News Summary
Generated by OK AI. Editorially reviewed.- सन् २०२६ को फिफा विश्वकपमा सहभागी टोलीको संख्या ४८ पुर्याउँदा यसले नयाँ देशहरूलाई स्थापित हुने अवसर प्रदान गरेको छ ।
- एसियाली कोटा वृद्धिको फाइदा उठाउँदै जोर्डन र उज्वेकिस्तान तथा साना देशहरू कुराकाओ र केप भर्डे पहिलोपटक विश्वकपमा छनोट भएका छन् ।
- अफ्रिकी मुलुक डीआर कंगो, हाइटी र इराकले करिब ४० देखि ५२ वर्षपछि विश्वकप फुटबलमा पुनरागमन गर्ने अवसर पाएका छन् ।
१८ जेठ, काठमाडौं । सन् १९३० बाट सुरु भएको फिफा विश्वकप फुटबलमा एसियाली देश जापान ६८ वर्षपछि पहिलोपटक छनोट भयो । सन् १९९८ को संस्करणदेखि विश्वकपमा सहभागी हुने टोलीको संख्या २४ बाट ३२ बनाएसँगै जापानले विश्वकपमा इन्ट्री पाएको थियो ।
विश्वकपमा सहभागी हुने टोलीको संख्या बढाउँदा त्यो बेला एसिया क्षेत्रको कोटा २ बाट बढाएर ४ पुर्याइएको थियो । जसको लाभ जापानले उठायो ।
त्यसअघिका १५ विश्वकपमा नदेखिएको जापान त्यसपछि भने हरेक विश्वकपमा छनोट हुँदैआएको छ ।
जापानले विश्वकपको गत संस्करणमा बलियो मानिएका जर्मनी र स्पेनलाई पराजित गर्दै विश्वजगतलाई चकित बनाएको थियो । बलिया दुई टोलीलाई हराउँदै अन्तिम १६ मा पुगेको जापान क्रोएसियासँग पेनाल्टी सुटआउटमा पराजित हुँदै बाहिरिएको थियो ।
जापानले विश्वकप खेलेको ७ मध्ये ४ संस्करणमा समूह चरण पार गरेर नकआउटमा पुगेको छ । विश्वकप खेल्ने टोलीको संख्या बढाउँदा पाएको अवसर र जापानी फुटबलको तीव्र विकासका कारण अहिले जापान विश्व फुटबलको स्थायी शक्तिका रूपमा स्थापित भएको छ ।
सुरुवातका १६ संस्करणमा दुई पटक मात्रै विश्वकप खेलेको पोर्चुगलले सन् २००२ पछिका संस्करणमा भने बलियो टोलीका रूपमा आफूलाई स्थापित गरेको छ । विश्वकप खेल्ने टोलीहरूको संख्या बढाउँदा त्यसको फाइदा पोर्चुगलले पनि उठायो । सन् २००२ देखिका सबै विश्वकपमा पोर्चुगल खेल्दै आएको छ । २०२६ सम्म आइपुग्दा पोर्चुगल उपाधि दाबेदारमध्येको एक टोली मानिएको छ । सन् १९३० मा भएको पहिलो फिफा विश्वकपमा १३ देशले सहभागिता जनाएका थिए । २३ औं संस्करणसम्म आइपुग्दा विश्वकपमा सहभागी हुने टोलीको संख्या ४८ पुर्याइएको छ । जसले विश्वकपको दायरा त बढाएको छ नै, नयाँ देशहरूलाई विश्वकप फुटबलमा स्थापित हुने अवसर पनि प्रदान गरेको छ ।
अमेरिका, मेक्सिको र क्यानडामा आयोजना हुने फिफा विश्वकप २०२६ मा सहभागी टोलीहरूको संख्या ३२ बाट ४८ पुर्याउँदा ४४४ वर्ग किलोमिटर क्षेत्रफल रहेको कुराकाओ छनोट हुन सफल भयो ।
अफ्रिकी राष्ट्र डीआर कंगो र हाइटीले पनि ५२ वर्षपछि विश्वकपमा कमब्याक गर्न अवसर पाए । १९७४ मा पहिलोपटक विश्वकप खेलेका दुवै टोली त्यसयता छनोट हुन सकेका थिएनन् । यसबीचमा पटकपटक अवसर पाएपनि उनीहरू छनोट हुन असफल हुँदै आएका थिए ।
यसपटक विश्वकप खेल्ने टोलीको संख्या बढाउँदा एसिया क्षेत्रबाट छनोट हुने कोटाको पनि वृद्धि भएको छ । यसअघि ५ टोली छनोट हुनेमा यसपटक ८ टोली पुगेका छन् । जसको फाइदा जोर्डन र उज्वेकिस्तानले उठाएका छन् ।
जोर्डनले छनोट खेल्न थालेको ४० वर्षपछि पहिलोपटक विश्वकपमा छनोट भएको हो ।
सन् १९८६ पछि छनोट हुन नसकेको इराकले पनि ४० वर्षपछि कमब्याकको अवसर पाएको छ ।
यस्तै, ४४४ वर्ग किलोमिटर मात्रै क्षेत्रफल रहेको देश कुराकाओ र केप भर्डेले पहिलोपटक विश्वकपमा स्पर्धा गर्दैछन् । सन् २००२ देखि विश्वकप छनोटमा सहभागी हुन थालेको केप भर्डे २४ वर्षपछि सपना पूरा गरेको हो ।
यी देशहरूले विश्वकप खेल्न मात्र पाएनन्, विश्व फुटबलमा स्थापित हुने अवसरसमेत प्राप्त गरेका छन् । विश्वकपमा उनीहरूले केही नयाँ प्रतिद्वन्द्वी र केही स्थापित टोलीसँग खेल्ने अवसर पाउनेछन् । जसले विश्वकपमा आफ्नो खेल देखाउँदै प्रदर्शनका आधारमा ती देशका खेलाडीहरूले शीर्ष स्तरका लिग खेल्ने अवसर पनि पाउन सक्नेछन् ।
धेरै देश सहभागी हुँदा विश्वकपप्रति दर्शक र समर्थकको आकर्षण बढ्नेछ । यसले पर्यटन, टिकट बिक्री, प्रसारण अधिकार तथा प्रायोजनबाट पनि थप आम्दानी बढाउनेछ ।
विश्वकप खेल्न पाउँदा ती देशमा फुटबलको आकर्षणदेखि फुटबल पूर्वाधार सुधारमा पनि महत्त्वपूर्ण सहयोग गर्नेछ ।
विश्वकप खेल्दा टोलीहरूले अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) बाट आर्थिक सहयोग पाउँछन् । जसले त्यस देशको फुटबल विकासमा सहयोग पुग्छ । विश्वकप खेलेको टोली र नखेल्ने टोलीलाई फिफाबाट हुने सहयोग पनि फरक हुन्छ ।
प्रतिक्रिया 4