News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भाजपाको निमन्त्रणामा पाँच दिने भ्रमणका लागि नयाँदिल्ली पुगेका छन् ।
- उनले नयाँदिल्लीमा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटवार्ता गर्नुका साथै अयोध्याको समेत भ्रमण गर्ने कार्यतालिका छ ।
- भ्रमण टोलीलाई दिल्ली विमानस्थलमा भाजपाका महासचिव अरुण सिंह र विदेश विभाग प्रमुख विजय चौथाइवालेले स्वागत गरे ।
१८ जेठ, काठमाडौं । पाँच दिने भ्रमणका लागि रास्वपा सभापति रवि लामिछाने भारतमा छन् । उनी सोमबार दिउँसोमात्रै नयाँदिल्ली पुगेका हुन् ।
दिल्ली विमानस्थलमा भारतीय जनता पार्टी (भाजपा) का महासचिव अरुण सिंह र विदेश विभाग प्रमुख विजय चौथाइवालेले सभापति लामिछानेसहितको भ्रमण टोलीलाई स्वागत गरेका थिए ।
भाजपाकै निमन्त्रणमा भारत गएका सभापति लामिछानेको स्वागतमा नयाँ दिल्लीका विभिन्न स्थानमा लामिछानेको तस्वी राखिएको छ ।
यस्तो प्रचलन भारतमा यसअघि अन्य शीर्ष तहका नेताहरू जाँदा पनि हुने गर्थ्यो ।
सभापति लामिछानेसँगै रास्वपाका सहमहामन्त्री तथा प्रतिनिधि सभा सदस्य विपिनकुमार आचार्य, सचिवालय सदस्य तथा प्रतिनिधि सभा सदस्य दीपक बोहोरा, पत्नी निकिता पौडेल र प्रदीप आचार्य पनि भ्रमणमा छन् ।
भ्रमणदलमै रहेका सांसद बोहोराले एक भिडियो पोस्ट गर्दै ‘दिल्लीतिर यस्तो छ’ भनेर क्याप्सन राखेका छन् ।
रास्वपा प्रवक्ता मनिष झाका अनुसार, रविले जेठ १८ देखि २२ गते (जुन १ देखि ५ तारिख) सम्म भारत भ्रमण गर्नेछन् । त्यसक्रममा नयाँदिल्लीमा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटवार्ता गर्ने कार्यक्रम छ ।
उनले भाजपा नेतृत्व, भारतमा रहेका नेपाली समुदाय र पार्टीका शुभेच्छुकहरूसँग भेटघाट गर्ने कार्यक्रम छ । त्यसपछि उनले अयोध्याको भ्रमण पनि गर्ने पार्टी प्रवक्ता झाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
भेटघाट, छलफल तथा भ्रमणका लागि नयाँदिल्लीस्थित नेपाली दूतावासले समन्वय गरिरहेको रास्वपाले जनाएको छ ।
प्रतिक्रिया 4