१९ जेठ, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले काठमाडौंमा चाहिएका बेला कम्तीमा ५ हजार जना उतार्नसक्नेगरी तत्काल आधार बनाउन पार्टी मातहतका निकायलाई निर्देशन दिएका छन् ।
जनसंगठन समन्वय संयन्त्रको बैठकलाई सम्बोधन गर्दै उनले जनसंगठनका इन्चार्ज र अध्यक्षहरूलाई यस्तो निर्देशन दिएका हुन् । सो क्रममा उनले पार्टी र जनताबीचको सम्बन्ध थप सुदृढ बनाउन र संगठनलाई समुदायस्तरसम्म विस्तार गर्न सुझाए ।
यस्तै संकटका बेला संगठन र कार्यकर्तासँगको सम्पर्कलाई थप सघन बनाउनुपर्नेमा महासचिव पोखरेलले जोड दिए । नेतृत्वको वास्तविक क्षमता र खुबी संकटका समयमा नै परीक्षण हुने पनि उनले बताए ।
‘जति बेला संकट गहिरिन्छ, त्यति बेला कार्यकर्तालाई सम्पर्कमा राख्ने कुरा अझ महत्वपूर्ण हुन्छ,’ उनले भने, ‘नेतृत्वको खुबी र क्षमता पनि संकटमै देखिन्छ । संकटका बेला हतारमा गरिने निर्णयले दुर्घटनातर्फ पुर्याउन सक्छ ।’
पार्टीभित्र समस्या रहेको भन्दै निराशा फैलाउनेभन्दा समाधान खोज्ने संस्कृतिको विकास गर्नुपर्नेमा पनि महासचिव पोखरेलले जोड दिए ।
‘हामी जनतासँग अपिल गर्ने ठाउँमा मात्र सीमित भयौं । जनतासँगको हाम्रो सम्बन्ध कमजोर बन्न पुगेको छ । जनताले हामीलाई विश्वास नगरेका होइनन् । उनीहरूले अहिलेका लागि घण्टीमा मतदान गरेर हामीलाई सबक सिकाउने प्रयास गरेका हुन्,’ उनले भने । भविष्यमा आवश्यक पर्दा चाहिने शक्ति एमाले नै हो भन्ने बुझाइ जनतामा अझै कायम रहेको उनले दाबी गरे ।
प्रतिक्रिया 4