+
+
Shares

लिङ्देन र धवललाई ज्ञानेन्द्रको कटाक्ष : तिमीहरूको राजनीति देखेर भगवान् पनि वाक्क भइसके

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २० गते १०:२३

२० जेठ, काठमाडौं । राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री धवलशम्शेर राणाको राजनीतिले भगवान पनि वाक्क भइसकेको टिप्पणी गरेका छन् ।

पार्टीभित्रको आन्तरिक विवादप्रति कडा असन्तुष्टि व्यक्त गर्दै शाहीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘तिमीहरूको यो खुरापाती राजनीति देखेर भगवान् पनि वाक्क भइसक्नुभएको होला ।’

पार्टीभित्रको विवाद र शक्ति संघर्षले कार्यकर्ता तथा युवापुस्तामा निराशा बढाएको उनको भनाइ छ । शाहीले अध्यक्ष लिङ्देन र महामन्त्री राणाबीचको विवादप्रति संकेत गर्दै अहिलेको समय आरोप–प्रत्यारोप गरेर टुट्ने र फुट्ने नभई जुट्ने समय भएको उल्लेख गरेका छन् ।

उनले नेतृत्वका लागि भइरहेको हानाथाप र अहंकारले संगठन, कार्यकर्ताको मनोबल तथा युवाहरूको भरोसामा नकारात्मक असर परेको टिप्पणी गरेका छन् । ‘तिमीहरूको डिएनएमै मिलेर जाने भन्ने रहेनछ । तिमीहरूको जुँगाको लडाइँ देखेर हामी युवाहरू वाक्क भइसकेका छौं’, शाहीले लेखेका छन् ।

उनले एक नेताले नेतृत्व छोड्न नचाहेको र अर्को नेताले चुनाव नलडी नेतृत्व लिन खोजेको संकेत गर्दै पदका लागि भइरहेको प्रतिस्पर्धामाथि प्रश्न उठाएका छन् । नेतृत्व भनेको पदमा टाँसिएर बस्ने नभई आवश्यक पर्दा त्याग गर्न सक्ने क्षमता भएको पनि उनले बताएका छन् ।

शाहीले पार्टीभित्र देखिएको पछिल्लो गतिविधिप्रति असन्तुष्टि जनाउँदै एक पक्षले विज्ञप्तिमार्फत आफूलाई सही सावित गर्न खोजिरहेको र अर्को पक्षले भेला गर्दै अलग बाटो समात्ने संकेत गरिरहेको आरोप लगाएका छन् ।

विवाद समाधानका लागि दुवै नेतालाई एकै ठाउँमा बसेर खुला छलफल गर्नसमेत उनले आग्रह गरेका छन्। ‘यदि तिमीहरूमा हिम्मत र दम छ भने म बस्छु, तपाईंहरू पनि बस्नुस्, हामी तीन जना सँगै बसेर छलफल गरौं’, उनले लेखेका छन् ।

राप्रपाभित्र पछिल्लो समय अध्यक्ष लिङ्देन र महामन्त्री राणाबीचको सम्बन्ध बिग्रिएको छ । महामन्त्री राणा राप्रपाबाट छुट्टिएर अर्को पार्टी गठनको तयारीमा लागेका छन् । मलमासपछि नयाँ पार्टी गठन गर्ने तयारी गरेका राणालाई लिङ्देनले भने पार्टीमा फर्किन आह्वान गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?