१९ जेठ, काठमाडौं । सोमबार नेपाल प्रहरीका ३३ वरिष्ठ उपरीक्षक (एसएसपी)को सरुवा भयो ।
प्रहरी प्रधान कार्यालयको मानव स्रोत विभाग सोमबार साँझ एसएसपी सरुवाको सूची सार्वजनिक गरेको थियो । प्रहरी नियमावली अनुसार एसएसपी र प्रहरी नायव महानिरीक्षक (डीआईजी) सरुवाको जिम्मेवारी गृहमन्त्रीको हुन्छ ।
यतिबेला गृह मन्त्रालय हेर्ने छुट्टै विभागीय मन्त्री छैनन् । ९ वैशाखमा सुधन गुरुङले गृहमन्त्रीबाट राजीनामा दिएपछि यो मन्त्रालय समेत प्रधानमन्त्री बालेन शाह (वालेन्द्र)ले आफैं राखेका छन् । यहीबीचमा सोमबार निस्केको एसएसपीको सरुवा भने सरुवा मापदण्ड विपरीत रहेको पाइएको छ ।
सरुवा सूचीको २६ औं नम्बरमा शान्तिराज कोइरालाको नाम छ । उनी नेपाल प्रहरी प्रदेश कार्यालय वीरगञ्ज, पर्साको कमाण्ड गरेका थिए । उक्त कमाण्डबा उनको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा सरुवा गरिएको छ ।
सरुवालाई व्यवस्थित गर्न भन्दै नेपाल प्रहरीले सरुवा मापदण्ड बनाएर कार्यान्वयनमा ल्याएको छ । मापदण्डमा क, ख, ग भनेर श्रेणीहरू छुट्टाइएको छ । जसमा मुद्दाको चाप, कामको चाप तथा प्रकृतिहरुको आधारमा वर्गीकरण गरिएको हुन्छ ।
कोइरालाले कमाण्ड गरेको नेपाल प्रहरी प्रदेश कार्यालय वीरगञ्ज क श्रेणीमा पर्छ । क श्रेणीको कमाण्ड गरेका प्रहरी अधिकृतले फेरि अर्को क श्रेणीको कमाण्डमा नपठाइने र ख, ग श्रेणीमा सरुवा हुने मापदण्डमा उल्लेख गरिएको छ ।
अर्कोतर्फ भने एक ठाउँको इन्चार्जको कमाण्ड गरिरहेका व्यक्तिलाई सोझै अर्को ठाउँको इन्चार्जको रुपमा सरुवा नगरिने मापदण्डमा उल्लेख गरिएको छ । तर कोइरालाको हकमा भने यी दुबै मापदण्ड मिचेर बढुवा गरिएको छ । उनी क श्रेणीबाट अर्को क श्रेणीमा सोझै सरुवा भएका छन् भने अर्कोतर्फ इन्चार्ज टु इन्चार्ज सरुवा भएका छन् ।
कोइरालाको हकमा एकै पटक दुई वटै मापदण्ड मिचेर सरुवा गरिएको छ । उनी बाहेक अन्य एसएसपीको सरुवा भने मापदण्ड अनुसार नै देखिन्छ ।
एसएसपीले कमाण्ड गर्नेमध्ये उपत्यका ट्राफिक, काठमाडौं परिसर, ललितपुर परिसरलाई आकर्षक मानिन्छ । काठमाडौं परिसरको कमाण्डमा भने एसएसपी दिलीप घिमिरेको सरुवा भएको छ ।
२०५८ सालमा इन्स्पेक्टरमा भर्ना भएका घिमिरे आफ्नो ब्याचबाट तेस्रो लटमा एसएसपीमा बढुवा भएका थिए । उनी गत पुसमा मात्रै एसएसपीमा बढुाव भएका थिए । उनका ब्याचीहरु २०८१ माघ, २०८२ साउनमा बढुवा भइसकेका छन् । बढुवा भएको छोटो अवधिमै उनले निकै चुनौतीपूर्ण, आकर्षक र संवेदनशील मानिने काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी पाएका छन् ।
ललितपुरमा भने तुलबहादुर कार्कीको सरुवा भएको छ । त्यसैगरी लागु औषध नियन्त्रण ब्यूरोको कमाण्ड सुवास चन्द्र बोहोरा र मानव बेचबिखन अनुसन्धान ब्यूरोको कमाण्ड नकुल पोखरेलले पाएका छन् ।
प्रतिक्रिया 4