News Summary
Generated by OK AI. Editorially reviewed.- गेडागुडी भुटेर पिसेर तयार गरिने सातु नेपाली समाजको एक परम्परागत, सुपाच्य र ऊर्जादायी आहार हो।
सातु नेपालको एक चर्चित परम्परागत आहार हो । सातुसँग जोडिएका विभिन्न कथा, किस्साहरू हाम्रो समाजमा प्रचलित छन् । यसले पनि अनुमान गर्न सकिन्छ कि सातु पूर्वीय सभ्यताको निकै पुरानो खानेकुरा हो । मकै, जौ, गहुँ, भटमास, चना जस्ता गेडागुडीलाई भुटेपछि यसलाई पिसेर सातु बनाइन्छ । आफ्नो रूचिअनुसार सातुमा अन्य गेडागुडी पनि मिसाउन सकिन्छ । यसमा थप स्वाद भर्नका लागि चिनी, सख्खर आदि पनि मिसाउने गरिन्छ ।
यसरी बनाएको सातुलाई दूध, दही तथा मोहीसँग खाँदा स्वादिलो हुन्छ । नेपालमा अक्षय तृतीयाको दिन सातु र सर्वत बाँड्ने परम्परा नै छ ।
विशेष गरी गर्मीको मौसममा सातुको सेवनलाई सर्वोत्तम मानिन्छ । यो सजिलै पच्ने, शीतल र ऊर्जादायी हुन्छ । गर्मीमा शरीरलाई चिसो राख्न, डिहाइड्रेशन रोक्न र आवश्यक पोषण दिन सातु उत्तम विकल्प हो ।
अहिले भन्दा एक दुई पुस्ता अघिका व्यक्तिले कतै यात्रामा जाँदा सातु बोकेर लैजाने गरेका थिए । बोकेर हिँड्न सजिलो हुने, लामो समयसम्म नबिग्रिने भएकाले भोक मेट्न र शरीरलाई आवश्यक ऊर्जा प्राप्त गर्न यो राम्रो विकल्प हुन्थ्यो ।
आधुनिक समयमा सन्तुलित आहारका लागि बिहानै चना तथा जौको सातु सेवन गर्ने चलन धेरै छ ।
सातुमा हुने पोषण तत्व
सातु पौष्टिक तत्त्वले भरिपूर्ण हुन्छ । सन्तुलित रूपमा गेडागुडी मिलाएर बनाइएको सातु सबैभन्दा राम्रो हुन्छ । १०० ग्राम सातुमा औसत २०-२६ ग्राम प्रोटिन, ६०-६५ ग्राम कार्बोहाइड्रेट, ९-१८ ग्राम फाइबर, ५-७ ग्राम फ्याट, ३८०-४१३ किलो क्यालोरी ऊर्जा पाइन्छ । यसमा क्याल्सियम (१५०-३८० मिलिग्राम), म्याग्नेसियम (१८०-२७० मिलिग्राम), आइरन (८-९ मिलिग्राम), पोटासियम (८२५-९०० मिलिग्राम) जस्ता खनिज प्रशस्त छन्।
यो प्रोटिनको राम्रो स्रोत हो, जसले मांसपेशी निर्माण र शरीरको मर्मत गर्छ। उच्च फाइबरले पाचन सुधार्छ र लामो समयसम्म पेट भरिएको अनुभूति दिन्छ । कम ग्लाइसेमिक इन्डेक्स (३०-३५) भएकाले रक्तशर्करा नियन्त्रणमा राख्छ, जुन गर्मीमा मधुमेह भएकाहरूका लागि फाइदाजनक छ।
शीतलता दिन्
आयुर्वेद अनुसार सातु शीतल (शीतल) गुण भएको खाद्य हो । गर्मीको समयमा शरीरमा तापक्रम बढ्दा पित्त दोष हुन्छ । सातुले पित्त दोषलाई कम गर्नु कुरा आयुर्वेदमा उल्लेख छ । सातुलाई पानीमा मिसाएर पिउँदा शरीरको आन्तरिक तापक्रम घटाउँछ र गर्मीबाट हुने असजिलो जस्तै: जलन, थकान, टाउको दुखाइ) कम गर्छ।
गर्मीमा हामी धेरै पसिना बगाउँछौं, जसले शरीरबाट पानी र खनिज बाहिरिन्छ । सातुले प्राकृतिक रूपमा हाइड्रेशन कायम राख्छ । यसमा भएको पोटासियम र म्याग्नेसियमले पसिनासँग गुमेको नुन र खनिज पूर्ति गर्छ । नतिजास्वरूप हिट स्ट्रोक वा सनस्ट्रोकको जोखिम घट्छ । धेरै अध्ययन र परम्परागत ज्ञानले सातुलाई गर्मीको प्राकृतिक कूलर मानेका छन् ।
ऊर्जा र थकान नियन्त्रण गर्छ
गर्मीमा शरीरको मेटाबोलिजम बढ्छ तर भोक कम लाग्छ । फलस्वरूप ऊर्जाको कमी हुन्छ । सातुले सजिलै पच्ने कार्बोहाइड्रेट र प्रोटिनबाट स्थिर ऊर्जा दिन्छ । चिनीयुक्त पेय पिउँदा जस्तो तत्काल ऊर्जा आएर फेरि थकान हुँदैन । यसले दिनभरि सक्रिय राख्छ । कडा परिश्रम गर्ने व्यक्तिले सर्बत तथा मोही, दहीसँग सातु पिउँदा थकान कम भएको महसुस गर्छन् ।
पाचन प्रक्रियामा सहयोगी
गर्मीमा पाचन प्रक्रिया ढिलो हुन्छ, एसिडिटी र कब्जियत बढ्छ । सातुको उच्च फाइबरले आँत सफा गर्छ र राम्रो ब्याक्टेरिया बढाउँछ । यो हल्का हुन्छ, त्यसैले भारी महसुस हुँदैन । आयुर्वेदमा यसलाई लघु (हल्का) र पाचन सुधार्ने गुण भएको मानिन्छ ।
तौल नियन्त्रण
सातुले तौल नियन्त्रणमा मद्दत गर्छ किनकि यसले कम क्यालोरीमा धेरै पोषण दिन्छ र लामो समय भोक लाग्दैन । सातुको सेवनले हामीलाई अनावश्यक प्रशोधित खानेकुरा खानुपर्ने अवस्थाबाट जोगाउँछ ।
यसबाहेक रक्तअल्पता (आइरनको कमी), हड्डीको स्वास्थ्य (क्याल्सियम) र मुटुको स्वास्थ्यलाई पनि फाइदा पुर्याउँछ।
सातु सामान्यतया सुरक्षित छ तर अत्यधिक खाँदा पेट फुल्न सक्छ । पर्याप्त पानी पिउनुपर्छ । पाचन क्षमता कमजोर भएका व्यक्तिले कम मात्रामा सेवन गर्नुपर्छ ।
प्रतिक्रिया 4