+
+
Shares

संसद्‌मा अमर्यादित व्यवहार देखाउने सांसदमाथि छानबिन गर्न समिति गठन

प्रतिवेदन प्राप्त भएपछि प्रतिनिधिसभा नियमावली, २०८३ को नियम ३३ को उपनियम ४ बमोजिम आवश्यक कारबाही अघि बढाउन सकिने पनि उनले जानकारी गराए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १८ गते १६:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • संसद्मा अमर्यादित व्यवहार गर्ने सांसदहरूमाथि छानबिन गर्न एक छानबिन समिति गठन गरिएको छ ।
  • सभामुख डोलप्रसाद अर्यालले सो समितिलाई ७ दिनभित्र प्रतिवेदन तयार पार्ने गरी समय तोकिएको जानकारी गराउनुभयो ।

१८ जेठ, काठमाडौं । संसद्मा अमर्यादित व्यवहार प्रदर्शन गर्ने सांसदहरूमाथि छानबिन गर्ने विषयमा छानबिन समिति गठन भएको छ ।

सभामुख डोलप्रसाद अर्यालले ७ दिनभित्र प्रतिवेदन तयार पार्नेगरी समिति गठन भएको जानकारी गराए ।

प्रतिवेदन प्राप्त भएपछि प्रतिनिधिसभा नियमावली, २०८३ को नियम ३३ को उपनियम ४ बमोजिम आवश्यक कारबाही अघि बढाउन सकिने पनि उनले जानकारी गराए ।

उनका अनुसार, प्रतिनिधिसभाका सचिव प्रकाश अधिकारीको संयोजकत्वमा समिति गठन गरिएको हो ।

‘प्रतिनिधिसभाको मिति २०८३ जेठ १७ गतेको बैठकहरूमा सभाका केही माननीय सदस्यहरूले अव्यवस्था सिर्जना गरी अमर्यादित र आपत्तिजनक व्यवहार प्रदर्शन र भौतिक हानि नोक्सानी एवं क्षति पुर्‍याउने कार्यसमेत रहेको व्यहोरा प्रतिनिधिसभा नियमावलीको नियम ३३ को उपनियम ४ बमोजिम बैठक समाप्त भइसकेपछि सभामुखलाई विस्तृत जानकारी हुन आएको र आजै सो विषयका सम्बन्धमा मुचुल्का तयार समेत भएकाले यस विषयमा आवश्यक जाँचबुझ गरी ७ दिनभित्र सभामुखसमक्ष प्रतिवेदन तयार पार्नका लागि प्रतिनिधिसभाका सचिव प्रकाश अधिकारी संयोजक एवं संघीय संसद् सचिवालयका आन्तरिक सेवा तथा योजना व्यवस्थापन महाशाखा प्रमुख र प्रविधि व्यवस्थापन महाशाखा प्रमुख सदस्य रहेको समिति गठन गरेको व्यहोरा जानकारी गराउँछु,’ उनले भनेका छन् ।

सभामुख अर्यालले यो विषयमा आज संसद् सचिवालयकै कर्मचारीहरूसँग परामर्श गरेका थिए ।

आइतबार प्रतिनिधिसभामा विपक्षी दलका सांसदहरूले वेल घेराउ गरेका थिए । त्यस क्रममा नाराबाजी भएको थियो । सांसदहरूबीच घम्साघम्सी नै भएको थियो ।

प्रतिनिधिसभाको बैठक प्रतिनिधिसभा नियमावली पारित गर्ने प्रक्रियामा थियो । विपक्षी दलहरूले नियमावली उपर परेका संशोधनबारे छलफल गर्न संसदीय समितिमा पठाइनुपर्ने माग राखेका थिए ।

तर, सदनमा दफावार छलफल भइसकेको थियो र प्रक्रिया अगाडि बढिसकेको अवस्थामा सभामुखले संशोधनलाई विरोधका बीच पास र फेलको प्रक्रियामा अगाडि बढाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?