१८ जेठ, काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्यालले विश्वका जुनसुकै देशमा छरिएर रहेका भएपनि नेपाली मूलका मानिसलाई नेपालले फरक एवं फराकिलो ढङ्गले समेट्नुपर्ने बताएका छन् ।
नेपाली मूलका नागरिकको छाता संस्था एसोसिएसन अफ नेपाली ओरिजिन (एएनओ)को प्रतिनिधिमण्डलसँग सोमबार सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा भेट्दै सभामुख अर्यालले नेपाली मूलका मानिसलाई सम्बोधन गर्नेगरी नेपालको राष्ट्रिय हित अनुकूलको कानुन बनाएर अघि बढ्नुपर्ने बताएका हुन् ।
भेटका अवसरमा एएनओका उपाध्यक्ष एवं वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्तले जतिसुकै पुस्ता भएपनि नेपाली मूलका मानिसलाई सांस्कृतिक रूपमा नेपालसँग जोड्ने र जहाँ बसेपनि नेपालीपनको संरक्षण गर्नसक्ने वातावरण बनाउन एएनओ क्रियाशील रहेको बताए ।
हाल छलफलमा रहेको गैरआवासीय नेपालीसम्बन्धी ऐनको मस्यौदामा उल्लेखित नेपाली उत्पत्तिका व्यक्तिको परिभाषालगायत विषयमा आफ्नो संस्थाका तर्फबाट पेस गरिएका सुझावलाई समेट्न उनले माग गरे ।
त्यस अवसरमा प्रतिनिधिमण्डलले एएनओका तर्फबाट तयार पारिएको स्मरणपत्र सभामुख अर्याललाई पनि हस्तान्तरण गरेको थियो । स्मरणपत्रमा ऐनको मस्यौदामा भएका कतिपय बुँदा असान्दर्भिक, अव्यावहारिक र पुस्तौँदेखि विदेशमा रहेका नेपालीलाई नेपालसँग जोड्न अपर्याप्त रहेको भन्दै यस्ता प्रावधानहरु खारेज गर्न माग गरिएको छ ।
एएनओको प्रतिनिधिमण्डलले परराष्ट्र सचिव अमृत राईसँग पनि भेट गरी उक्त ऐनमा समेट्न सुझावपत्र हस्तन्तरण गरेको थियो । –रासस
प्रतिक्रिया 4