाधिक गोलकर्ता नेयमार पनि विश्वकप खेल्ने टिममा समावेश भएका छन् ।
यसबाहेक भिनिसियस जुनियर, गाब्रीएल मार्टिनेली, राफिन्हा, एन्ड्रिक, रायानजस्ता अनुभवी र युवा फरवार्ड खेलाडी ब्राजिलको टिममा छन् । एलिसन बेकरदेखि एडरसन जस्ता अनुभवी गोलकिपर अनि डिफेन्स र मिडफिल्डमा पनि ब्राजिलमा अनुभवी खेलाडीहरू छन् ।
डिफेन्समा गाब्रिएल मागलहास र मार्क्विन्होस जस्ता खेलाडी छन् भने कासेमिरो, ब्रुनो गुमाइरेस, लुकास पाक्वेटाहरू मिडफिल्डमा छन् । जसले गर्दा ब्राजिललाई फेरि विश्वकप उपाधिको दाबेदार बनाएको छ ।
विश्वकपका लागि टिम घोषणा हुनुअघिसम्म ब्राजिलको टिममा नेयमार पर्छन् कि पर्दैनन् भन्ने चर्चा र बहस पनि भएको थियो । यसअघि तीन पटक विश्वकप खेलिसकेका नेयमारले उपाधिको स्वाद चाख्न पाएका छैनन् । पछिल्लो समय ब्राजिलकै सान्तोसबाट खेलिरहेका नेयमारका लागि सम्भवत: उपाधि जित्ने यो अन्तिम अवसर पनि हुन सक्छ ।
इंग्ल्यान्ड

इंग्ल्यान्डले अहिलेसम्म एकपटक मात्र विश्वकप जितेको छ । सन् १९६६ मा आफैं आयोजक हुँदा इंग्ल्यान्डले विश्वकप ट्रफी उचालेको थियो । त्यसयता इंग्ल्यान्ड विश्वकपको फाइनलसम्म पुग्न सकेको छैन ।
विश्वकै चर्चित इंग्लिस प्रिमियर लिग भएपनि राष्ट्रिय टिमको प्रदर्शन भने राम्रो हुन सकिरहेको छैन । इंग्ल्यान्ड पछिल्लो पटक सन् २०१८ मा रूसमा भएको विश्वकपमा चौथो भएको थियो ।
यसपटक प्रशिक्षक थोमस टुचेलले विश्वकपका लागि घोषणा गरेको अन्तिम टोलीमा केही खेलाडीहरू नपर्दा आश्चर्य समेत भएको छ । ह्यारी मग्वायरदेखि कोल पाल्मर, फिल फोडेन, ट्रेन्ट अलेजान्डर आर्नोल्ड जस्ता खेलाडी विश्वकपमा देखिने छैनन् ।
तर ह्यारी केनसँगै जुड बेलिङहम, मार्कस रासफोर्ड, डेक्लान राइस जस्ता खेलाडीहरू रहेको इंग्लयान्ड फेरि एकपटक उपाधिको दाबेदारको रुपमा छ । ६० वर्षपछि इंग्ल्यान्ड विश्वकप जित्ने लक्ष्यमा रहेको छ ।
***
पूर्व विजेता रहिसकेका यी पाँच टिमहरू बाहेक चार पटक विजेता जर्मनी विश्वकपमा सधैंको दाबेदारको रूपमा छ भने क्रिस्टियानो रोनाल्डोको पोर्चुगल पनि उपाधि दाबेदारको रूपमा छ ।
विश्वकै सर्वोत्कृष्ट खेलाडी रोनाल्डो समावेश पोर्चुगलले अहिलेसम्म उपाधि जित्न सकेको छैन । अन्तिम विश्वकप खेलिरहेका रोनाल्डोको लागि यस पटक उपाधि जित्दै आफ्नो करियरलाई पूर्ण बनाउने अवसर हुनेछ । यस्तै नेदरल्यान्ड्स पनि विश्वकपमा सधैंको दाबेदार भएपनि अहिलेसम्म उपाधि जित्न सकेको छैन ।
पछिल्लो दुई संस्करणमा सेमिफाइनल पुगेका टिम क्रोएसिया र मोरोक्को पनि बलिया टिमलाई स्तब्ध पार्न तयार छ । यस बाहेक बेल्जियम, सेनेगल, मेक्सिको, जापान, नर्वे जस्ता टिमले पनि बलिया टिमलाई स्तब्ध पार्न सक्छन् ।
प्रतिक्रिया 4