+
प्लेयर्स टु वाच :

मिडफिल्डका बादशाह ब्रुनो

२०८३ जेठ  १९ गते १२:१६ २०८३ जेठ १९ गते १२:१६
मिडफिल्डका बादशाह ब्रुनो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पोर्चुगलका मिडफिल्डर ब्रुनो फर्नान्डेसले आर्मेनियाविरुद्ध ह्याट्रिक गरेपछि टोलीले ९–१ को जित निकाल्दै सन् २०२६ को विश्वकपमा स्थान सुरक्षित गरेको छ।
  • म्यानचेस्टर युनाइटेडका कप्तान फर्नान्डेसले जनवरी २०२० मा क्लबमा आबद्ध भएयता १०० भन्दा बढी गोल र १०० असिस्ट पूरा गरेका छन्।
  • कतार विश्वकप २०२२ मा उत्कृष्ट प्रदर्शन गरेका ३१ वर्षीय फर्नान्डेसबाट पोर्चुगलले आगामी विश्वकप २०२६ मा पनि ठूलो अपेक्षा राखेको छ।

१९ जेठ, काठमाडौं । पोर्चुगलका ब्रुनो फर्नान्डेस खेललाई असाधारण गतिमा पढ्ने खेलाडी हुन् । मैदानमा रहेका अन्य खेलाडीभन्दा उनी सधैं केही सेकेन्ड अगाडि सोचिरहेको जस्तो देखिन्छन् ।

अथक मेहनत, उत्कृष्ट प्राविधिक क्षमता र नेतृत्वका कारण म्यानचेस्टर युनाइटेडका कप्तान तथा पोर्चुगलका प्लेमेकर फर्नान्डेस आज विश्व फुटबलका प्रभावशाली मिडफिल्डरमध्ये एक बनेका छन् ।

इङ्ग्ल्यान्डको म्यानचेस्टर युनाइटेडबाट होस् वा पोर्चुगलको राष्ट्रिय टोलीबाट, उनले सधैं आफ्नो प्रभाव छोड्दै आएका छन् । फिफा विश्वकप २०२६ मा पनि पोर्चुगलले उनीबाट ठूलो अपेक्षा राखेको छ।

सुरुवाती चरणको कुरा गर्नुपर्दा ब्रुनोले आफ्नो फुटबल यात्रा बोआभिस्टाको युवा टोलीबाट सुरु गरेका थिए । त्यसपछि उनले इटालीका नोभारा, उडिनेजे र साम्पडोरियाबाट खेल्दै अनुभव बटुले ।

तर उनको वास्तविक उदय स्पोर्टिङ सीपीबाट भयो । नानी क्लब छाडेपछि उनले टोलीको कप्तानी सम्हाले र लगातार दुई सिजन क्लबका शीर्ष गोलकर्ता बने । उनले २०१७–१८ र २०१८–१९ मा लगातार पोर्चुगलका उत्कृष्ट फुटबलरको अवार्ड पनि जिते ।

स्पोर्टिङका लागि उनले १३७ खेलमा ६३ गोल र ५० असिस्ट गरे, जुन कुनै मिडफिल्डरका लागि निकै प्रभावशाली आँकडा हो ।

जनवरी २०२० मा म्यानचेस्टर युनाइटेड पुगेका उनले त्यहाँ पनि आफ्नो छुट्टै पहिचान बनाए । उनले क्लबका लागि १०० भन्दा बढी गोल गरेका छन् भने १०० असिस्ट पनि पूरा गरिसकेका छन् । युनाइटेडबाट उनले २०२२–२३ को इएफएल कप र २०२३–२४ को एफए कप जितेका छन् ।

ब्रुनोले पोर्चुगलबाट सन् २०१८ को विश्वकप, २०२२ को विश्वकप तथा युरो २०२० र युरो २०२४ खेलेका छन् । यसबाहेक उनी २०१८–१९ र २०२४–२५ मा युइएफए नेसन्स लिग जित्ने पोर्चुगल टोलीका सदस्य पनि थिए ।

ब्रुनो असाधारण दृष्टि भएका खेलाडी हुन् । विपक्षी रक्षापंक्तिबीचबाट कठिन पास निकाल्ने क्षमता उनको विशेषता हो । उनी आक्रमणको अवसर सिर्जना गर्न माहिर छन् भने टाढाबाट गोल गर्न पनि उत्तिकै सक्षम छन् ।

तर उनको योगदान केवल तथ्यांकमा सीमित छैन । उनी मैदानमा उदाहरणीय नेतृत्व गर्छन् । टोलीका साथीहरूलाई सही स्थानमा रहन निर्देशन दिनु, खेलको तीव्रता बढाउन प्रेरित गर्नु र कठिन समयमा जिम्मेवारी लिनु उनको विशेषता हो ।

यसैले धेरै खेलाडीहरूले उनलाई भविष्यमा सफल प्रशिक्षक बन्न सक्ने व्यक्तिका रूपमा पनि हेर्ने गरेका छन् । प्रशिक्षक रोबर्टो मार्टिनेजले ब्रुनोलाई युनाइटेडको हालसम्म उत्कृष्ट खेलाडीमध्ये एकको संज्ञा दिएका छन् ।

‘ब्रुनो भएको म्यानचेस्टर युनाइटेड र ब्रुनो नभएको म्यानचेस्टर युनाइटेड फरक टोली हो । उनी असिस्टका राजा हुन् । खेललाई उनी अरूभन्दा फरक तरिकाले देख्छन्। नम्बर ६ मा खेलाउँदा टोलीको धड्कन बन्छन्, नम्बर १० मा खेलाउँदा गोल संख्या बढ्छ । म्यानचेस्टर युनाइटेडको इतिहासका जुनसुकै महान् टोलीमा पनि उनी सहजै फिट हुन्थे’ उनले भनेका छन् ।

अर्का प्रशिक्षक पेप ग्वार्डिओलाले भनेका छन्, ‘ब्रुनो बलमा हुँदा जे पनि हुन सक्छ । उनको प्रभाव अविश्वसनीय छ । उनले सिर्जना गर्ने अवसरहरू मैले देखेका उत्कृष्टमध्ये पर्छन् ।’

यस्तै म्याचेस्टर युनाइटेडका हालका प्रशिक्षक माइकल क्यारिकले पनि उत्कृष्ट खेलाडीको संज्ञा दिएका छन् । ‘म यहाँ आएदेखि ब्रुनो उत्कृष्ट छन् । उनीबारे भन्नका लागि मसँग राम्रो कुरा बाहेक केही छैन’ क्यारिकले भनेका छन् ।

जनवरी २०२० मा म्यानचेस्टर युनाइटेड पुगेयता ब्रुनो २०० भन्दा बढी गोलमा प्रत्यक्ष संलग्न भएका छन् । १ मार्च २०२६ सम्म उनले १०५ गोल र १०० असिस्ट गरेका छन् । गत संस्करणको प्रिमियर लिगमा उनी सर्वाधिक असिस्ट गर्ने खेलाडी समेत बने ।

पोर्चुगलका लागि उनले ८५ खेलमा २८ गोल गरेका छन् । विश्वकप २०२६ छनोटको अन्तिम खेलमा उनले आर्मेनियाविरुद्ध ह्याट्रिक गरेका थिए । पोर्चुगलले उक्त खेल ९–१ ले जित्दै विश्वकपमा स्थान पक्का गरेको थियो ।

ब्रुनोको विश्वकप इतिहास

ब्रुनोले सन् २०१८ मा रुस विश्वकपमार्फत विश्वकपमा डेब्यु गरेका थिए । कतार विश्वकप २०२२ मा उनी पोर्चुगलका महत्वपूर्ण खेलाडी थिए । समूह चरणमा घानाविरुद्ध ३–२ को जितमा उनले दुई असिस्ट गरेका थिए ।

उरुग्वेविरुद्ध २–० को जितमा उनले दुई गोल गर्दै टोलीलाई नकआउट चरणमा पुर्‍याउन महत्वपूर्ण भूमिका खेले । त्यसपछि स्विट्जरल्यान्डविरुद्ध अन्तिम १६ को खेलमा ६–१ को शानदार जित निकाल्दा उनले अर्को असिस्ट थपे ।

तर क्वार्टरफाइनलमा मोरक्कोसँग पराजित हुँदै पोर्चुगल प्रतियोगिताबाट बाहिरियो । त्यही विश्वकपमा मोरक्को विश्वकपको सेमिफाइनल पुग्ने पहिलो अफ्रिकी टोली बनेको थियो ।

३१ वर्षका ब्रुनो फर्नान्डेस आफ्नो करियरको उत्कृष्ट लयमा विश्वकप २०२६ खेल्न तयार छन् । उनी पोर्चुगलको वर्तमान टोलीका प्रमुख खेलाडीमध्ये एक हुन्, जहाँ उनको साथमा करियरको अन्तिम चरणमा रहेका सुपरस्टार क्रिस्टियानो रोनाल्डो पनि छन् ।

यदि उनले प्रिमियर लिगमा देखाएको प्रभावशाली प्रदर्शन विश्वकपमा पनि दोहोर्याउन सके, ब्रुनो पोर्चुगलको खेलको मुख्य शक्ति बन्न सक्छन् । उनको नेतृत्व, सिर्जनात्मकता र निर्णायक क्षमताले पोर्चुगललाई विश्व फुटबलको सबैभन्दा ठूलो मञ्चमा सफलता दिलाउने विश्वास गरिएको छ।

फिफा विश्वकप फिफा विश्वकप २०२६ ब्रुनो फर्नान्डेज
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय