+
+
Shares

सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाए कांग्रेस संसदीय दलको बैठक

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २० गते १०:००

२० जेठ, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री एवम् कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले संसदीय दलको बैठक बोलाएका छन् ।

दलको नेताबाट हटाउनुपर्ने निर्णय गर्दै अविश्वासको प्रस्ताव संसदीय दलको कार्यालयमा दर्ता भएको भोलिपल्ट शाहले दलको बैठक बोलाएका हुन् ।

शाहले बुधबार (आज) दिउँसो २ बजे बस्ने गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बोलाएका छन् । बैठकको एजेन्डा भने खुलाइएको छैन ।

शाहलाई संसदीय दलको नेताबाट हटाउनुपर्ने निर्णय गर्दै ९ जना सांसदले संसदीय दलको कार्यालयमा अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।

हस्ताक्षर गर्ने मध्येकी डम्मरी महराले पार्टी एकता र सरकारको बजेटका लागि भन्दै हस्ताक्षर फिर्ता लिएको घोषणा गरेकी थिइन् । महरा मुख्यमन्त्रीको पक्षमा उभिएपछि तत्काललाई उनको पद जोगिएको छ ।

प्रदेश सभामा १८ जना सांसद रहेकोमा महराको युटर्नसँगै शाहको पक्षमा ९ र विपक्षमा ८ जना छन् । प्रकाश देउवा भने अमेरिकामा रहेका छन् ।

यसैबीच, शाहले संसदीय दलको बैठक बोलाएपछि उनलाई हटाउनुपर्ने पक्षमा रहेका सांसदहरुको सहभागिताबारे चासो बढेको छ । शाहको विपक्षमा रहेका एक सांसदले बैठकबारे सूचना प्राप्त भएको बताउँदै सहभागिताबारे परामर्शमै रहेको बताए । आपसी परामर्शपछि बैठकमा सहभागी भएर कसरी प्रस्तुत हुने भन्ने रणनीति तय गरिने उनको भनाइ छ ।

शाहविरुद्धको मोर्चाबन्दीको अगुवाई गरिरहेका सांसद दिवान सिंह विष्टले भने शाहले संसदीय दलको विधानबमोजिम चुनाव फेस गर्नुपर्ने बताउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?